वीर अस्पतालको बेडमा अनशन बसेका गोर्खा फुजेलका अधिकारीदम्पतीको पौष्टिक आहार र औषधिका लागि १७ लाख रुपैयाँ खर्च भएको छ । आइसियू तथा अन्य सेवासहितको खर्च भने ३० लाख पुगेको खबर नयाँ पत्रिकामा समाचार छ।
नन्दप्रसाद र गंगामाया अधिकारीलाई पौष्टिक आहार र औषधि दिएको १७ लाख रुपैयाँ भुक्तानी गर्न वीर अस्पतालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिल पठाएको छ । द्वन्द्वकालमा छोरा कृष्णप्रसादको हत्या भएको र छानविन गरी दोषीमाथि कारबाही माग गर्दै अघिल्लोपटक तीन महिना र अहिले ६ महिना वीर अस्पतालको बेडमा अनशनमा छन्।
दुवैपटक गरी उनलाई पौष्टिक आहार, औषधि र ल्याबटेस्टको मात्र १७ लाख र आइसियू तथा अन्य सेवासमेतको हिसाव गर्दा ३० लखा रुपैयाँ खर्च पुगेको वीर अस्पतालका कार्यकारी निर्देशक डा.बुलन्द थापाले जानकारी दिए । अस्पतालले अधिकारीदम्पतीलाई नसाबाट पौष्टिक आहार, औषधि दिँदै आएको छ । सर्वोच्च अदालतको आदेशपछि उनीहरुलाई मुखबाट पनि पौष्टिक खाहार खुवाइँदै आएको अस्पतालले जनाएको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा. थापाले अधिकारीदम्पतीको जीवन बचाउन औषधिसँगै पौष्टिकयुक्त झोल पदार्थ नसाबाट दिइने गरेको बताए । उनले भने, ‘अघिल्लोपटकको सहित उहाँहरुको अनशन नौ महिनाजति पुग्यो । हामीले अघिल्लोपटकदेखि नै जीवन बचाउन नसाबाट औषधिसँगै पौष्टिक तत्त्व दिने गरेका छौं । सोही डोजका कारण दुवैको स्वास्थ्य खतरामुक्त छ ।’