विवाहमा प्रायः दुलहा अन्माएर दुलहीको घर लिएर जाने चलन छ। रामेछापमा मंगलबार भएको एउटा विवाहमा भने फरक दृश्य देखियो। महिनौअघि श्रीमान-श्रीमती भउर बसेको जोडी दुलाहाको घरबाट एकैसाथ अन्मिएर दुलहीको घरमा पुगे। आजको कान्तिपुरमा खबर छ।
अघि-अघि पञ्चेबाजा, त्यसपछि लोकन्ती अनि दुलाहा-दुलही र ७० जना जन्तीको लस्कर बेहुली पक्षको घरमा पुगेको थियो। जहाँ दुलही निकालीरहनु पर्दैनथ्यो। दुलाहा-दुलही सरासर गएर जग्गेमा बसे अनि दुलहीका बाबुले उनीहरुको स्वयम्वरदेखि सबै कर्मकाण्ड गरिदिए।
नेपाली सेनामा कार्यरत मन्थली ९ का पुष्कर भुजेल दुलाहा थिए। अनि उनले झन्डै ६ महिनाअघि सल्लाहले सँगै राखेकी तिल्पुङ गाविस ढ्याङ्ग्रेकी मञ्जु भुजेल दुलहीको पहिरनमा सजिएकी थिइन्। महिनौदेखि बुहारीको नातामा घरमै रहेकी मञ्जुलाई सासुले बेहुलीको घुम्टो ओढाइदिएकी थिइन्। 'भयो अब, राम्री देखिएकी छौ,' सासुले बुहारीलाई अन्माउने बेलामा यस्तो ठट्टा गरिन्।
'लु अब दुलाहालाई दही खुवाएर साइतको बिदा गरौ,' छरछिमेकले त्यसोभन्दा दुलहीले पुलुक्क हेरिन्, उनले भने दही भेटीनन्। बेलुका फर्कदा घर भित्र पस्ने साइतको दही चाँही पाइन्। विधिपुर्वक दही खुवाएर बुहारीलाई तीनै सासुले भित्र्याइन्, जसले बिहान अन्माएकी पनि थिइन्। बुहारी भित्र्याउने काम सकेपछि गाउँभरीका छिमेकीले बुहारीको मुख पनि हेरेका थिए।
'यस्तो विवाह यसअघि कहिलै देखेको थिएन,' जन्तीहरु आपसमा भन्दै थिए। आफ्नो गाउँमा परिचित भइसकेकीलाई लिएर बेहुली पक्षको घर पुग्ने जन्तीले खानपिन र नाचगान गरेर दिन कटाए।