कहिलेकाहिँ सानो कुराले पनि मन छुँदो रहेछ।
मिडियामा काम गर्ने भएकोले होला दैनिकजसो नै विभिन्न पेशा तथा व्यवसायका व्यक्तिसँग भेटघाट हुने गर्छ। उनीहरुका धेरैजसो कृयाकलापमा सहभागी बन्ने अवसर पनि मिल्ने गर्छ।
कहिले कोही व्यक्तिको सफलताको समाचार बनाउने गर्छौ, कहिले कसैको असफलताको। त्यस्तै कहिले कसैको जन्मको समाचार लेख्छौँ त कहिले कसैको मृत्युको।
कुन अवस्थाको रिपोर्टिङमा पुगेका छौं हामी आफूलाई पनि त्यहि अवस्थामा ढाल्ने प्रयास गर्छौ। व्यक्तिको सफलतामा ऊसँगै खुसी हुन्छौं, असफलतामा त्यही पात्रसँगै दुःखी बन्छौं। कसैको आगमनमा पुगेका छौँ उसँगै रमाउँछौं भने कसैको मृत्युमा मृतकका आफन्तसँगै आशु चुहाउँछौ।
हामी आफ्ना हरेक कुरा लुकाएर भएपनि समुदायको दुःख र सुखमा आफूलाई ढाल्ने प्रयत्न गर्छौ।
पत्रकार मजदुरले काम नपाएको समाचार बनाउँछ तर आफूकाम विहीन भएको देख्दैन, अरुले तलब नपाएको आवाज उठाउँछ तर, आफू महिनौंसम्म पनि तलब बिना नै काम गरेको बिर्सिन्छ, अरुको अधिकारको बारेमा कलम चलाउँछ तर आफूले त्यो अधिकार पाएको छु कि छैन भन्ने तर्फ सोच्न पनि बिर्सिन्छ। आफूले भोगेको कुरा अरु कसैले भोग्दा त्यो उसलाई समाचार बन्छ तर त्यही कुरा आफूलाई पर्दा उसको लागि सामान्य बनिदिन्छ। सायद पत्रकार भएपछि अरुकै कुरा लेख्नुपर्छ र अरुकै पिडा बोल्नुपर्छ भन्ने भावनाले पनि होला।
मैले रिपोर्टिङको सिलसिलामा यस्ता चिकित्सकसँग पटकपटक भेट गरेकी छु। कसैले स्वास्थ्य समस्याको बारे खुलेर प्रतिक्रिया दिएका छन् भने कतिपय बरिष्ठ कहलिएकाहरु झाडापखाला हुन नदिन के गर्ने भन्ने सर्वसाधारणलाई जानकारी गराइदिनुहोस् भनेर प्रतिक्रिया माग्दा आफूलाई फुर्सद छैन भनेर तर्किएका पनि छन्। लाग्छ उनीहरुको भावनामा बिरामी हुन नदिने उपायबारे जानकारी दिए आफ्नो पेशा सुक्ने छ।
पटक पटक स्वास्थ्य क्षेत्रका समस्याबारे कुरा गर्दा अस्पतालमा वा स्वास्थ्य केन्द्रमा चिकित्सक वा नर्सले गर्ने व्यवहार जोडिएर आउँछ। बिरामीसँग झर्किएर बोल्ने, बिरामी कुरुवा तथा आफन्तलाई थर्काउने गरेका विषय चर्चाका विषय हुन्।
यी र यस्ता विषयमा समाचार नलेख्ने संचारकर्मी र समाचार प्रशारण नगर्ने संचार माध्यम सायदै कम होलान्।
आम सर्वसाधारण अस्पतालमा पाउने सेवाभन्दा स्वास्थ्यकर्मीहरुबाट पाउने रुखो व्यवहारबाट आजित छन्। म आफूपनि स्वास्थ्य विषयको विद्यार्थी भएकोले पनि होला मैले चिकित्सक तथा स्वास्थ्यकर्मीले बिरामीहरुलाई गर्ने व्यवहारलाई अलि नजिकबाट बुझेकी छु।
सिमित साधन र श्रोतमा धेरै व्यक्तिलाई उपचार दिनुपर्दा र दैनिकजसो बिरामीहरुको पिडा र रोदनलाई सामना गरिरहँदा उनिहरुको व्यवहारमा रुखोपना देखिनु स्वभाविक पनि मान्न सकिएला। तर एउटा बिरामी र उसको आफन्तलाई अन्य बिरामी तथा उपचारमा खटिने स्वास्थ्यकर्मिहरुको समस्याभन्दा आफ्नै समस्या महत्वपूर्ण हुन्छ।
०७१ सालको आरम्भसँगै बुटवलको गौतमबुद्ध सामुदायिक मुटुरोग अस्पतालको व्यवहारबारे जान्ने मौका मिल्यो। त्यो अवसरबाट मैले बुझेको चिकित्सकीय व्यवहार र त्यहाँ पाएको व्यवहार अत्यन्त फरक पाएँ। जुन नेपाली समाजले सायदै बिश्वास गर्छ।
हुन त मुटु रोग अस्पताललाई मैले स्थापनाकालदेखि नै नजिकबाट नियाल्दै आएकी थिएँ। अस्पताल स्थापनाको चर्चा चलेसँगै अस्पतालको आवश्यकताको बारेमा समाचार लेखेँ। अस्पताल सञ्चालन पछि पनि अस्पतालले सर्वसाधारणलाई दिएको सेवा र गम्भीर प्रकृतिका बिरामीको उपचारमा पाएको सफलताको बारेमा पनि समाचार बनाए।
त्यतिबेलासम्म मैले अस्पताललाई भित्रैबाट नियाल्न पाएकी थिइन। एउटा नेपाली भनाई नै छ, 'मानिसले कि पढेर बुझ्छ कि त परेर बुझ्छ।' हो, मैले पनि मुटु रोग अस्पताललाई आफैलाई परेपछि अझै धेरै नजिकबाट बुझ्न पाएँ। कुनैपनि व्यक्ति अस्पतालमा तब जान्छ जब उसलाई अस्पताल तथा त्यहां काम गर्ने स्वास्थ्यकर्मिको सहाराको आवश्यकता पर्छ। तर अधिकांश अस्पताल र त्यहां काम गर्ने स्वास्थ्यकर्मिको व्यवहारका कारण हामी बिरामी भएपनि अस्पताल बस्न नपरे हुन्थ्यो भन्ने चाहन्छौं।
हामीले देख्ने र भोग्ने गरेकै कुरा हो बिरामीहरुको नाडी तथा निधार नछामी औषधी सिफारिस गर्ने चिकित्सकहरु पनि यहि समाजमा छन्। बिरामीहरुको समस्यालाई गहिरो रुपमा नबुझि औषधी सिफारिस गर्दा रोग र औषधी फरक परेका कारण बिरामीहरुको ज्यान नै जोखिममा पर्ने गरेका कतिपय उदाहरणहरु हाम्रा सामु छन्। बिरामी र चिकित्सकका बिचमा सम्वाद नहुंदा एउटा खुट्टा प्लाष्टर गर्नुपर्नेमा अर्को गरिएको र पाठेघरको बिरामी नभएकाको पनि पाठेघरको अप्रेसन गरिएका घटना अझै पनि ताजै छन्।
तर सबै अस्पताल र स्वास्थ्यकर्मिलाई एउटै डालोमा हालेर हेर्यौं भने यमन प्रधान र दिपेश प्रधान जस्ता चिकित्सकहरु प्रति पक्कैपनि अन्याय हुने छ। उनिहरुले बिरामीप्रति गर्ने व्यवहारको अवमुल्यन हुने छ।
मैले यहां चिकित्सकहरुको प्रशंसा गरिरहंदा उनिहरु प्रति अलि चाप्लुसी गरेको भन्ने आरोप पनि लाग्न सक्ला। तर सधैभरी नराम्रो मात्र देखिरहने हाम्रो परम्पराका कारण राम्रा कामहरु सधै ओझेल पर्ने रहेछन्। त्यसैले पनि मैले मुटु रोग अस्पतालमा चिकित्सकहरुबाट बिरामीहरुले पाएको राम्रो व्यवहारको प्रशंसा मात्र गरेकी हुंं।
कुनैपनि चिकित्सकको दायित्व र जिम्मेवारी उसको योग्यता र क्षमताले भ्याएसम्म बिरामीहरुको रोगको सहि निदान गरि उसको उपचार गर्नु हो। अस्पतालमा रहंदा पनि बिरामीले खाने खाना, सरसफाई तथा उसको अन्य कृयाकलापमा चिकित्सकले भन्दा बिरामीका आफन्तले नै बढि चासो दिने गर्छन्।
तर मुटु रोग अस्पतालका दम तथा छाती रोग विशेषज्ञ डा. यमन प्रधान भने बिरामीहरुको उपचारमा मात्र नभई उसले खाने खाना, सरसफाई र व्यायाममा समेत संलग्न हुने गर्दछन्। यति सम्मकी उनले अस्पतालमा भर्ना भएका आफ्नो विभागका हरेक बिरामीको अवस्था अनुसार आफैले खाना खुवाईदिन्छन्, सांझ बिहान बिरामीहरुलाई आफैले हात समातेर हिडाउंछन्।
दम रोगबाट गम्भिर विरामी हुनुभएकी आमाको उपचारको लागि उक्त अस्पतालमा म आफुले पनि चार दिन बिताए। आमाको उपचारकै क्रममा मैले प्रत्यक्ष्ँ अनुभव गर्न पाए त्यहांका चिकित्सकहरुको व्यवहार।
त्यहि कारणले पनि बिरामीहरुलाई चिकित्सक प्रति बिश्वास बढ्ने मात्र होईन छिटो निको हुन समेत सहयोग पुगेको छ। आशा गरौं डा. प्रधानले बिरामीहरु प्रति अहिले सम्म देखाएको सकारात्मक व्यवहार पछि सम्म पनि कायम रहोस्।