नवौं महाधिवेशनको संघारमा संसदीय दलका नेता केपी शर्मा ओलीबाहेकका एमाले शीर्ष नेता प्रमुख सैद्धान्तिक विषयमा एक स्थानमा उभिन पुगेको खबर आजको नागरिकमा छापिएको छ।
२०६२–६३ को परिवर्तन, समाजको चरित्र, अन्तरविरोध, प्रमुख कार्यभार र परिवर्तित सन्दर्भमा मार्गनिर्देशक सिद्धान्त, जनताको बहुदलीय जनवाद (जबज)लाई परिस्कृत गर्नेलगायतका सैद्धान्तिक विषयमा ओलीबाहेकका नेता एकै ठाउँमा आइपुगेका हुन्।
आसन्न नवौं महाधिवेशनलाई लक्षित गरी मदन भण्डारी फाउन्डेसनले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष वामदेव गौतमले सैद्धान्तिक मुद्दामा समान धारणा राखे। ओलीले भने फरक विचार राखेका छन्।
अध्यक्ष खनाल, वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमले समाजको चरित्र पुँजीवादी भइसकेको बताए। पार्टीकै कतिपय नेताले परिवर्तित परिस्थितिलाई स्विकार्न ‘संकोच' मानिरहेको नेता नेपालको टिप्पणी थियो। उपाध्यक्ष गौतमले त्यस्तै धारणा राखे पनि उनले समाजको चरित्र पुर्ण पुँजीवादीकरण भइसकेको जिकिर गरे।
परिवर्तनको यथार्थलाई स्विकार्न नसक्नेले नेतृत्व गर्न नसक्ने बताउँदै गौतमले दिमागमा बाँधेको साङ्लो चुडाउन आग्रह गरेका थिए। ‘नेपाली कम्युनिस्ट पार्टीहरू २००६ सालको जस्तै अवस्थामा नेपाली समाज रहेको भन्दै आएका छन्,' गौतमले भने, ‘गोरु दाइँ गरेजस्तै हामी एकै ठाउँमा घुमिरहेका छौं।'
कार्यक्रममा ओलीले समाजको उत्पादन पद्धति लामो समय चल्ने भन्दै अहिलेको अवस्था संक्रमणकालीन रहेको बताएका थिए। उनले नेपालमा दुवै प्रकारका उत्पादन प्रणाली कायम रहेको बताएका थिए। ‘समाजको चरित्र बिहान एउटा, दिउँसो अर्को र साँझमा अर्कै हुने होइन,' ओलीले भने।
कार्यक्रममा खनाल, नेपाल र गौतममले राजतन्त्रको अन्त्य गर्न भएको २०६२–०६३ को परिवर्तनलाई आफ्नै प्रकारको नयाँ जनवादी क्रान्ति भनेका थिए। राजनीतिक क्रान्ति सम्पन्न भइसकेको दाबी गर्दै उनीहरूले अगामी राजनीतिक कार्यदिशा देशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि हुनुपर्ने बताएका थिए।
राजनीतिक क्रान्ति सम्पन्न भइसकेको धारणा महासचिव ईश्वर पोखरेलको पनि छ। ‘२०६२–०६३ को परिवर्तन शान्तिपूर्ण जनआन्दोलनबाट विकास भएको राजनीतिक क्रान्ति नै हो,' महासचिव पोखरेलले भने, ‘राजनीतिक क्रान्तिपछि सामाजिक र आर्थिकमा केन्द्रित भएर कार्यक्रम सञ्चालन गरिनुपर्छ।'
कार्यक्रममा एमाले सचिव शंकर पोखरेलले ‘जबजको सान्दर्भिकता र नवौं महाधिवेशन' विषयक कार्यपत्र प्रस्तुत गरेका थिए।