चैत १७ गतेदेखि सुनसरीको चतरामा जारी महा कुम्भमेलामा मंगलबार नेपाली कांग्रेसका शीर्ष नेताहरु पुगेका छन् । उनीहरुले पुजापाठ गर्नुका साथै सप्तकोशीमा नुहाएका छन् ।
कुम्भमा नेपाली काँग्रेसका तर्फबाट पुर्व मन्त्रीहरु प्रकाशशरण महत, शिक्षा अर्जुन नरसिङ्ह केसी र पूर्व उपप्रम कृष्णप्रसाद सिटौलाले नुहाएका हुन् । उनीहरुसँगै नेपाली काँग्रेसका स्थानिय नेता कार्यकर्ता तथा जिल्ला प्रमुख तथा प्रहरी प्रमुखहरु मेला पुगेका थिए । कुम्भ नुहाउन पुगेका उनीहरुलाई जगतगुरु पिँठमा सम्मान गरिएको थियो ।
पूर्वराजा ज्ञानेन्द्र, राप्रपा नेपाल अध्यक्ष कमल थापा, पूर्व मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीलगायतले नुहाइसकेको कुम्भ मेलामा शीर्ष व्यक्तिहरु आउने क्रम जारी छ । मेलामा शाहीस्नानको दिन वैशाख १६ गते भारतीय राजदुत रञ्जीत रे नुहाउन आउने कार्यक्रम रहेको प्रचारप्रसार समितिका संयोजक प्रल्हाद भट्टराईले बताए ।
यसैगरी वैशाख १९ गते हुने समापन समारोहमा पाइलट बाबा आउने जानकारी दिइएको छ । यसअघि नै आउने भनिएका रामदेव बाबा भने चुनावको व्यस्तताका कारण नआउने सुचना पठाएको भट्टराईले जानकारी दिए ।
महाकुम्भमा शाहीस्नानको दिन अत्याधिक भीड हुने गर्छ । आउँदो वैशाख १६ गते मातातीर्थ औशीमा पनि शाही स्नान परेको छ भने समापनको दिन १९ गते समेत नुहाउने राम्रो दिन मानिएको छ । कुम्भ नुहाउने सबैभन्दा राम्रो दिनहरुलाई शाहीस्नान भनिन्छ । यसअघि पूर्वराजा ज्ञानेन्द्रलेसमेत शाही स्नानकै दिन कुम्भ नुहाएका थिए ।
कुम्भ नुहाउनेसँगै कृष्णदासजी महाराजको रेखदेखमा भइरहेको योग शिविरमा समेत उल्लेख्य भीड बढेको छ । शिविरमा योग प्रशिक्षण तथा नाडी परिक्षण गरी रोग निदानमा समेत सर्वसाधारणको चासो र भीड बढेको छ ।
मेलामा हालसम्म ५० लाख बढीको सहभागिता भइसकेको र आगामी वैशाख १९ गतेसम्ममा थप ५० लाख तीर्थयात्रीले सहभागिता जनाउने जगतगुरु बालसन्त मोहनशरण देवाचार्यले दावी गरेका छन् । कुम्भमा नुहाएमा पुण्य प्राप्त हुने जनविश्वास रहेको छ ।