रातको अँध्यारो र आत्महत्या
जेठ १७, २०६९ को बिहान।
ब्युँझनासाथ सबै स्तव्ध भए। भीमल मरेछ। भीमलको सँधै ठाडो रहने शिर निहुरिएको थियो, तुर्लुङ्ग झुण्डिएको थियो। २५० वर्ष पुरानो मानिने बरको अजंगको रुखमा पासो लगाएर मरेछ ऊ। फेदको गोलाई नै १७ मिटर भएको त्यो रुखको विशालतामा उसको मृत शरीर त कति सा.......नो देखिएको।
कसैले घाँटीको पासो काटिदिएपछि सँधै गर्वले उभिने उसको शरीर भुईँमा पछारियो। ऊ लम्पसार परेको थियो, उत्तानो लडेको थियो डङ्ग्रङ्ग परेर। सधैँ हाँसिरहने उसका आँखाहरु निस्तेज आकाश हेरेर टोलाइरहेका थिए। उसको अनुहारमा कुनै पनि भाव थिएन। एक कान दुइ कान मैदान हुँदै यो समाचार जंगलमा डढेलो लागे जसरी फैलियो र सबै त्यतै दौडादौड गरेर आए।
अहिले भीमलको नीर्जिव शरीरलाई सबैले घेरेर उभिएका छन्। सबैको मनमा एउटै प्रश्न मात्र छ, हँसिलो, फरासिलो, सबैसँग मिल्ने, आफूमाथि गर्व गर्ने र सदैव आशावादी रहने भीमल यसरी अपहत्ते गरेर किन मरेको होला? यो कुरा त कसैले चिताउन पनि सक्दैनथ्यो। तै पनि उनीहरू केही न केही कारण पत्तो नलगाइ त के बस्थे र ? कपूरले निकै पुरानो कुरा सम्झायो, "कतै त्यो असफल प्रेमको घाउ अझै भित्रभित्रै बाँकी त थिएन ? पाँचऔंले र भीमलको फाइट पर्या'थ्यो नि ?"
सुन्दरी एम्ब्लिका र फाइट
त्यस दिन भीमल र पाँचऔंलेको फाइट परेको थियो। त्यो कुरो धेरै पुरानो हुनाले सबैले बिर्सिसकेका थिए। खासमा त्यसको केही दिन अघि देखि नै दुबैको मनमुटाव भैसकेको थियो। आँखा तरातर परिरहेको थियो। त्यस दिन त मुखामुख गर्दागर्दै पछि हातै हालाहाल भएछ। एकर्कालाई घाइते नै हुने गरेर हमला गरेका थिए ती दुबैले। हुन त नामैले भने जस्तो अजंगको भीमलको अगाडि पाँचऔंलेको कुनै तुलना नै हुन सक्दैनथ्यो। तै पनि निकै बेर ऊ लडेको थियो। कहाँबाट आएको होला त्यत्रो आँट र तागत। बल्लबल्ल अरुहरुले गएर उनीहरुलाई छुट्याएका थिए।
त्यसको कारण फिलान्थस् एम्ब्लिका लिन् नामकी सुन्दरी थिई। मेलामा एक दिन उसलाई देखेको बेलादेखि नै भीमल उसमाथि मुग्ध भएको थियो। कस्तो अनौठो नाम हैन त उसको ?
उता पाँचऔंले पनि भित्रभित्र वर्षों देखि एम्ब्लिकाको सुन्दरताको पुजारी थियो।
एम्ब्लिका.......
पख्नुस् है, कुनै विदेशी युवती प्रति उनीहरुको आशक्तिको कुरा भन्ठान्नुहोला, एम्ब्लिका उसको वैज्ञानिक नाम हो। हामी मान्छेका पनि हुन्छ नि, सबैले चिन्ने नाम सशांक भए पनि न्वारानको नाम चाहिँ डोरराज भएजस्तो।
के भन्नुभो?
हामी मान्छेका भन्या के रे? यो कस्को कथा त मान्छेको नभए- भन्नुभा?
मान्छेका बाहेक अरूका कथा हुँदैनन् र? हामीले देख्न, सुन्न, बुझ्न र लेख्न मात्र नसकेका हौं कि?
यो मान्छेको कथा होइन।
त्यसो भए फिलान्थस् एम्ब्लिका लिन् नामकी ती सुन्दरी को हो त?
उसलाई अमला भन्यो भने चाहिँ तपाईँहरू सबै सजिलैसंग चिन्नुहुन्छ होला नि।
अमला वास्तवमै सुन्दर थिई। भर्खर यौवनले छोएको हुनाले ऊ धपक्कै बलेकी थिई। ऊ जस्ती सुन्दरी रुख चारकोस वरिपरिका जंगलमा कतै थिएनन् भनेर चर्चा गर्थे अरु रुखहरु। उसलाई देखेर जंगलका ठूलाठूला रुखहरु मात्र होइन, अम्लिसो, खश्रेटो, गन्धेझार, कनासे, भीमसेनपाती बोकेझार जस्ता झीनामसीनाहरु पनि खुइय्य लामो सास फेर्थे। तर पाँचऔंले आफू झार भएर पनि अरु झारहरूलाई झारपात भन्थ्यो। ९० सेण्टीमिटर भन्दा अल्गो नभए पनि पाँचऔंलेलाई आफूमाथि बढी नै विश्वास थियो। त्यसैले त उसले झार भएर रूखसंग प्रेम गर्यो, त्यसका लागि आफूभन्दा निकै ठुलो र बलियो भीमलसंग फाइट पनि खेल्यो।
डेभिड गोलायथसंग लडे जसरी।
बिहान चौतारीमा गफ ठोक्न भेला भएकाहरुबाट त्यो खवर सुनेर बूढो पीपलले हरेस खाएको भावमा भनेकोथ्यो, "खै कली लाग्या हो कि के हो ? कति मिलेर बस्थ्यौं हामी यो जंगलमा ? आजकल त किन हो किन, बातबातमा पाखुरा सुर्कन्छन् रुखहरु।"
दुवैको चाला देखेर वाक्क भएकी अमला लौ जा त भनेर अर्कैसंग भागेकी थिई, खुसुक्क एक रात। भीमल निकै दिनसम्म विरही भएको थियो। तर केही वर्षमा उसले आफूमाथि नियन्त्रण गरिसकेको थियो। यो त धेरै पुरानो कुरा थियो। अहिले आएर त्यो कुरामा किन आत्महत्या गर्नु र ? सबै अन्यौलमा थिए।
जंगल, रूख थरिथरिका
त्यो जंगलमा पनि थुप्रै रुखहरु थिए। बिभिन्न थरिका रुखहरु थिए त्यस जंगलमा। सबै रुखका आआफ्नै विशेषताहरु थिए। कुनै अल्गा, कुनै होचा, कुनै खिरिल्ला थिए भने कुनै अजंगका मोटा। कुनै रुखका जराहरु माटोमा धेरै गहिरोसंग गाडिएका थिए, कुनैका निकै परपरसम्म फैलिएका भने कुनै अलिकति मात्र गाडिएका भरमा टिकेका पनि थिए। त्यसैले प्रचण्ड हावाहुरी चल्दा पनि कुनै डेगै नचली अडिरहन्थे त कुनै अलिकति हावा चल्दा नै ढलूँला जस्तो गरी लचकलचक लच्किन्थे पनि। यस्ता कमजोर प्रजातिका रुखहरु कहिलेकहीं आफ्नो धरातलबाट उखेलिएर पछारिन्थे, विस्थापित हुन्थे।
तर पनि सबै रुखका आफ्नै विशेषताहरु थिए। सालका रुखहरु आफ्नो बलियोपनमा गर्व गर्थे। उनीहरु बेलाबेला भन्थे, "हाम्रा पुर्खाहरु उहिलेउहिलेका राजा महाराजहरु र अहिलेका हाम्रा पुस्ता आजकलका शक्तिशाली र सम्पन्न मनिसहरुको घरमा मेरुदण्ड, दलीन, फर्निचर इत्यादि बनेर बसेका छन्। हाम्रो योगदानको जति प्रशंसा गरे पनि पुग्दैन।"
एकथरि अर्का रुखहरु थिए जो आफूमा पलाएका पात र लहराहरुमा सञ्जीवनी रहेकोमा गर्व गर्थे। अमलाको बाबु पनि आफ्नो गुणगान गाउन पछि पर्दैनथ्यो,
"हाम्रो फल भिटामिन सिको मुख्य श्रोत हो बाबै।"
अजम्बरीको त झन् के कुरा गर्नु र?
"हाम्रो त नामै अजम्मरी, कामै अजम्मरी। पात, डाँठ अथवा जे काटेर फाल न, हमी त्यसैबाट फल्छौं। हामी अम्लपित्त, कमलपित्त, पत्थरी, गर्मीले हुने रोग, मधुमेह, धातु झर्ने, पेट दुख्ने र पोल्ने जस्ता रोगहरूमा काम लाग्छौं, के ठान्या?"
त्यहाँ रक्तचन्दन पनि थिए।
आयुर्वेदमा पनि रक्तचन्दन उल्लेख गरिएको छ भन्ने कुराले उनीहरूको इज्जत नै बेग्लै थियो। हुन त चन्दनद्वय भनेर रक्तचन्दनका भाइहरूको खलक श्वेतचन्दनको पनि बयान नभएको हैन तर केही समयअघि देखि देशका ठूलाठालूहरू रक्तचन्दनको चोरी र तस्करीमा लागेपछि रक्तचन्दनको त भीआइपीमा गणना हुनथालेको थियो। तै पनि सबैभन्दा पाको रक्तचन्दनलाई यो गतिमा ओसारपसार हुँदा वंशै नाश होला भनेर पीर पनि लाग्न थालेको थियो। एकरात ट्रक आधुनिक आरा करौती लिएर आएकाहरूलाई उसले सम्झाउन पनि खोजेको थियो। सुनको फूल पार्ने कुखुरोलाई एकैपटक काट्ने लोभीको कथा पनि सुनाएको थियो उसले। तर तातै खाऊँ-जल्दै मरौं भैरहेका ती पिपासुहरूले उसका कुरा सुनेनन्।
"जंगलमै कुहिएर जाने तेरा सन्ततिलाई हामीले भारत चीन लगायत संसारका कति मुलुक घुम्न पठाइरहेका छौं। तं त खुसी हुनुपर्छ।"
त्यसो भनेर रातको निस्तव्धतामा उनीहरूले आफ्ना सन्तानहरूलाई निर्दयतापूर्वक काटेको हेरेर बूढो रक्तचन्दनले धर्धरी आँसु चुहाएको थियो।
जंगलका सबै रुखहरूलाई आफ्नो नियति भनेको काटिनु र अरूको काम आउनु हो भन्ने थाहा थियो। कसैकसैलाई यसमा गर्व पनि थियो। त्यस्तै गर्व गर्नेहरूमा एउटा थियो, भीमल।
फेरि भीमल
भीमलका प्रजाति थरिथरिका कागज बनाउनका लागि प्रयोग हुने रुखका रुपमा चिनिन्थ्यो। भीमल सबैलाई भेला पारेर भन्ने गर्थ्यो, "कागज भनेको निकै ठूलो कुरा हो बाबै। तिमीहरूलाई थाहा छ, कागजले मानिसका कति ठुलाठूला काम गर्छ ?"
अरू रुखहरू उत्सुक भएको देखेर आनन्द मानेर ऊ भन्थ्यो, "कागजको सबैभन्दा ठुलो कुरो भनेको कागजमा लेखिन्छ। लेखिनु भनेको निकै महत्वपूर्ण हो। कुनै पनि कुराको स्विकृति, सहमति र स्वीकार गर्नू हो लेखिनु। अभिव्यक्त हुनु हो लेखिनु। स्वतन्त्र हुनु हो लेखिनु।"
आफ्ना हाँगाहरूलाई जोरजोरले उचाल्दै, घोक्रो स्वरमा भन्थ्यो ऊ, "हामीमा- एउटा मन र अर्को मनलाई जोड्ने भावना लेखिन्छ, प्रेम पत्र। हामीमा- मानिसको उपलव्धि र विकासको कथा लेखिन्छ, ईतिहास। हामीमा- ठूलाठूला सहमति लेखिन्छ दस्तावेज, सन्धि लेखिन्छ र युद्धविरामका घोषणा लेखिन्छ। हामीमा- सत्य लेखिन्छ, असत्य पनि लेखिन्छ। भ्रम, वाद, विचार र कहिलेकहीं पूर्वाग्रह लेखिन्छ। कल्पना, सपना, भविष्य सब हामीमा लेखिन्छ।"
सबै मन्त्रमुग्ध भएर उसलाई हेरिरहन्थे, उसको गर्व।
तर उसको व्यक्तिगत गर्वको कुरा यति मात्र थिएन। उसलाई आफ्नो खलकले पाउन लागेको एउटा अर्को उपलव्धिको गर्व थियो।
एउटा देशको नयाँ सम्विधान लेखिने भएको थियो उसको खलकमा। आहा.......त्यो भन्दा ठूलो अरु के हुन सक्छ ? सिंगो देशको भविष्यको योजनाको खाका लेखिने भनेको सबै रुखका कागजहरूले कहाँ पाउँछन् र ? त्यही भएर आफ्ना दाजुभाइहरू काटिँदा सँधै आँशु हुने उसका आँखाहरूमा त्यसदिन साराका सारा सानाठूला भीमलहरू छप्काईँदा पनि स्वाभिमानको राप थियो, उज्यालो थियो। आफूलाई पनि त्यो कागज बनाउन कहिले लग्लान् भनेर कुरि रहेको पनि थियो ऊ। तर नलगे पनि आफ्ना दाजुभाईले खलककै नाम उँचो बनाउने कुराले नै ऊ खुशी थियो।
भीमल केही दिन अघिदेखि त्यो सम्विधान लेखिने दिन गन्न थालेको थियो। दिन जतिजति नजीक आउँदै गयो, भीमलको गर्धन पनि त्यतित्यति मोटो र नाकका पोहोराहरू त्यतित्यति नै फुल्दै गइरहेका थिए।
त्यस दिन
किन हो किन भीमललाई केही न केही समाचार अवश्य आउँछ भन्ने पूर्वाभाष भैरहेको थियो। दिनभरि नै भनेजसो ऊ घाँटी तन्क्याइतन्क्याइ चारै दिशा तिर आफ्ना उत्सुक आँखाहरू डुलाइरह्यो। रात झमक्क परेपछि मात्र उसले त्यसको आश मार्यो। भोलिपल्ट उसको निन्द्रा कागको कर्कश स्वरले खुल्यो। काग उसकै हाँगामा बसेर उसको कान निर कराइरहेको थियो, उसैलाई हेरेर।
"शुभ शुभ बोल् कौवा, शुभ शुभ......"
आँखा मिच्दै भीमल बर्बरायो।
काग बेलाबेला शहरतिर गैरहेने भएकोले उताको लवज सिकेको थियो। बोल्दा पनि बीचबीचमा अँग्रेजी मिसाएर बोल्थ्यो ऊ। त्यसैले कागलाई जगलमा इज्जत गर्न थालिएको थियो। कागले जे समाचार सुनायो, त्यो भीमलका लागि अकल्पनीय थियो।
"टू मेनी कूक्स स्पोइल द ब्रोथ भीमल। पोलिटिसियन र लिडरहरू एग्रिमेण्ट प्वाइण्टमा आउनै सकेनन्। सबको ईगो क्ल्यास भयो। जति गरे पनि नथिंग डुइंग। त्यो कन्स्टिट्युटनल एसेम्ब्ली नै बिगठन भएछ। नो एसेम्ब्ली, नो सम्विधान, नो नथिंग।"
अनि कागले दुबै कुम उचाल्दै बिट मार्यो,
"टु ब्याड ब्रो, भेरी स्याड न्युज।"
भीमलका सारा सपनाहरू एकैछिनमा भत्किए। यस्तो होला भन्ने उसले कल्पना पनि गरेको थिएन। उसको आँखा अघि दिउँसै कालो रात जस्तो भयो। ऊ केही बोल्नै नसक्ने अवस्थामा पुग्यो। निकै बेरपछि उसले पराजित स्वरमा कागलाई सोध्यो, "अनि हाम्रा खलकलाई के गर्ने भए त कौवा ?"
कागले पनि एकछिन कान कनायो। भनौं कि नभनौं जस्तो भावमा कागले भन्यो, "सम्विधानै राइट नगरेपछि तिनको अहिलेलाई केही यूजै भएन।"
"कतै तिनका सलाई त बनाएनन् आगो लगाउने ?" भीमल त्रस्त भयो।
"नो, नो ब्रो। पेपर त पेपर नै बनेका छन् तिनिहरू सिटी गएर, तर तिम्ले चाहेको जस्तो पेपर हैन।"
"कस्तो पेपर त ?" भीमलले थर्थर कामेको शंकालु स्वरमा सोध्यो।
कागले अमीलो मुख लगाएर भन्यो, "ट्वाइलेट पेपर।"
आत्महत्या
भीमल दिनभर झोक्रयायो, अनि रातको अँध्यारोमा उसले आत्महत्या गर्यो।
बिहान उठेर हेर्दा सबै स्तव्ध भए।
भीमलका सँधै ठाडो रहने शिर निहुरिएको थियो, तुर्लुङ्ग झुण्डिएको थियो। गहिरोसंग धरातलमा गाडिएका उसका जराहरू उखेलिएका थिए, हावामा झुण्डिएका थिए।
भीमलका निष्प्राण जराहरू हावामा फिर्फिर हल्लिरहेका थिए।
brazesh.com
twitter: @brazeshk