एकीकृत नेकपा माओवादीको दुई दिनयता स्थगित बन्दसत्र सुरु भएको छ । अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता डा. बाबुराम भट्टराई, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायत नेताहरु बन्दसत्रभित्र प्रवेश गरेका छन्।
लामो समय केन्द्रीय कमिटी बैठकमा जुटेको एमाओवादी विधान संशोधन तयारीसहित बन्दसत्रमा प्रवेश गरेको हो। यसअघि ९९ सदस्यीय केन्द्रीय कमिटी निर्माण गर्ने विधानलाई संशोधन गरेर १ सय ५१ को संख्या पास गराउने लक्ष्य रहेको एमाओवादीका एक नेताले बताए।
९९ सदस्यीय कमिटीले सबै क्षेत्रलाई सम्बोधन गर्न नसकेको निष्कर्षसहित विधान संशोधन गरेर केन्द्रीय कमिटी बनाउन बन्दसत्रमा जुटेको नेताहरुले बताएका छन्। अहिले तत्काल ९९ सदस्यीय कमिटी गठन गर्ने सम्मेलन सक्ने सम्भावना रहेको एमाओवादी स्रोतले बतायो। बाँकी सदस्य पछि मनोनित गर्ने ‘आन्तरिक सहमति’ बनेको दाबी स्रोतले गरेको छ।
वरिष्ठ नेता भट्टराई पक्षले प्रस्तावित नाममा सिधै अस्वीकार गरेका छन् । प्रस्तावित नाममा पनि आउनुपर्नेहरु छुटेको र नआउने नाम प्रस्ताव भएको भन्दै दाहालपक्षधर नेताहरु आफैं असन्तुष्ट बनेका छन् ।
टिके प्रथाले जहिल्यै नेतृत्व चयन गर्ने कार्यले पार्टी रुपान्तरण नहुने भन्दै असन्तुष्ट नेताहरुले चुनावमा जान सुझाउँदै आएका छन् । ‘टिके प्रथा र परम्परागत हिसाबले छानिने नेतृत्वले कार्यकर्ताको मनोविज्ञान सम्बोधन गर्न सक्दैन,’ दाहालनिकट केन्द्रीय सदस्य हिमाल शर्माले भने, ‘चुनावी प्रक्रियाद्धारा जानुपर्छ भन्ने हाम्रो माग हो, प्रस्तावित नाममा आउनुपर्ने नाम आएको छैन र नआउने नाम आएको छ ।’
बन्दसत्रमा अहिले वरिष्ठ नेता भट्टराईले बोल्ने कार्यक्रम छ । उनले आफ्नो असहमति राख्नेछन् । भट्टराईनिकट नेताका अनुसार नेतृत्वपक्षले विपरीत धारलाई जहिल्यै निषेध गर्ने कार्यलाई यसपालि पनि निरन्तरता दिएकाले विवाद लम्बिएको हो ।
‘बाबुराम कमरेडको नेतृत्वमा दाबी हैन, तर विपरीत अस्तित्वलाई स्वीकार गरेर जानुपर्छ भन्ने भनाइ हो,’ भट्टराई निकट केन्द्रीय सदस्य प्रभु साहले सेतोपाटीलाई भने, ‘प्रस्तावित भएका नामलगायत विचारमा स्वतन्त्रताको कुरा सम्बोधन हुन सकेको छैन ।’ भट्टराईले कार्यदिशा परिवर्तनसहित महाधिवेशन माग गर्दै आएका छन् । भट्टराई पक्षको उक्त मागलाई नेतृत्वपक्षले सिधै अस्वीकार गर्दै आएको छ ।