नयाँदिल्लीबाट काठमाडौं घुम्न आएका अमित त्यागीले एनसेलको सिम खरिद गरे ।
सिम मोबाइलमा एक्टिभेट भएको केही मिनेटमै उनको ९८०३८०८७३८ नम्बरमा कल आउन थालेपछि उनलाई अचम्म लाग्यो ।
घटना शनिबारको हो । पुरुष आवाज अपरिचितले भन्यो, ‘हेलो आइएम गाइड’ । उनी आफ्नो समूहका साथ बानेश्वरस्थित होटेल एभेरेन्टमा बसेका थिए । काठमाडौं घुम्ने प्रबन्ध होटेलले नै मिलाएपनि ३० वर्षे त्यागीलाई मोबाइलकर्ताले निरन्तर पछ्याइरह्यो।
धेरै कल आउन थालेपछि उनी ती गाइडसँगै घूम्न जान तयार भए । गाइडले त्यागीलाई ट्याक्सीमा राखेर बौद्ध र पशुपति घुमाएर पाटन लैजाने तय गर्यो । ग्वार्कोनजिक पुगेपछि ट्याक्सी रोकियो ।
आफूलाई गाइड भन्ने व्यक्तिले त्यागीलाई काम छ भन्दै भीमसेन रेस्टुराँ एन्ड बारमा लग्यो । उनीहरुका पछिपछि अन्य चारपाँच जना लागे रेस्टुराँमा छिर्न नपाउँदै दुईतीनजना अर्धनग्न युवतीले त्यागीलाई च्याप्प समाउँदै वियर पिउन आग्रह गरे । त्यागीले आफूले नपिउने भन्दै टाढै रहन आग्रह गरे । आजको अन्नपूर्ण पोस्टमा खबर छ ।
लुट्ने पूर्वयोजना अनुसार बारमा पुर्याइएका त्यागीलाई ती युवतीहरुले नगद लुटे । प्रहरीलाई खबर गरे ज्यान मार्ने धम्की दिए । त्यागी आफूसँग रहेको सबै नगद बुझाएर बाहिर निस्कँदा ट्याक्सी चालकले ढिलो भएको भन्दै भाडा माग्न थाल्यो । त्यागीले भाडा होटलमा पुगेर दिने भन्दै फर्किए। ‘ट्याक्सी चालकमाथि शंका लागेपछि त्यागीले फोटो खिच्न खोज्दा ट्याक्सी भागेछ।
आफू नियोजित रुपमा लुटिएको थाहा पाए’ त्यागीको उजुरीमा छानविन गरिरहेका बानेश्वर वृत्तका प्रमुख रेवती ढकालले भने। लुटपाटमा संलग्न सिमकार्ड बिक्रेतासमेत संलग्न रहेको आशंका प्रहरीको छ।
प्रहरीले त्यागीको उजुरीका आधारमा सूर्य तामाङ, अशोक भनिने धनराज लामा, रमेश जीसी, गीता श्रेष्ठ र सृजना गुरुङलाई पक्राउ गरेको छ । पक्राउ चारैजना लुटपाटमा संलग्न रहे पनि मुख्य योजनाकारको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरीले लुटपाटमा संलग्न समूहको खोजि गर्ने क्रममा भारतीय पर्यटकलाई यौन र मादक पादर्थ व्यवस्था गर्ने भन्दै लुटपाट गर्ने एउटा भाडाको घरमा समेत छापा मारेर तीनजनालाई नियन्त्रणमा लिएको छ।