झापाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरुले जिल्लाका संघसंस्थाको सामूहिक आयोजनामा वैशाख २६ गते हुन लागेको 'समर्पण कार्यक्रम' झापाली नागरिकको एकता प्रदर्शन र सामुहिक भावनाको विकास गर्ने उत्कृष्ट अभियान हुने बताएका छन्।
झापाको विर्तामेाडमा समर्पण कार्यक्रमबारे राजनीतिक दलहरुसँगको छलफल तथा परामर्शका सहभागी नेताहरुले अभियान मौलिक र सिर्जनात्मक हुनुका साथै दल, संघसंस्था र आम नागरिकबीच बन्धुत्वको भावना विकास गर्न प्रभावकारी हुने बताए।
कार्यक्रमले झापाका सवै राजनीतिक दल र स्थानीय शान्ति समितिलाई समर्पण कार्यक्रमको संरक्षक राख्ने प्रस्ताव पारित गरेको छ। सहारा नेपालको अगुवाईमा जिल्लाका ७० बढी संघसंस्थाले सामूहिक रुपमा राम्रो कामको थालनी गर्न लागेको भन्दै दलका नेताहरुले प्रशंसा गरेका छन।
समर्पण कार्यक्रमले कुनै पनि काम गर्दा अरुको मुख ताक्नु पर्ने प्रवृत्तिको अन्त्य गरी नयाँ नेपाल बनाउने अभियानको शुरुवात गर्न लागेको समेत दलका नेताहरुको भनाइ थियो। समर्पण अभियानले राष्ट्रलाई नै दिशा निर्देश गर्ने भन्दै अझ आम नागरिकको सहभागितामा कार्यक्रमलाई प्रभावकारी बनाउन सुझावहरु समेत दिएका थिए। कार्यक्रमका संयोजक महेन्द्रकुमार गिरीले समर्पण अभियानबारे विस्तृत रुपमा जानकारी गराएका थिए।
नेपाली कांग्रेस झापाका सभापति उद्धव थापा, उपसभापति देउमान थेवे, नेकपा एमालेका कुन्दन भट्टराई, एकीकृत नेकपा माओवादीका सीपी कडरिया, नेकपा–माओवादीका सेक्रेटरी रोशन, सहसेक्रेटरी सञ्चार, स्थानीय शान्ति समितिका संयोजक सूर्यनारायण गणेश, नेकपा मालेका सचिव नवराज खरेल, नागरिक समाजका लोकबन्धु कन्दङवाले झापालाई नमूना जिल्ला बनाउन समर्पण अभियान सार्थक हुने विश्वास व्यक्त गरे।
उनीहरुले अभियानलाई सफल पार्न आफ्नो व्यक्तिगत र पार्टीेको तर्फबाट सशक्त सहभागिता र सहयोग गर्ने प्रतिवद्धता समेत जनाए। त्यसैगरी राप्रपा नेपालका चार नम्बर क्षेत्रीय अध्यक्ष केशव ओझा, तराई मधेश लोकतान्त्रिक पार्टीका अध्यक्ष त्रीनारायण राजवंशी, फोरम लोकतान्त्रिकका अध्यक्ष भरतसिंह राजवंशी, संघीय लिम्बुवान राज्य परिषद्का महासचिव टेकबहादुर खजुम, मञ्च सम्वद्ध संघीय लिम्बुवान राज्य परिषद्का जिल्ला अध्यक्ष धनबहादुर पङ्गधाकलगायतले समेत राय सुझाव र प्रतिवद्धता राखेका थिए।
समर्पण कार्यक्रम अन्तर्गत यस वर्ष बैशाख २६ गते कन्काई संरक्षण अभियान सञ्चालन गरिँदैछ। प्रत्येक व्यक्तिबाट दुई हजारका दरले ५ हजारबाट एक करोड रुपैयाँ संकलन गर्ने, सामूहिक श्रमदानमार्फत तटबन्धन र सरसफाई गर्ने तयारी समर्पण कार्यक्रमको छ। संकलित रकमले कोटीहोममा सार्वजनिक शौचालयसहितको काजकिरिया घर र आर्यघाट निर्माणमा सहयोग गर्ने बताइएको छ।
कार्यक्रम झापाका २१ जना सभासद्ले ढुंगा बोकेर सामूहिक रुपमा उद्घाटन गर्ने जनाइएको छ। उक्त दिन चतुर्भुज महाराज चूडामणिको सकारात्मक सोच सम्बन्धी प्रवचन, बागमती सफाईको सफल अनुभव, मनोज गजुरेल, रामकृष्ण ढकाल, तुलसी पराजुली, जुना प्रसाईलगायतका कलाकारहरुबाट गीत नृत्य प्रस्तुत हुनुका साथै झापाबासीको एकता समर्पण मार्फत प्रदर्शन गरिने जनाइएको छ।
प्रमुख जिल्ला अधिकारी एकमणि नेपाल प्रमुख सल्लाहकार रहेको समर्पण कार्यक्रम आगामी वर्षबाट रकम केही कम गरी अझ सहभागिता बढाएर अन्य नदी र क्षेत्रमा रचनात्मक तथा उपयोगी कार्य गर्ने सोच समर्पण कार्यक्रमले बनाएको बताइएको छ।