संविधानसभाका अध्यक्ष सुवास नेम्वाङले तत्काल संविधान सभालाई पुर्णता दिन सरकारसँग माग गरेका छन्।
उनले संविधान सभा निर्वाचनमा पराजित भएका महत्वपूर्ण, व्यक्ति र समानुपातिकमा छुटेकाहरुलाई प्रतिनिधित्व गराइ तत्काल सभालाई पूर्णता दिन माग गरेका हुन्।
सुनसरीको धरानमा आजबाट सुरु भएको प्रथम अर्न्तराष्ट्रिय लिम्बु सम्मेलनको उद्घाटन गर्दै उनले २६ जना सभासद मनोनित गर्न सरकारले ढिलाई गर्दा संविधानसभाको नियमित प्रक्रिया अघि बढ्न समस्या भएको जनाए।
नेम्वाङले समयमै संविधान जारी गर्नका लागि सकारात्मक दबाबको आवश्यकता रहेकाले सभासद र राजनैतिक दलहरुलाई खबरदारी गर्न पनि सर्वसाधारणलाई आग्रह गरेका छन्। उनले पहिचान सहितको संघियताका वारेमा छलफल र सहमतिका आधारमा टुङग्याउनु पर्ने सुझाव दिए।
किराँत याक्थुम चुम्लुङको रजत जयन्तीको अवसरमा आयोजना गरिएको लिम्बु अन्तर्राष्टि्रय सम्मेलनमा भारत, अमेरिका, बेलायत, सिंहापुर, कतार, कोरिया लगायतबाट लिम्बु अगुवाहरु र संविधान सभामा रहेका लिम्बु सभासद र लिम्बु अगुवाहरुको उपस्थिति रहेको छ।
नेपालमा तीन लाख ८७ हजारको संख्यामा रहेका लिम्बुहरु भारतमा मात्रै तीन लाखको संख्यामा रहेको जनाइएको छ। साँगठानिक अनुभव आदानप्रदान तथा अनुभव आदानप्रदानको लागि सम्मेलन गरीएको संस्थाले जनाएको छ। सम्मेलनमा विश्वका एक दर्जन बढी मुलुकबाट पाँच दर्जन बढीको सहभागिता रहेको छ। सम्मेलन तीन दिन चल्नेछ।