अनुहारसहित शरीरका विभिन्न भागमा अस्वाभाविक रुपमा कपालजस्तै रौं पलाएका नौ वर्षका बालक उपचारको खोजीमा काठमाडौं आएका छन् । धादिङ केवलपुरका कृष्णप्रसाद आचार्यलाई परिवारले काठमाडौं ल्याएको छ ।
कृष्णको निधार, हात, खुट्टा, पेट, छात्री, ढाडलगायत शरीरका अधिकांश भागमा रौं पलाएका छन् । सबैतिर रौं पलाएपछि उनी शारीरिक तथा मानसिक रुपमा तनावमा परेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
आर्थिक अवस्था कमजोर रहेका केवलपुर ८ का आमा विमला र हजुरबुबा पदमनिधिले उपचारको सहयोग पाउने आशामा काठमाडौं ल्याएका हुन्।
आचार्य परिवारको आर्थिक अवस्था कमजोर छ । कृष्णका बाबु बलराम न्युरोडका एक व्यापारीको पसलका चौकीदार छन् । आमा विमला गाउँमै कृषि र मजदुरी गर्छिन । उनीहरुका तीन सन्तानमध्ये कृष्ण दोस्रो हुन् ।
स्थानीय सरकारी विद्यालयमा कक्षा दुईमा अध्ययनरत उनको शरीरमा अस्वाभाविक रुपमा रौं र कालो दाग बढ्दै गएका छन् ।
गाउँमा स्थानीय शिक्षकले प्लास्टिक सर्जरी गरेमा कृष्णको अवस्था सामान्य हुने सुझाव दिएपछि काठमाडौं ल्याएको तर कहाँ लगेर उपचार गर्ने भन्ने जानकारी नभएको उनका ७० वर्षका हजुरबुबा पदमनिधिले बताए ।