जीन्दगीमा उनका अनेकथरी नाम छन्। भुमिगत जिन्दगीको कथाले मागेका नामहरु अहिले उनका धेरै साथिहरुले विर्सिसके। शायद उनले पनि विर्सिन कति त!
राज्यले चिन्ने उनको नाम हो –निलम खड्का।
घरमा सिता भनेर बोलाउँछन् र पार्टीमा सिता खड्का उनको नाम हो ।
झापामा २०२७ सालमा किसान आन्दोलन हुँदा उनी १३ वर्षकी थिइन्।
नेपाली कम्युनिष्ट आन्दोलनको इतिहासमा चर्चित सशस्त्र झापा विद्रोहको बाल रेडगार्ड संगठनको दोस्रो कमाण्डर थिइन निलम खड्का ।
तीनै खड्का अहिले महिला तथा बालबालिका मन्त्रिको कुर्चिमा छीन्। झापा देखि सिंहदरवारसम्मको यो यात्रामा उनले धेरै उकाली ओराली र घुम्तीहरु पार गरेकि छन् ।
बुवा किसान आन्दोलनका एक योद्धा थिए। गाउँलेहरु सबै आन्दोलनमा निस्कीएका थिए।
बुवा र गाउँले दाजुहरुलाई खाना र चिठी पुराउने बाल रेडगार्डको काम हुन्थ्यो। दिउँसभरि उनीहरुले भुमिगत नेताहरुलाई सेल्टर मिलाईदिने काम गर्थे।
बाल रेडगार्डको त्यहिँ काम सम्हाल्दा सम्हाल्दै छापामार भैसकेकी थिइन्।
यतिञ्जेल पुलिसको सूचीमा उनको नाममा चढीसकेको थियो। १३ वर्षको उमेरमा सिता खड्काविरुद्व प्रहरीले वारेन्ट जारी गरिसकेका थिए ।
...
सिता खड्का सानै देखि नै विद्रोही स्वभावकी थिइन्। मैथिल परम्परामा हुर्र्किएका हजुरआमाहरु छोरीमान्छेलाई सिमाहरु कोरिदिन्थे। सिता खड्का ति सीमालाई तत्काल तोडीदिन मनपराउँथिन ।
सायद, परम्पराका सिमा तोड्न रमाइलो लाग्थ्यो उनलाई । हजुरआमाहरु छोरीमान्छे पौडि खेल्न हुँदैन भन्नुहुन्थ्यो। सिता तुरुन्तै नजिकैको खोलामा गएर डुबुल्की मारिहाल्थिन्।
छोरीमान्छेले छोटो लुगा लगाउन हुन्न भन्थे। उनी फ्रक वा भाईको हाफ पाइन्ट लगाउँथिन् ।
बाह्र बर्ष की हुँदा त पार्टीको कामले बुधबारे र होक्सेको जंगलमा राती एक्लै हिड्दीन्थिन्। मान्छेहरु उनको सहास देखेर अचम्मै पर्थे। उनलाई थाहा थियो भुमिगत हुनुभन्दा पहिलै पनि साना साना भुरालाई लिएर गाँउमा राती हुने रामरमिता हेर्न पुगिहाल्ने अाफ्नो बानी ले रात संग डर लाग्दैनथ्यो।
झापा आन्दोलनको छहारीमा उनको विद्रोही भावनाले राम्रै मलजल पायो।
पछि त उनलाई लाग्न थाल्यो – म एक कम्युनिष्ट योद्धा हुँ म कसैसँग डराउनु हुँदैन। राती भुतप्रेत हुदैन भन्ने शिक्षा त उनलाई संगठनका गुरुहरुले सिकाइसकेका थिए। उनले अब दुश्मनसंग लड्ने मात्रै शिक्षा पाएकी थिइन्।
बुवा पनि खेत, आलिबाटै विद्रोहमा लागेपछि, उनको घर सेल्टर बनेको थियो।
बुवा काका र गाँउलेहरुलाई पुलिसका आँखा छल्दै आमाले खाना पुराउँथिन्। छापामारहरुलाई तातो खाना लुकाएर लैजाँदा आमाको काखी नै डढेको थियो। आमा बा र स्कुलमा पढाउने शिक्षकहरुले उनलाई झापा विद्रोहको छापामार हुन सिकाए।
‘शहिद गाँउ’की छोरीले सिक्नुपर्ने यही थियो। सिताले गाँउमा, कामरेड चन्द्र डाँगीलाई पुलिसले कुटीकुटी मारेको देखेकी थिइन्। त्यसपछि, उनी पनि त्यहिँ मर्नेमार्ने विद्रोहमा सामेल बस्न सकीनन्।
...
झापा विद्रोहको बेला राधाकृष्ण(आरके) मैनाली हरुसँग गाउँगाउँ हिड्दा मान्छेहरु उनलाई भन्थे ‘यति सानी नानीलाई आमासंगै छोडिदिएको भए हुन्थ्यो नि ।’
उनका आरके र्दाइले जवाफ दिन्थे, ‘उ त म जस्तै संगठक हो।’
त्यसैले सितालाई आफु ठूलीमान्छे भैसके झैँ लाग्थ्यो। ठूली हुँदै थिइन। गाँउलेहरु र आफ्नै नेताहरुले पनि सिपी मैनालीसँग जोडेर उनलाई जिस्काउन थाले। उनीहरुको भने दुर्लभै थियो। त्यहाँ माथि सिपि झापा आन्दोलनका होनहार युवा नेता । झापा विद्रोहको ‘जनक’ नै सिपी ।
मान्छेहरुले जिस्काएको सिपीले पनि थाहाँ पाइसकेका थिए । उनैले प्रेमप्रस्ताव राखे। सिताले स्वीकार गरिन्।
उनको शर्त एउटै थियो, ‘एक वर्ष पछि मात्रै विहे गरौं ।’ पहिले नै वारेन्ट थियो, नै । सिता पक्राऊ परिन । जेल गइन ।
डेढबर्षमा जेलबाट छुटिन्। सिपी उनलाई कुरेर बसेका थिए।उनीहरुले विहे गर्ने निधो गरे ।
अन्तिम निर्णय गर्ने हक भने उनीहरु दुवैलाई थिएन, संगठनले गर्नुपर्थ्यो।
जेलमा भएका राधाकृष्णहरुलाई अनुमति मागेर चिठी लेखे। उनीहरुको निर्णय पास भयो।
हुन सिपीसँग बिहे गरेपछि राधाकृषण उनका जेठाजु भए । बेहुला, बेहुलीबाहेक अर्का एकजनामात्रै थिए विहेका जन्ती र माइति जे भने पनि।
पार्टीका तिनै कामरेडलाई साक्षी राखेर सिपीले सिन्दुर लगाइदिए । दुवैजनाले पार्टीको झण्डा अघि सपथ लिए, ‘विहे भएपनि पार्टी छोड्ने छैन, तन मन धनले काम गर्नेछु। पार्टीलाई गद्दारी गरेको खण्डमा हाम्रो वैवाहीक सम्बन्ध रहने छैन।’
विहे भएको चार दिन पछि उनी जनकपुर जानु पर्यो । उनलाई मैथिली भाषा पनि बोल्न आउँथ्यो, त्यसैले उनलाई पार्टीको निर्देशन थियो त्यहाँ जाने।
...
धनुषाको मुडिवा भन्ने गाँउमा उनी र माधव नेपाल संगठनको कामले हिडेका थिए। अरु स्थानीय साथिहरु पनि थिए।
उनीहरु त्यहाँ छन भन्ने सुईको पुलिसले पाइसकेछ।पुलिस सलहको बथान झैँ गाँउ पसेको उनीहरुले देखे।
तत्काल सिता र माधवको मिटिङ बस्यो। उनीहरुले योजना बनाए– सिताले गोलिहान्ने। अरु संगिहरुले पुलिसको राइफल खोस्ने। तर, उनीहरुको योजना केटाकेटी खेल जस्तो भयो।
पुलिसले पहिले नै सबै साथिलाई पक्रियो। त्यो योजना बिथोलिएपछि तुरुन्त उनीहरुले ‘प्लान २’ बनाए, ‘कुनै हालतमा पक्राउ नपर्ने ।’
माटोका घैटा जस्ता ‘कोठी’ थिए। माधव नेपाल त्यहिँ कोठीमा लुके । सिता हत्तपत्त ढिकीमा चामल कुट्न थालीन्।
प्रहरीले बस्तीभरिका माटोका कोठी फुटाउन थाल्यो। मधव नेपाल लुकेको कोठी पनि फुटाए। उनी हातमा खुकुरी उँज्याएर निस्के। हिरो शैलीमा निक्लेका उनलाई पुलिसले च्याप्पै पार्यो।
सिता घुम्टीले अनुहार ढाकेर ढिकीमा चामल कुटीरहेकी थिइन्। पुलिसले शंका गर्यो। उनकी सासु बनेकीले बेस्मारी अपशब्दमा सितालाई गाली गरिन्। प्रहरी झुक्किए । त्यसपछि उनी धनुषाको त्यो दलित वस्तीको सेल्टर छाडेर अन्यत्रै गइन ।
त्यसपछि सिता र एकजाना स्थानीय कार्यकर्ता खेसरीको झाङै झाङ महिनौँ हिडे। त्यही खेसरी टिपेर खादै हिड्थे। सिताको पाकेटमा देवरले वर्गसंघर्ष पत्रिकाको तेस्रो अंक निकाल्नका लागि जग्गा बेचेर दिएको १५ हजार रुपैयाँ थियो।
‘त्यतिखेरको इमान्दारि कस्तो भने नी, मैले त्यो पार्टीलाई दिएको पैसाबाट एक रुपैँया पनि खर्च गरिन बरु खेसरी टिपेर खायौँ मागेर खायाँै,’ उनले भनिन्। त्यतिखेरका मान्छेहरु÷जनताहरुलाई सम्झाउन बुझाउन पनि सजिलो थियो।
नेपालमा कम्युनिष्ट पार्टी २००६ सालमा स्थापना भए पनि सिताको विचारमा झापा आन्दोलनदेखि नै जनताहरु कम्युनिष्टसंग भिजेका थिए।
उनलाई लाग्छ, ‘त्यो आन्दोलनले नै कम्युनिष्ट आन्दोलनको मजबुत जग बसाल्यो ।’ त्यतिखेर, कति धेरै जनताको घरमा कैयौँ दिन सम्म खानेकुरा पाक्दैनथ्यो। संगठनका लागि गाउँ जाँदा उनीहरुलाई मान्छेले हृदयदेखि स्वागत गर्थे तर एकछाक खुवाउन सक्दैनथे।
दिनभरि लुकेर हिड्थे। राती भएपछि संगठनका काम गर्थे। टुकीको मधुरो उजेलोमा उनीहरुले कामका योजनाहरु बुन्थे। गाँउलेहरुसंगै ढिकी जाँतो गर्थे। जनतासंग सुख दुख बाँड्थे। अनि राजनितिका कुरा गर्थे। परिवर्तनका कुरा गर्थे।
सितालाई त महिलालाई घुम्टोबाट निकाल्ने कसरी होला भन्ने चिन्ता पनि थियो। किन भने महिला नेता भएको नाताले महिलाबारे यीनैले धेरै सोच्नुपथ्र्यो।
...
पार्टीले सितालाई ३३ साल देखि राजधानीमा खटायो। सिपी नख्खु जेलमा थिए। सिपी नख्खु जेल ब्रेक गरेर भाग्ने योजना बन्दै थियो। काठमाडौं फर्पिङसँग जोडिएको मकवानपुरको फाखेल भन्ने गाँउमा सिताको सेल्टर थियो । ती महिला गर्भवती थिइन। राति उनलाई व्यथाले च्याप्यो। सिताले नै सुढेनीको काम गर्न पर्यो।
सिताले सम्झीन, पहिलो पटक जेल पर्दा, जेलमा एकजना महिलालाई सुत्केरी व्यथाले च्यापेको थियो। कसैले त्यहाँ सुढेनी बोलाउनेवाला थिएन। सिताले कम्मर कसिन किनभने आफ्नी हजुरआमाले अरुका बच्चा जन्माइदिएको लुकीलुकी देखेकि थिइन् सानैमा । त्यहि सम्झेर उनले बन्दीको बच्चा झिकिदिइन्।
त्यसैगरी काठमाडौँ फाखेल भन्ने गाउँमा त्यो रात उनले सेल्टर बसेको घरबेटीको बच्चा जन्माइदिइन्। बरु जेलकी बन्दीले सुत्केरी भएपछि खान पाएकी थिइन्।
तर त्यो अनकन्टार गाँउकी गरिब महिलाको घरभरी खोज्दा पनि कनिका बाहेक केही पाइनन् उनले। त्यसैलाई पानिमा उसिनेर सुत्केरीको खुराक तयार गरिन्। आफ्नो भुमिगत कालभरिको सबै भन्दा दुख उनलाई त्यही दिन लाग्यो।
...
झापा विद्रोह जसरी सुरुवात भएको थियो त्यसैगरि निरन्तरता पाएन। अरु कम्युनिष्ट समूह मिलेर २०३५ सालमा नेकपा मालेको गठन भयो। त्यो बेला भएको सम्मेलनले उनलाई क्षेत्रियस्तर कि नेता बनायो।
पार्टीमा थोरै मात्र महिलाहरु थिए। उनीहरु आरक्षणका कोटाहरुमा होइन। तल्लो तह देखि लडेर माथि आउँथे। काम पनि उत्तिकै गर्नु पथ्र्यो।
२०४० सालमा उनका पति सिपि मैनालीले राजनितिक स्वतन्त्रता कि पार्टी स्वतन्त्रता भन्ने बहस चलाए र राजनितिक स्वतन्त्रताको पक्षमा वकालत गरे।
उनको खुबै आलोचना भयो। पार्टीले पनि उनलाई कारबाही ग¥यो। तर ४६ तिर आइपुगी नसक्दै सिपीले भनेको कुरामा पार्टी आयो।
तर सिपीसंग माफि नमागेकोमा सितालाई पार्टी देखि खुबै चित्त दुख्यो । श्रीमान भएर मात्रै होइन पार्टीभित्र मौलाएको अराजकता र स्वार्थीपन देखेर पनि।
‘प्रजातन्त्र पुनःस्थापना पछि, काम गरेर स्थापित हुन खोज्नेहरुलाई भन्दा नेताको वरिपरि घुम्नेहरुलाई पार्टीमा स्थान मिल्न थाल्यो,’ सितालाई लाग्छ ‘काम गरेर पार्टीलाई सरकार सम्म पु¥याउनेहरु पाखा लाग्दै गए।’
पछि त पार्टी नै फुट्यो। अहिले उनी मालेको पोलिट्व्युरो सदस्य छिन्। सिताला बेला बेला पार्टीको पैसा दुरुपयोग गरेको आरोप लाग्ने गर्छ।
त्यसको जवाफ छ उनीसंग ‘हामीले पहिलेपहिले पार्टी स्थापित गर्ने बेला तिर जग्गा बेचेर पार्टीको काममा खर्च गरेका छौँ। पार्टीलाई दिदाँ दिदाँ बचेको सम्पत्तिले यो घर बनाएको हो, पार्टीको पैसा दुरुपयोग गर्नेले पार्टीलाई किन पैसा दिन्छ र ?’
सशस्त्र विद्रोह गरेर पार्टीलाई स्थापित गर्दा सम्म गाँउ र शहरमा बसेर तल्लो स्तरमा काम गर्दै नेता बन्नु कति कठीन छ, उनलाई थाहाँ छ। तर, त्यतिबेला रिस उठ्छ जब मान्छेले उनको कामको मुल्याङकन गर्ने बेला, अवसरहरु आउँदा सिपी मैनालीकी श्रीमति ठान्दीन्छन्।
‘म सिपीबाट प्रभावित भएर राजनीतिमा आउको हैन। राजनितिक यात्रामा भेटिएका सहयात्री हौँ,’ उनले भनिन् ‘मैले उहाँको श्रीमतिको रुपमा पार्टीमा काम गरेको होइन, मेरो आफ्नै स्वतन्त्र व्यक्तित्व छ।’