सुर्खेतको बडाखोलीकी भुमिसरा विकले अप्रेसनपछि सुबिस्तासँग बस्न पाइएला भन्ने सोचेकी थिइन्। तर, श्रीमानको साथ लागेर मेहलकुना अस्पताल पुगेकी उनले सोचेजस्तो भएन्।
अप्रेसन गरेको तीन दिनमै ज्यान गल्यो, पिसाब बन्द भयो। उनलाई बचाउन परिवारले थप उपचारका लागि नेपालगन्ज हुँदै भारतको सिमला पुर्यायो। ‘अहिले सन्चो त भएको छ तर ऋणको भारी घटेको छैन्,’ श्रीमान् टेकबहादुरले भने। आजको नागरिकमा समाचार छापिएको छ ।
सुष्मा कोइराला मेमोरियल ट्रस्टले २०६९ चैतमा मेहलकुला अस्पतालमा गरेको पाठेघर खस्ने समस्यासम्बन्धी अप्रेसन शिविरपछि ऋणको भारी बोक्ने टेकबहादुर एक्ला होइनन् । मेहलकुनामा उनीजस्ता थुप्रै स्थानीय भेटिए । जसले अप्रेसन गरेपछि निम्तिएको जटिलताबाट जोगिन ठूलो धनराशी खर्च गरेका छन्।
शिविरले महिलाको पीडा कम गर्नुभन्दा विपन्न दलित परिवारलाई ऋणको भारी बोकाएको छ ।
चैत १८ देखि पाँच दिन चलेको शिविरमा मेहलकुनाका मात्र ६५ महिलाको पाठेघर झिकिएको थियो। तीमध्ये करिब ७० प्रतिशतले अप्रेसनपछि थप उपचार गर्नुपरेको स्थानीय सामाजिक कार्यकर्ता प्रकाश घर्ती बताउँछन्। ‘अप्रेसनपछि थप उपचारले दलित र विपन्न समुदायका परिवार ऋणको चेपमा छन्,’ उनले भने, ‘अप्रेसनपछि सद्दे देखिने काम गर्नै नसक्ने अवस्थामा पुगेका छन् ।’
स्थानीय विद्यालयका पियन टेकबहादुरको थाप्लोमा ६० हजार ऋण छ। मासिक सयकडा ती प्रतिशत ब्याज तिरीरहेका छन् । अप्रेशन लगत्तै असजिलो महसुस भएपछि उनले श्रीमतीलाई नेपालगञ्ज मेडिकल कलेज लगेका थिए। 'त्यहाँ सात दिन राख्दा पनि निको भएन, डाक्टरले फेरि अर्को अप्रेसन गर्नुपर्छ भनेर पैसा जम्मा गर्न लगाए,' उनले भने,'त्यसैले सिधै सिमला लगेर उपचार गराएँ।'