माननीय मन्त्री नरहरी आचार्य ज्यू,
हजुरले संसदमा दर्ता गरेको सत्यनिरुपण्ँ बिधेयक अनलाईनमार्फत पढन पाएँ। दफा २६ (२) मा पुगे पछि आखाँ टक्क रोकिए। झलझली हजुरलाई सम्झिए र यो पत्र लेख्दै छु। बुबाले भने अनुसार हजुर र बुबा कितिर्पुरमा पढदा समकालिन हुनुहुन्थ्यो रे। बुबाले पढाइ सकाए पछि केहि वर्ष जागिर खानु भयो र पारिवारिक कारणले घरै फर्कनु भयो।
२०५९ साल तिरको कुरा हो म काठमाडौमा पढदै थिए। बिदामा घर गएको थिए। एक दिन बुबा निकै उत्साहित देखिनु भो, तपाई हाम्रो गाउँ तिर आउदै हुनुहुन्छ भन्ने थाहा पाएर। मिल्यो भने आज म घर मै लिएर आउछु भन्दै घरबाट निस्कनु भयो।
नभन्दै कार्तिकको त्यो साँझ हजुर र शारदा काकी बुबासँगै घर आउनु भयो। घरको माहोल नै अर्कै बन्यो। साँझसम्म धेरै मानिसहरुको आवत जावत भइरह्यो। आत्मीय कुरा गर्नुभयो। राति म सुत्ने कोठामा नै हजुरहरुलाई सुतायौ।
हजुरहरु बिहानै निस्कने कुरा भए पछि आमाले बाटोमा समयमा खाना खान मिल्ला कि नमिल्ला भनेर छरछिमेकबाट पनि दुध जोरेर खिर र आलुको अचार बिहान ७ बजे नै तयार पार्नुभयो। हजुरहरु खाजा खाएर पुर्व प्रस्थान गर्नु भयो।
काका, त्यसपछि हाम्रा दुःखका दिन शुरु भए।
हाम्रा बुबा सामान्य सामाजिक कार्यकर्ता हुनुहुन्थ्यो। ३ बिगाहा जग्गामा खेतिपाती थियो। त्यसैले घर चल्थ्यो। कांग्रसको भोटर हुनुहुन्थ्यो। हजुर आएर गए पछि भने हामीलाई भिन्न रुपले हेरियो, नरहरिको खाटी कार्यकर्ता भनियो। मान्छेको व्यवहार पनि त्यस्तै हुन थाल्यो।
गाउँमा थोरबहुत माओवादी आंतकको प्रभाव थियो।घर छेउ कै स्कुलमा बुबा सञ्चालक समितिको सदस्य हुनुहुन्थ्यो। एक दिन स्कुलमा नयाँ शिक्षक राख्ने विषयमा बुबाले योग्य मान्छे छनोट गर्नुपर्छ भनेर अड्डी लिनु भएछ। त्यहिँ एक जना अलि उग्र मान्छेले (कम्युनिष्टको कार्यकर्ता ठान्ने) बुहारीलाई राख्न खोजेका रहेछन्। बुबाले रोकिदिनु भएछ।
त्यस पछि उनले हामीलाइ शत्रुताको हिसाबले लिन थाले कांग्रेस भन्दै, नरहरीको कार्यकर्ता ठाने। केहि समय पछि ति मान्छेलाई अलि अलि बात पनि लाग्यो बिदेश गएका छोराकी बुहारीलाई बिगारो भनेर। त्यस पछि उनी गाउँमा देखिन छाडे।
त्यसको केहि महिना पछि ४ जना मान्छेहरु साँझमा घरमा आएछन। म काठमाडौ तिरै थिए। स्कुलको कुरा उठाएछन र भनेछन्– कि रु १० लाख चन्दा दिनु कि सफाय गरिन्छ। छोरा छोरी पढाउदै गरेको एउटा सामान्य किसानले १० लाख कसरी दिनु, १० हजार पनि सम्भव थिएन। नभन्दै त्यसको महिना दिनमा ४ जना मान्छे घर आएछन्।
खाना खाएर सुत्न लाग्नु भएका मेरा बुबालाई भेष्ट र चप्पलमै लिएर गएछन्। म पर्सी पल्ट घर पुगे। म पुगेको भोलिपल्ट नै २० किलोमिटर जति परको जंगलमा बुबाको गोलि लागेको लास भएको खबर आयो। नरहरी काका, हाम्रो परिवारमा बज्रपात पर्यो।
बुबाको छ महिनाको काम सकाएर म टुहुरा भाईबहिनी र बिधुवा आमालाई छोडेर भारतको बाटो हुदै बिदेशिए। भाग्यबस म ठगीनु परेन राम्रै काम पाए। केहि पैसा कमाए र २०६७ सालमा घर फर्के।
अचम्म त, म मेरो बुबालाई मार्न लगाउने त्यो उग्र मान्छे त जिल्लाको चल्तापुर्जा माओवादी नेता बनेछ। बुबालाई उठाएर लग्ने मान्छेहरु पनि कोहि ठेकेदार बनेर, जग्गाको दलाली गरेर, कोहि क्याम्पको ईञ्चार्ज भनेर गाँऊमा गाडी दौडाउदै ओहोर दोहोर गर्दा रहेछन। यो देख्दा, मैले सहनै सकिन। तर हामी जस्ताले के नै गर्न सक्थ्यौ र काका। त्यहि पनि कुनै दिन कांग्रेसको सरकार आउँला र हामी टुहुराले न्याय पाउला भनेर कामना गरिरहेयौ।
अर्को अचम्म त के भयो भने, गत चुवावमा त्यो हाम्रो बुबाको हत्यारा त माओवादीको उम्मेदवार बन्यो। सहि सक्नु भएन। हामिले सक्ने भनेको त्यहि एउटा मत न थियो। चुनावको केहि दिन अघि बुबाको तिथिको श्राद्द थियो। आमा र भाईसँग सल्लाह गरेर बुबाको नाममा रु ५० हजार नेपाली कांग्रेसलाई चन्दा दिईयो। पार्टीले जितोस, अपराधीलाई कारबाही होस, बुबाको आत्मालाई शान्ति मिलोस, हामीलाई न्याय मिलोस भनेर।
मंसीर ४ गते चुनावको दिन बिहानै गाँउकै देवीको मन्दिरमा गएर प्रार्थना गरे। कांग्रेसले जितोस, हाम्रा नरहरी काकाले पनि जितुन (हामीले चिनेको अरु कोहि छैन)। अनि मात्र बुबाको हत्यारालाई कारबाही हुने छ, बुबाको आत्मालाई शान्ति मिल्ने छ र हामीलाई न्याय मिल्ने छ। देवीको आशिस लागेछ, हामीले हालेको भोट खेर गएन, हजूरले पनि जित्नु भयो। मतगण्ँना हुने बेला, हजुरलाई ईश्वर पोख्रेलले लिड गर्दा मलाई तनाव हुन्थ्यो। अन्तमा हजुरले जित्नु भो। घरमा सबै बसेर हर्षले रमाईलो गरियो।
नरहरी काका,
हजुरको साथी, कार्यकर्ता, हाम्रा बुबा अहिले यो संसारमा हुनुहुन्न। हजुर मन्त्री हुनुहुन्छ। तर हजुरले पेश गरेर सत्य निरुपण आयोगको बिधेयकको धारा २४ र २५ पढदा त मेरो बुबाको हत्यारालाई कारबाही हुनै कुनै आधार नै छैन। किन कि मेरो बुबाको बलात्कार भएको थिएन, हत्या भएको थियो काका गोली हानेर हत्या। एउटा निर्दोष नागरिकलाई चन्दा नदिएकोमा। हजुरको गोलमोटोल भाषाले त यी सबै अपराधीले छुट पाउने छन। हामीले न्याय हैन।
नरहरी काका लाग्छ, यो देशमा अब पीडितले न्याय पाउँदैनन। यो पिडकले शासन गरेको देश हो। हामीलाई थाहा छ, हजुर प्रचण्डसँग डिनर खाईबक्सिन्छ, बाबुरामसँग लञ्च। उनीहरुसँग दुःखसुखका कुरा हुन्छन होला। बिहानदेखि बेलुकासम्मको दोस्ती छ हजुरको। हामी त को हौ र? एक दिन वास दिने र खीर खुवाउने कार्यकर्ताका टुहुरा सन्तान।
धेरै आशा छैन अब। हामीले न्याय पाउने छाँट छैन। तर यी हत्यारालाई सजाय भएन भने हाम्रा बुबाको आत्माले हामीलाई जिन्दगी भर सताउने छ। काका, हजुरलाई थाहै छ, बिहार हाम्रो घरबाट तेहि ७५ किमि जति छ, मोटर साईकलमा २ घण्टामा पुगिन्छ।
यति बेला हजुरको खोटो सत्यनिरुपण तथा मिलमिलाप कानूनले हामीलाई न्याय गर्ने छ भने आशा छैन।
तपाईको,
नरेन्द्र गौतम
(काका, सुरक्षाका कारण मैले मेरो सहि नाम र ठेगाना दिन सकिन, माफ पाउँ। हजुरले बिर्से पनि शारदा काकीले सम्झनु भएको होला–त्यहि बिहानै खीर–आलु खुबाएर पठाउने घरको जेठो छोरो, जसको ओछ्यानको शिरानीमा काकीले लीला आचार्यको वीसौँ शताब्दीकी द्रौपदी भन्ने किताव बिर्सेर जानु भएको थियो।)