हाँकु– ६ गिडिखोलाकी १७ वर्षीया सरस्वती नेपालीले बालविवाहसँगै बहुविवाह गरेको भन्दै आफ्नै पति अमरविरुद्ध प्रहरीमा उजुरी दायर गरेकी छन्।
सरस्वतीले दर्ता गरेको निवेदनमा आफूलाई २०६७ साल वैशाख ३० गते परम्परागत संस्कारअनुरुप १३ वर्षको उमेरमा बालविवाह गरेको र लगत्तै चार वर्षपछि अहिले आफू १७ वर्षको हुँदा गज्र्याङकोट गाविसबाट अर्को विवाह गरी सौता थपेको बताएकी छन्।
पीडित सरस्वतीले पतिले यही वैशाख १ गते वहुविवाह गरेको उल्लेख गर्दै जिल्ला प्रहरी कार्यालयको हाताभित्र रहेको महिला तथा बालबालिका सेवा केन्द्र जुम्लामा यही वैशाख ८ गते निवेदन दर्ता गराएकी हुन्।
निवेदन पर्नेबित्तिकै पीडक अमर र उनकी दोस्रो पत्नीलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। पीडक अमरले भने पहिली पत्नी सधैँ माइतीमा बस्ने र घरमा कुनै काम धन्दा नगर्ने भएकाले आफूले दोस्रो विवाह गरेको स्वीकार गरे तापनि दुवै पत्नीलाई मिलाएर राख्ने वाचा गरेका छन्। अमरले त्यसो भने पनि सरस्वतीले अस्वीकार गरेकी छन्।
सेवा केन्द्रका प्रहरी नायब निरीक्षक सुशीला गुरुङले सो मुद्दा फौजदारी भएकाले मिलापत्र नहुने र कानुनी प्रक्रियामा नै अगाडि जाने बताए। रासस
प्रकाशित मिति: 2014-04-22 15:26:44