जङ्गलबाट सल्किएको डढेलोबाट जिल्लाको पश्चिमी गाविस डिकुवामा तीनवटा घर जलेको छ।
डिकुवा–६ बाट सल्किएको डढेलोले डिकुवा–८ का भैरबहादुर मगर, मेघबहादुर मगर र दलबहादुर परियारको घर नष्ट गरेको हो।
डढेलोबाट लागेको आगोबाट भैरबहादुरको पाँच तोला सुन, १९ हजार नगद, सात वटा बाख्रा र तीन वटा खसी, मेघबहादुरको सात वटा खसीबाख्रा, अन्न, मालसामान र दलबहादुरको घरमा भएका सबै सामान नष्ट भएको प्रहरी चौकी च्यास्मीटारले जनाएको छ।
प्रहरीका अनुसार भैरबहादुरको साढे पाँच लाख, मेघबहादुरको साढे चार लाख र परियारको रु चार लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान छ।
यस्तै, सामुदायिक वनमा लागेको डढेलोले पेल्ट्री सेटको तार जल्दा माक्पा–७ र ८ मा विद्युत् अवरुद्ध भएको छ। स्थानीय भीरगाउँ सामुदायिक वनमा लागेको डढेलोले बञ्चरे खोलाबाट निकालिएको पेल्ट्रीसेटको लेवादेखि रुमालासम्मको तार जल्दा गाउँमा विद्युत् अवरुद्ध भएको स्थानीय पृथ्वी निरौलाले जानकारी दिए ।
डढेलोले रोयल्टीमा काटिएको चिरानी काठ तथा काट्न ढालिएको रुख र काठसमेत नष्ट बनाएको छ। डढेलोबाट माक्पा–७ र ८ मा ल्याइएको हङखोला मुहान भएको खानेपानीको पाइप पनि डढेको निरौलाको भनाइ छ। रासस