नेपाल प्रहरीले तयार पारेको संघीय संरचनामा प्रहरी निरीक्षकलाई जुनियर प्रहरी अधिकृतका रूपमा भर्ना लिने व्यवस्थाको प्रस्ताव गरिएको छ।
अहिलेको प्रहरी संरचनामा प्रहरी निरीक्षकलाई सिनियर प्रहरी अधिकृतका रूपमा परिभाषित गरिएको छ। नेपाल प्रहरीले तयार पारेको संघीय संरचनामा प्रहरी निरीक्षक, प्रहरी नायब निरीक्षक तथा प्रहरी सहायक निरीक्षकहरू जुनियर प्रहरीका रूपमा भर्ना लिने प्रस्ताव गरिएको छ। आजको नेपाल समाचारपत्रमा खबर छ।
संघीय संरचनामा प्रान्तीय प्रहरीमा भने तीन तहलाई जुनियर प्रहरी अधिकृतका रूपमा व्याख्या गरिएको छ। जुनियर प्रहरी अधिकृतको प्रान्तीय लोकसेवा आयोगको परामर्श र सहयोगमा लिइने उल्लेख गरिएको छ।
संरचनामा ‘प्रान्तीय प्रहरीलार्ई आवश्यक पर्ने जुनियर प्रहरी अधिकृत स्तरका कर्मचारीको छनोट, प्रान्तीय लोकसेवा आयोगबाट हुनेछ’ उल्लेख गरिएको छ। संघीय संरचनामा सिनियर अधिकृतहरू भने प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नराख्ने उल्लेख गरिएको छ।
संरचनामा प्रान्तीय प्रहरीमा महानिरीक्षकपछि सीधै प्रहरी नायब महानिरीक्षक (डीआईजी) एसएसपी, एसपी, डीएसपी तथा इन्सपेक्टर, सई, असई, हवल्दार र सिपाही रहने उल्लेख छ। प्रहरी निश्चित सेवा अवधि पूरा गरेका प्रान्तीय प्रहरी सेवाका सिनियर प्रहरी अधिकृतका रूपमा रहने प्रहरी नायब उपरीक्षकहरूलाई संघीय प्रहरी सेवाद्वारा आन्तरिक प्रतिस्पर्धात्मक परीक्षाका आधारमा निश्चित संख्यामा संघीय प्रहरी सेवाको क्याडर बनाई प्रहरी उपरीक्षकमा पदोन्नति गरिने व्यवस्था मिलाइने पनि संरचनामा उल्लेख छ।