लोकप्रिय डिजिटल पत्रिका सेतोपाटीमा मिति २०७१ वैशाख २२ गते प्रकाशन भएको मन्त्रालयसँगै छैन १०१ महत्वपूर्ण सम्झौताको 'सफ्टकपी' भन्ने खबरले मेरो ध्यान तान्यो।
पहिलो संविधानसभाको निर्वाचनभन्दा पहिले शान्ति प्रकृयाको बेला म शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा बसेर तत्कालीन राजनीतिक नेतृत्वलाई सहयोग गर्ने भूमिकामा थिएँ। मैले बुझेसम्म मन्त्रालयमा बिभिन्न सहमति र सम्झौताका हार्ड र सफ्टकपी सुरक्षित हुनुपर्ने थियो। मसँग भएका सबै विवरण र गोप्य दस्तावेज पनि मन्त्रालयमा जिम्मा लागाएर विदा भएको थिएँ।
सेतोपाटीमा यो समाचार पढेपछि हाम्रो अभिलेख प्रणालीप्रति दु:ख लाग्यो। मैले तुरुन्त आफ्नो कम्प्युटरमा हेरे केही सहमति र सम्झौताका सफ्टकपी सुरक्षित नै रहेछन्। यदि जिम्मेबार निकायबाट खोजी भएमा मसँग भएका अभिलेखहरु उपलब्ध गराउन प्रतिबद्ध छु। मुलुकले नयाँ संविधान पाउने कुरामा मैले फेरि पनि सानो सहयोग गर्न पाएमा आभारी हुने थिएँ।
निलकण्ठ शर्मा लम्साल
फलेबास, पर्वत, हाल: कपन -३, काठमाडौं