अभाव भएको मौका छोपी कालोबजारी गर्नेहरुले पेट्रोल प्रतिलिटर पाँचसय रुपैयाँसम्ममा बिक्री गरिरहेका छन् ।
ग्रामीण भेगका बजारमा सञ्चालित किराना पसलमा बोतलमा राखेर प्रतिलिटर पाँचसय रुपैयाँका दरले पेट्रोल बिक्री भइरहेको छ । विराटनगरमा भने प्रतिलिटर दुई सय रुपैयाँसम्ममा बिक्री हुन्छ। पेट्रोलको बजार मूल्य भने प्रतिलिटर एकसय ३५ रुपैयाँ तोकिएको छ। आजको अन्नपूर्ण पोस्टमा खबर छ।
खासगरी ग्रामीण भेगका बजारमा मिनिरल वाटरका बोतलमा भरेर पेट्रोल बिक्री हुने गरेको छ । मोरङ बिराटचोकस्थित सनराइज बैंकका शाखा प्रबन्धक यादब खतिवडाले बिहीबार नेताचोक बजारमा एक लिटर पेट्रोल पाँच सय रुपैयाँमा खरिद गरेको बताए। उनले भने ‘खुलेआम तेब्बरभन्दा धेरै मूल्य लिएर कालोबजारी भइरहेको छ । तर, सम्बन्धित निकायले चासो दिएको छैन् ।’ ग्रामीण बजारमा सडकछेउमै मेचमा बोतलमा राखेर पेट्रोल बिक्री हुने गरेको छ।
मोरङका कटहरी, कसेनी, रंगेली, डायनिया, इटहरा, पथरी, उर्लाबारीलगायतका बजारमा पेट्रोलको कालोबजारी भइरहेको स्थानीय उपभोत्ताले बताएका छन् । पथरी बजारमा तीन सय ५० रुपैयाँमा बिक्री भइरहेको छ। उपभोक्ता रीतश खनालले भने,' एक लिटर पनि तीनसय ५० भनेपछि मैले खरिद गरिनँ।'