सरकारले सगरमाथा आरोहणका क्रममा निधन भएका १६ शेर्पाहरुको परिवारलाई प्रिमियमसहित जनही १५ लाख रुपैयाँ दिने पर्यटनमन्त्री भीम आचार्यले जानकारी दिएका छन्।
व्यवस्थापिका संसदको शुक्रबारको बैठकमा नेपाली कांग्रेसका सभासद आङटावा शेर्पाले सगरमाथा आरोहणमा गएका शेर्पाहरु हिमपहिरोमा परेर मरे तर राज्यले उनीहरुको मृत्यूमा कुनै शोक बक्तव्यसमेत ननिकालेको र परिवारलाई कुनै राहत नदिइएको भनी आपत्ति गरेपछि आचार्यको जवाफ आएको हो।
मन्त्री आचार्यले सदनमा बोल्दै गत शुक्रबार सगरमाथा आरोहणको क्रममा आधार शिविरबाट सय मिटर तल हिम पहिरोमा परी १३ मरेको र तीन जना हराइरहेको तथा ६ जना घाइते भएको खबर आएपछि सरकारले घाइते र मृतकहरुलाई काठमाडौँ ल्याएको जानकारी दिए।
उनीहरुको परिवारका सदस्यहरुको आग्रह अनुसार मृत शरीरको पोष्टमार्टम पनि नगरिएको तथा विगतमा यस्तो घटनामा क्रिया खर्च दिने नगरे पनि यसपटक प्रति व्यक्तिको परिवारलाई ४० हजार रुपैयाँका दरले उपलब्ध गराएको जानकारी आचार्यले दिए। यस्तो घटनामा पहिले विमावापत ३ लाख दिने गरेको भए पनि यसपटक १० लाख प्रिमियम र सरकारले थप ५ लाख दिने निर्णय गरेको जानकारी आचार्यले दिए।
उनले मृतकको परिवारका बालबालिकालाई निशुल्क शिक्षाको पनि पहल भएकेा र हिजो आधार शिविरमा पुगेर त्यहाँका आरोहीले राखेका मागहरुलाई पेशागत विषयमा सम्बन्धित माग सरकारले पूरा गर्ने जानकारी दिए।
उनीहरुलाई आरोहणमा राजनीति नगर्न र अहिले आरोहणमा रहेका विदेशीलाई अहिले आरोण गर्न नसकेपनि अर्को दुई वर्षभित्र पनि अहिलेकै आरोहण शुल्कमा आरोहण गर्न दिने जानकारीसमेत उनले दिए।
उनले भने, 'अहिले आरोहणका लागि आरोहीहरु सहमत भएका छन्। लियाजो अफिसर कुनै जातका आधारमा छनौट हुदैन। कतिपय गैर व्यवसायिक माग बाहेक व्यवसायिक मागमा सरकार संबोधन गर्न तयार छ।'
उनले भविश्यमा आरोहणमा हुनसक्ने दुर्घटनामा परी हुनसक्ने पीडितको भविश्य सुनिश्चित गर्न विशेष कोषको व्यवस्था गर्ने जानकारी दिए।