८७ वर्षको उमेरमा पनि सूर्यबहादुर थापा संविधान सभा/संसद्को सदस्य मध्ये लगभग सबैभन्दा सक्रिय मध्ये हुन्। उनी लवेदा सुरुवाल, कोट र मौलिक छिकेबिर्के टोपीमा ठाँटिएर संविधान सभाको सबैजसो बैठकमा उपस्थित भइरहेका छन्।
सभाध्यक्षको निर्वाचन नहुञ्जेल जेष्ठ सदस्यको नाताले बैठकको अध्यक्षता गर्नुपर्ने भएकाले पनि उनी सक्रिय थिए।
यत्रो पाको उमेर त्यहाँमाथि पोहोर साल गम्भिर विरामीको छनक देखिदैन। उनको कड्किलो बोली र रवाफ जस्ताको त्यस्तै नै छ। राष्ट्रीय जनशक्ति पार्टीसँग एकता गरि राष्ट्रिय प्रजातन्त्र पार्टीले थापालाई नेतृत्व जिम्मा लगाएको जेठ ७ गते एक वर्ष पुग्दैछ।
पाँच दशक लामो राजनीतिक जीवनमा पाँच पटक प्रधानमन्त्री भइसकेका नेपाली राजनीतिका यी माहिर खेलाडी ‘तेज’ पार्टीमा भने जस्ताको तस्तै छैन। संविधानसभाको निर्वाचनमा पाँचौं स्थानमा आएको पार्टीमा थापाको वर्चस्व मलिन हुँदै गएको छ।
एकता महाधिवेशन पश्चात यो एक वर्षमा पार्टी र जनबर्गीय संगठनलाई लगभग मृत राखेको भनेर थापाको आलोचना भइरहेको छ।
‘एघार महिनाको पार्टी गतिविधि लगभग शून्य नै छ,’ राप्रपा अध्यक्ष मण्डलका सदस्य प्रकाशचन्द्र लोहनीले सेतोपाटीलाई भने, ‘औपचारिकताको लागि एक फेर केन्द्रीय समिति बैठक बसेको पनि आठ/नौं महिना भयो।’
पार्टी बिधान अनुसार प्रत्येक तीन/तीन महिनामा केन्द्रिय समिति बैठक बस्नुपर्छ । महिना÷महिना दिनमा बस्नुपर्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि भएको छैन।
‘बैठक डाक्ने, छलफल चलाउने र पार्टीलाई गतिदिने काम अध्यक्षको हो,’ लोहनीले भने, ‘जति अनुरोध गर्दा पनि उहाँले बैठक डाक्नुभएको छैन।’ चुनावको समिक्षा बैठक समेत डाक्न आनाकानी गरेको भन्दै थापासँग अरु केन्द्रीय पदाधिकारी र नेताहरु पनि रुष्ट छन्।
राप्रपा महामन्त्रीत्रय दीपक बोहरा, विक्रम पाण्डे र ध्रुवबहादुर प्रधान लगयत केन्द्रीय सदस्यहरुले पार्टी अध्यक्षले ‘खेलाँची’ गरेको आरोप लगाइरहेका छन्।
‘एघार/एघार महिनादेखि कुनै पनि जनवर्गीय संगठन छैन,’ महामन्त्री पाण्डेले भने। एकता अधिवेशनमा विद्यार्थी, महिला, युवक, मजदूर, भूतपूर्व सैनिक संघ महाधिवेशनका बेला विघटन भएको थियो।
‘अध्यक्षले पार्टी ध्वस्त बनाउन चाहेजस्तो देखिएको छ,’ महामन्त्री पाण्डेले भने, ‘उहाँको अनुभवले एक वर्षमा पार्टी धेरै माथि पुग्ला भनेर बुढाहरुलाई नारेको काम लागेन ।’ राजपा र राप्रपा एकताको सूत्रधार मध्ये महामन्त्री पाण्डे पनि एक हुन् ।
‘छोरालाई टिकट दिने, सांसद् बनाउने, मन्त्री दिलाउने काम बाहेक अध्यक्षले केहि गरेनन्,’ पाण्डेले भने, ‘अब त जेठमा विदा हुने बेला नै आइसक्यो ।’
एकता महाधिवेशनले थापा, पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द, राप्रपाका पूर्व अध्यक्ष पशुपतिशमशेर राणा र लोहनी सहितको अध्यक्ष मण्डल बनाएको छ।
‘अधिबेशनको हलले पास गरे अनुसार सबैको पालो एक एक वर्षको हुनेछ,’ पाण्डेले भने, ‘यसपछिको अध्यक्षमा चन्दको पालो छ।’ चन्दपछि, राणा र राणापछि लोहनीको बरियता तोकिएको छ।
पार्टी जस्तै संसदीय दललाई पनि एकलौटी गरेको आरोप पाण्डेले लगाए। सबै प्रमुख दलको संसदीय दलको नेता चुनिइसकेको परिप्रेक्षमा राप्रपाले भने अझै त्यसतर्फ ध्यान दिएको छैन । ‘बावु, छोराबाहेक ११ जानाले बैठक ठाक्न भनि लेखेर दिएका छौं,’ पाण्डेले भने, ‘त्यसको पनि कुनै सुनुवनई भएन।’