दूरपश्चिममा एक डाक्टरले ५० हजार जनाको उपचार गर्नुपर्ने स्थिति छ । जनसंख्या एक करोड भएका बेला तोकिएको डाक्टर दरबन्दी तीन गुणा जनसंख्या बढिसक्दा पनि थपिएको छैन् ।
सुदूरपश्चिमका नौ जिल्लाका १९ प्राथमिक स्वास्थ्य केन्द्रमध्ये १६ मा डाक्टर छैनन् । क्षेत्रीय स्वास्थ्य निर्देशक परशुराम श्रेष्ठका अनुसार सुदुरपश्चिमका नौवटै जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रमा गरी ७७ डाक्टरको दरबन्दी छ । तीमध्ये ३७ डाक्टरमात्रै कार्यरत रहेको नागरिकमा खबर छ ।
‘प्राथमिक स्वास्थ्य केन्द्रमा स्थापनाकालदेखि नै डाक्टर छैनन् । गाएँका जनताले अहेब, एचएकै भर पर्नुपरेको छ,’ डोटी चमराचौताराका मीन बलमे भने, ‘डोटीका केदार अखडा प्राथमिक स्वास्थ्य केन्द्र र जोरायल प्राथमिक स्वास्थ्य केन्द्र दुवैमा स्थापनाकालदेखि डाक्टर आएका छैनन् ।’ डोटी, बझाङ, अछाम, बाजुरालगायत दुर्गम क्षेत्रका गाउँबाट सदरमुकाम पुग्न एकदेखि चारदिनसम्म पैदल हिँड्नुपर्छ । ‘दुर्गम गाउँका बासिन्दा उपचार नपाई बस्नुपर्नै अवस्था छ,’ उनले भने ।