यहाँको एक गाउँका युवाले असल समाज निर्माण अभियान सुरु गरेका छन्।
'आफ्नो गाउँ आफैं सफा र स्वस्थ बनाऔँ' भन्ने अवधारणाको विकास गरेका हरिचौर गाविस–७ भैँसेमा रहेको नवबिहानी युवा क्लबका युवाले समाज सुधारको अभियान सुरु गरेका हुन्। यही वैशाखदेखि सुरु भएको अभियान आगामी असोजसम्म चल्ने छ।
भैँसे गाउँमा रहेका १४० घरधुरीलाई लक्षित गरी उक्त अभियान चलाएको जानकारी कार्यक्रमका प्रचार संयोजक देवेन्द्रसिंह बस्नेतले दिए । असल समाज निर्माणका लागि सरसफाइको अवस्थामा सुधार ल्याउने र समाजको सभ्यता विकासमा जोड दिइने उनले बताए । अभियानका क्रममा घरपरिवारमा गरिने काम र समुदायमा गरिने काम विभाजन गरिएको छ।
असल समाज निर्माणका लागि समुदायमा गरिने काममा फोहोर व्यवस्थापन गर्ने, समाजलाई सभ्य र उदाहरणीय बनाउन बालकदेखि युवासम्म सबैले आफ्नो काम, कर्तव्यलाई विशेष ध्यान दिनुपर्ने बताइएको छ।
त्यस्तै सधैँ सकारात्मक सोच राखेर काम गर्ने, समाजका अन्य मानिससँग मिलनसार हुने, एकआपसमा पर्ने समस्यामा सहयोग गर्ने, फोहोरमैला कुहिने र नकुहिने छुट्याएर व्यवस्थापन गर्ने काम समुदायका प्रत्येक परिवार र व्यक्तिले गर्नुपर्ने नियम बनाएको छ।
कुहिने फोहोरको कम्पोस्ट मल बनाउने र नकुहिने फोहोरलाई पुनः प्रयोग गर्ने तथा जलाउने निर्णय पनि गरिएको छ। साथै असल घरपरिवारका लागि आधारभूत कुराहरु घरपरिवारको सरसफाइ र घर, गोठ, चर्पी, खानेपानी, प्रत्येक घरमा आवश्यक तरकारी आफ्नै खेतबारीमा उत्पादन गर्ने, फलफूलको बोट रोप्ने, प्रत्येक घरमा कम्तीमा पाँचथरीका फूलका बिरुवा रोप्नुपर्ने, मदिरापान सेवनलाई व्यवस्थित गर्नुपर्ने छ।
त्यस्तै घरपरिवारका सदस्यबीच सुमधुर सम्बन्ध कायम गर्ने, ६ महिनासम्म सञ्चालन गरिने अभियानका क्रममा उत्कृष्ट हुने परिवारलाई पुरस्कृत गरिने संयोजक बस्नेतले जानकारी दिए । क्लबमार्फत युवाले असल समाज निर्माणका लागि चाहिने आधारभूत विषयको कार्यान्वयन गर्न सघाउनेछन्। उदाहरणीय समाज निर्माणका लागि यो अभियानले सहयोग पुग्ने विश्वास क्लबले लिएको छ।
सभ्य, सुसंस्कृत र समुन्नत समाज निर्माणका लागि सबैले आफ्नो ठाउँबाट यस्ता रचनात्मक कामहरु सुरु गरिहाल्नुपर्ने स्थानीयवासी बताउँछन्। स्थानीयको सहभागिता र सक्रियतामा मात्र सम्भव हुने यस्तो अभियानले समाजलाई केही मात्रमा भए पनि सकारात्मक फाइदा पुग्ने ठानिएको छ।
क्लबले अभियान सफल बनाउन पर्चा र पोस्टर बनाएर प्रचारप्रसारको अभियानलाई तीव्र पारेको जनाएको छ। समुदायका अगुवा र सर्वसाधारणले युवाहरु मिलेर चलाएको अभियान प्रशंसायोग्य भएको बताएका छन्। रासस