सामान्य नागरिकका सेवाका लागि प्रहरीले राखेको १०० नम्बरमा निःशुल्क फोन लगाउन पाइने भएपछि अनावश्यक फोनले प्रहरीलाई हैरानी बनाएको छ।
ग्रामीण क्षेत्रबाट धेरै खर्च गरी सदरमुकाम धाउन र समस्या सबैका एउटै हुन् भनी समस्या समाधानका लागि राखिएको १०० नम्बरमा दैनिक ५० देखि ६० कल अनावश्यक फोन आउने गरेपछि प्रहरीलाई हैरानी बनाएको हो।
जनताको उजुरी र सूचनाका लागि राखिएको उक्त नम्बरमा महिलाहरुको फोनले हैरानी भएको ड्युटीमा बस्ने प्रहरीहरुले जनाएका छन्। प्रहरीका अनुसार “फोनमा ठूलो घटना भयो भनेर कुरा गर्न सुरु गर्छन्, अनि उसको आधिकारिक विवरण माग्दा लामो कुरा गरिरहन्छन्, अन्तिममा हैन तपाईंसँग गफ गर्नका लागि फोन गरेको भनेर फोन राख्छन्।”
फोन गर्ने धेरैले एनसेलबाट फोन गर्ने गरेको प्रहरीहरु बताउँछन्। केही समयपहिले यही समाचार स्थानीय सञ्चारमाध्यमले प्रचारप्रसार गरी दिएपछि केही महिना यस्तो क्रम रोकिएको तर फेरि पहिलाकै एनसेल नम्बरहरुबाट यो क्रम दोहोरिएकाले अब बढी भएमा आवश्यक कानुनी प्रक्रियाअनुसार त्यस्ता व्यक्तिहरुलाई कारबाही अगाडि बढाइने र कानुनी कठघरामा उभ्याइने प्रहरीले जनाएको छ। रासस