नेपाल राष्ट्रिय पुस्तक बिक्रेता तथा प्रकाशक सङ्घले कुमार नगरकोटीद्वारा लिखित 'फोसिल' नामक आख्यान विधाको कृतिलाई 'वर्ष पुस्तक–२०१३' पुरस्कार प्रदान गरेको छ।
विश्व पुस्तक तथा प्रतिलिपि अधिकार दिवसको अवसरमा बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा वरिष्ठ साहित्यकार प्रा.डा. अभि सुवेदीले लेखक नगरकोटीलाई उक्त पुरस्कार प्रदान गरे।
पुरस्कारको राशि रु २५ हजार रहेको छ। त्यसैगरी पुस्तक प्रकाशन गर्ने पब्लिकेसन नेपालयलाई पनि प्रशंसापत्र प्रदान गरिएको थियो।
पुरस्कृत नगरकोटीले पुरस्कारले लेखकहरुमा उत्साह बढाउने भएकाले यो चलनलाई निरन्तरता दिइनुपर्ने बताए ।
नेपालयका अध्यक्ष किरण श्रेष्ठले लेखक र प्रकाशकलाई एकै थलोमा पुरस्कृत गर्ने परिपार्टीको सुरुवात हुनु प्रेरणादायी भएको बताए ।
सङ्घमा आवद्ध सदस्य प्रकाशन गृहमार्फत नेपालमै प्रकाशन भएका पुस्तक तथा तिनका लेखकलाई हरेक वर्ष यो पुरस्कार प्रदान गर्ने गरिन्छ।