एमाओवादी कास्कीको छैटौँ जिल्ला सम्मेलनले सीमित व्यक्तिलाई खुशी तुल्याए पनि समग्र कार्यकर्तालाई निराशाबाहेक केही दिन सकेन। ‘खुशी’ एउटा कुरामा मात्र मिल्यो, त्यो हो निर्वाचन। निर्वाचन आफैँमा जायज भयो कि भएन, त्यो बहसकै गर्भमा छ। जेहोस् टिकेप्रथाले निरन्तरता पाएन। परम्परागत टिकेप्रथाले निरन्तरता नपाउनु खुशीको एउटा कारण त होला तर गजवको कुरा, सम्मेलनमा टिकेप्रथाले नयाँ रुप धारण गर्यो। पार्टीभित्र संघर्षरत ‘दुई पक्ष’ नै टिकेप्रथालाई नयाँ रुप दिने कारण बन्यो।
कम्युनिष्ट पार्टीहरुमा विचारको आधारमा दुईलाइन संघर्ष हुने गर्दछ। तर, माओवादीमा नेताको आधारमा लाइन हुने गरेको छ। कुन नेताको पछाडि को–को छन्? त्यसलाई नै लाईन मान्ने गरिएको छ। त्यहि आधारमा एमाओवादीमा चारवटा लाइन देखिएका छन्। प्रचण्ड, बाबुराम, नारायणकाजी र कृष्ण महराको पछि लाग्नेहरुलाई आफ्नो लाइनको ठान्ने प्रवृत्ति नेतामा पनि देखिइरहेको छ। सतहमै देखिएका तीनवटा लाईन र छद्म भेषमा महराको लाईन एमाओवादीमा देखिएको छ। महराको लाईन विस्तारकै क्रममा भए पनि हाल प्रचण्ड लाइनबाट अभ्यासरत देखिन्छ। तीनवटाको त आवश्यक परे फलानो नेताको भनेर लाइन लगाउन तयार नै बनाइएका छन् कार्यकर्ताहरु।
सप्रेको जस लिने र बिग्रेमा अरुमा दोष थोपर्ने प्रचण्ड लाइनको पार्टीभित्र एकछत्र हालिमुहाली नै छ। उनीहरु पार्टीभित्रको सबै स्रोत र साधनको एकल स्वामित्व चाहन्छन्। उनीहरुको समाज रुपान्तरणमा भन्दा समाजको स्रोत साधनको प्रयोगमै ध्यान बढी हुने गरेको छ। त्यसो त सबै लाइनमा वा सबै पार्टीमा यहि प्रवृत्ति हावी हुँदै नगएको भने होइन।
पार्टीभित्रको लाईनले कार्यकर्तालाई दृष्टिबिहीन बनाउँदो रहेछ। यतिसम्म दृष्टिबिहीन कि ऊ एउटा लाइनमा लागेपछि अर्को लाइनका नेता तथा कार्यकर्ताको इतिहास, क्षमता, क्रियाशिलता केहि पनि देख्दो रहेनछ। यसको पुष्टि एमाओवादी कास्कीको गत सोमबार सम्पन्न छैटौँ जिल्ला सम्मेलनले गरेको छ। यो सम्मेलनले एमाओवादी भित्र बाबुराम पक्षले राजनीतिको विकल्प खोज्दा हुने देखाउँछ। ‘अति पूर्वाग्रही र जालीहरुको बोलवाला भएको पार्टीमा कमजोर पक्षतिर लागेर कार्यकर्ता रहिरहनु भनेको समय वर्वाद गर्नु मात्र हो।’ कित आज्ञाकारी भई ‘आहारा’ बनिदिनुपर्यो होइनभने, कडा संघर्ष गर्न सक्नुपर्यो। आफू अन्यायमा परेर अरुको न्यायको निम्ति लड्छु भन्नु आत्माघाती र लाजमर्दो काम मात्र हुनेछ। बेला–बेलामा नौटंकी गर्ने र पुनः प्रचण्डमै विलय हुने बाबुरामको विश्वास गर्नु भ्रम मात्र हो।
एमाओवादी कास्कीको अध्यक्षको निम्ति दिपक कोइराला योग्य थिए कि थिएनन् ? यो भोलिले बताउला। हुनत, प्रत्यक्ष निर्वाचनबाट भए सायद उनी अध्यक्षमा आउने थिएनन्। उनले निर्वाचनबाट आएको दावी गरे भने त्यो असत्य हन्छ। किनकी, उनले नियुक्ति नै पाएका हुन् खेलकुद विकास समितिमा जस्तै प्रचण्ड पक्षबाट। उनलाई पूर्व राज्य संयोजक हरि अधिकारी नामक प्रचण्डको अर्को भक्तले टिका लगाइदिएका हुन्।
सायद, अधिकारी जिल्ला सम्मेलनको निर्वाचनमा नभएको भए सिक्वएन्स् मिलाउन अरुको अक्कल पुग्ने थिएन, या त समिकरण अर्कै बन्थ्यो। उनले निर्देशन दिए ‘तिमीहरु यो–यो पदमा लड जिताउने जिम्मा मेरो भयो।’ निर्वाचनकै समयमा उनले भने–‘विचारकै कुरा हुँदो रैछ कमरेडहरु !’ विचार कसको फरक थियो र ? प्रतिष्पर्धी अर्को पार्टीका त थिएनन् ! उनको पार्टीमा कति थरी विचार छ र अहिले ? उनले त्यसो भन्नुको अर्थ यो थियो कि बाबुराम पक्षकालाई मत नदिनुस् ! होइनभने, अध्यक्षमा सबै हिसाबले दिपक कोइराला भन्दा गुप्त हमाल नै ठिक थिए। कम्युनिष्ट आन्दोलनको इतिहास र वर्तमानमा क्रियाशिलता सबै हिसाबले हमाललाई नै अध्यक्ष बनाइनुपर्ने हो। सचिवमा भन्ने हो भने विष्णु पौडेल कुनै पनि दृष्टिले किरण थापा ‘अमोद’ भन्दा उपयुक्त होइनन्। अमोदले त हैसियत र योगदानका आधारमा अध्यक्षका प्रतिष्पर्धी दिपकसँग पो प्रतिष्पर्धा गर्नुपर्ने थियो। तर, विष्णुलाई किन सचिव बनाइयो अमोदलाई हराएर ? यो पनि लाइनकै कारण थियो।
विष्णु २०६१ सालतिर पार्टीको पूूर्णकालिन हुन् भने अमोद २०५७ सालदेखिकै। निरन्तरताको कुरा गर्ने हो भने, विष्णु गतबर्षसम्म मोहन वैद्य ‘किरण’ को पार्टीमा थिए। पार्टी फुटेपछि प्रचण्ड र एमाओवादीलाई सत्तोसराप गर्नेमा तमुवानमा सबैभन्दा अगाडि उनै हुन्। त्यति छुुद्र अभिव्यक्ति अरु कसैको थिएन। पछि वैद्य पार्टीबाट पनि वाक्क भएर चितवनतिर कुखुरापाल्न हानिएका थिए। संविधानसभाको दोस्रो निर्वाचनमा उम्मेदवारको टिकट पाउने आशाले उनी एमाओवादीमा फिरेका हुन्।
तर, अमोद जनयुद्धमा दर्जनौँ व्यारेक र प्रहरी चौकी कव्जा गर्दै, घाइते बन्दै हालसम्म निरन्तर पार्टीमा क्रियाशिल जनताको रोजाईका यूवा नेता हुन्। आखिर अमोदको पराजय र विष्णुको विजय कार्यकर्ताको चाहना होइन, लाइनको कारण मात्र थियो। किनकी, विष्णु कहिले किरण, कहिले बाबुराम भन्दै अहिले प्रचण्ड पक्षमा देखिए तर अमोद शुरुदेखि नै बाबुरामको विचारसँग सहमत थिए। त्यतिमात्र होइन, विष्णुु कट्टर स्थानीयवादी पनि हुन्। चितवनका दिपकलाई उनले कहिलेसम्म साथ देलान् त्यो पनि आउँदो दिनमा नै देखिनेछ।
उपाध्यक्षमा सर्वसम्मत भएका गंगा पोखरेल पनि सायद दिपक नै अध्यक्ष बन्ने भए त्यो पदमा रहने थिएनन्। किनकी, उनले कहिल्यै पनि दिपकलाई नेता मानेका होइनन््। कोषाध्यक्षको त झन् के कुरा ? उनलाई सोहि निर्वाचनमा भोट हाल्न समेत कार्यकर्ताले सिकाउनुपरेको थियो। त्यसै त आर्थिक रुपमा अपारदर्शी पार्टीको आरोप खेपेको एमाओवादीले निर्वाचित गरेको कोषाध्यक्षले कसरी पार्टीको हिसाव–किताव राख्लिन् ?
चुनाबमा यस्तो दृश्य देखियो जुन, दृश्य पार्टी सिध्याउन पर्याप्त थियो। जिल्ला सम्मेलनका लागि प्रतिनिधी चयन गर्दादेखि नै एउटा पक्षलाई अलग गरी गरिएको निर्वाचनमा लिष्ट बाँडियो। कार्यकर्ताले भोटिङमा चिट नै चोर्नुपर्यो। प्रचण्ड पक्षकाले दिएको लिष्ट खोल्तीबाट निकाल्दै जुन–जुन नाम लिष्टमा छन् तिनैलाई मात्र भोट हाल्न प्रचण्ड पक्षका कार्यकर्तालाई निकै अप्ठेरो परेको थियो। यतिसम्म कि पार्टी चलाउन नभई नहुने नेतालाई समेत हराउने रणनीति तय गरिएको थियो तर कार्यकर्ताको ब्रम्हले त्यो मानेन र केहि नेताले निर्वाचन जित्न पुुगे। एमाओवादी कास्कीमा ‘सित उभाउँदै घैला भरेका’ पूर्व इन्चार्जद्वय नेता झलकपाणी तिवारी र रामजी बराल ‘जीवन’, पूूर्व सेक्रेटरी गुप्त हमाल ‘सन्देश’ लगायतलाई चिढ्याएर पार्टीको स्थान कुन होला अब ? धेरैको प्रश्न यहि छ।
संसदीय शैलीबाट नेतृत्व छान्ने कार्यविधी भएको एमाओवादीको जिल्ला समितिको निर्वाचनमा यस्ता व्यक्तिले निर्वाचन जिते त्यो चिन्नेलाई मात्र महशुस होला। पार्टीको एउटा पनि कार्यक्रममा सहभागी नहुने, संविधानसभाको दोस्रो निर्वाचनमा मात्र पार्टीमा लागेका र कतिपय त निर्वाचनमा आफ्नैलाई हराउन लागेका, जनयुद्धकालका पार्टीका सुराकी, पार्टी चाहरिरहने र विभिन्न काण्डमा विवादित भएकाले पनि निर्वाचन जिते लाइनकै कारण। जनयुद्धमा घाइते भएका, जेल–नेल र हिरासत खेपेका, अग्रीम मोर्चामा रहि संघर्ष गरेका योद्धाहरु पराजित भए, त्यो पनि लाइनकै कारण।
निर्वाचनको माग हुँदै आएपनि निर्वाचनले पार्टी बिग्रन्छ भन्ने बुझाई नेतृत्वमा थियो पहिले–पहिले। सोहि अनुसार नेतृत्व तहबाटै कार्यविभाजन गरी भूमिका दिईँदै आएको थियो। यसले केहि पूर्वाग्रही मानसिकता भएकाहरुलाई सन्तुष्ट नबनाएपनि पार्टीलाई भने हित गरेकै हो। तर, निर्वाचनको नाममा बाबुराम पक्षलाई सिध्याउन गरिएको प्रयत्नले पार्टी बन्ने होइन, विघटनमा जाने सम्भावना निकट नै देखिन्छ। यहि तरिकाले एक÷दुई दिन मात्र होइन, आजिवन गुप्तबास बसेर डकुमेण्ट लेखेपनि पार्टी बचाउन गाह्रो छ।
नेताको पुँजी कार्यकर्ता र जनता मानिन्छ। पुँजीको सहि परिचालन गरे मात्र नेता सम्पन्न हुन्छन्। कुनै बेलाका सम्पन्न कुनै बेला बिपन्न पनि हुने गरेका छन्। त्यसो त राजनीति नै यस्तै हो यसमा केहि पनि स्थायी हुँदैन। जनताले पत्याउने बेलासम्म मात्र त्यसको महत्व हुने गर्दछ। जब, जनताले पत्याउन छोड्दछन् तब, राजनीतिकर्मीले काम गर्ने जाँगर नभएको, बोल्न मात्र जानेको, कतै नबिकेको लगायतका उपमा पाउँछन्, जसरी अहिले पाइरहेका छन्। यस्तै कारण नै राजनीतिलाई फोहोरी खेल मानिएको होला।
(बराल आदर्श नेपाल राष्ट्रिय दैनिकका सम्पादक हुन्।)