नेकपा– माओवादीका सचिव नेत्रबिक्रम चन्द (विप्लब) ले जनयुद्धको जगमा जन बिद्रोहको विकल्प नभएको बताएका छन्। क्रान्तिकारी पत्रकार महासंघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा चन्दले नेकपा– माओवादी सहितको बृहत सहमति नभए बिद्रोह अन्तिम विकल्प भएको बताए।
पुुरानो शासन प्रणाली, कर्मचारीतन्त्र र सुरक्षा संरचनाको आमुल परिवर्तन भएपछि मात्र नेपाली जनताले गरेका आन्दोलनको उपलब्धि हुने उनले बताए। बृहत शान्ति सम्झौता तथा रोल्पा सहमतिबाट माओवादी बाहिर आएको भएपनि राज्यका संरचनामा भने माओवादीलाई सियो छिराउने ठाउँ पनि नदिने खालको अवस्था आएको उनको भनाई थियो।
एकीकृत नेकपा माओवादीका अध्यक्ष प्रचण्डको दोहोरो चरित्रका कारणले एकतामा समस्या भएको चन्दले बताए। पार्टी एकताका विषयमा कुरा हुँदा गल्ती महसुस गरेपनि लेखेको दस्ताबेजमा सबै बिग्रिएको र बर्ग बिचलन भयो भनेर उल्लेख गरिएको उनले बताए। २०६५ सालमा आफूहरुले राखेको बिषय नै अहिले प्रचण्डको दस्ताबेजमा परेको उनको भनाई थियो।
एमाओवादीसँग अहिलेको कार्यदिशाले एकताको आधार तयार भने नगरेको उनले बताए। संविधानसभा बहिस्कार गरेर नेकपा– माओवादीको कार्यदिशामा आउनेसँग मात्र एकता हुने चन्दले स्पष्ट पारे। उनलेे आफू र महासचिव थापाका विचमा नेतृतव र वैचारिक टक्कर भन्दै आएका समाचारको प्रतिवाद गरेका छन्। आफूहरु दुवैजना बाहिर रहेका बेला राजधानीका मिडयाहरुले अनावश्यक र बिना आधार चर्चा गरेको उनको भनाई थियो।