घुमफिर गर्दै बर्ष दिनपछि पुनः आज हाम्रो आँगनीमा नवौं लोकतन्त्र दिवस आएको छ । एक दिन बिदा पाएर सरकारी तथा गैरसरकारी सम्पूर्ण जागिरेहरू रमाएका छन् । लोकतन्त्र दिवसकै सन्दर्भ पारेर ठूलाठूला तारे होटलमा चर्काचर्का भाषण गर्न र जलपानकै लागि भनेर लाखौं रुपैंया पनि खर्चिइएको होला ।
परन्तु देशमा जताततै भोकतन्त्र मौलाउँदै गएकाले लोकतन्त्र ल्याउन स्वःस्फूर्त रूपमा आन्दोलनमा होमिएका सर्वसाधारण नेपाली जनताले लोकतन्त्रको अनुभूति नै गर्न पाएका छैनन् । भोकतन्त्रको खडेरीमा लोकतन्त्र दिनानुदिन ओइलाउँदै गएको अनुभूति गर्न जनता बाध्य हुनु निश्चय नै राम्रो भविष्यको सङेत होइन । आजको कान्तिपुरमा खबर छापिएको छ।
नेपालमा प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रका नाममा बारम्बार जनआन्दोलनहरू भए, तर सत्ता र सत्तामा बस्ने मान्छे फेरिए पनि मान्छेभित्रको संस्कार आजसम्म फेरिन सकेन । फलस्वरूप प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रकै बढ्ता उपहास हुन पुग्यो । शब्दतन्त्रहरू आउँदा नेपाली जनताले मनाउने गरेको खुसी परालको आगोजस्तै क्षणिक र डोरीमा देखिएको सर्पजस्तै भ्रमपूर्ण ठहरिन पुग्यो ।
हामीले रोपेको लोकतन्त्रको बिरुवालाई नौ वर्षसम्म यथोचित मलजल गर्नुको साटो हामीले नै आ-आफ्नै भोकका खडेरीहरू जन्माएर त्यसलाई ओइलाउने भूल गर्यौं । आजका अधिकांश विद्यार्थीहरूमा ज्ञानभन्दा अज्ञानको भोक जागेको छ । शिक्षकमा नपढाउन पाउँदा शिर ठाडो हुने गरेको छ । सभासद्मा बेलैमा संविधान जारी गर्न नसक्ने रोग लागेको छ । प्रत्येक राजनीतिक दलमा टुक्रिँदा बलियो भइन्छ भन्ने सोच बढेको छ । अपराधीहरूमा दलीय राजनीतिको आडमा छुटकारा पाइने साहस बढेको छ । संस्था प्रमुखहरूमा भागबन्डे राजनीतिले आपmना कामदारहरूलाई टुक्रयाउँदा आफू पदमा टिकिरहन पाइन्छ भन्ने तृष्णा जागेको छ ।
फाइल फोटो