बच्चा जन्माउन नेपाल सुरक्षित देशका रुपमा गणना हुँदै गएको छ। १३ वर्षअघि एक लाख जीवित बच्चा जन्माउँदा पाँच सय ३९ जना आमाको मृत्यु हुने गरेकोमा अहिले एक सय ७० जनाको मात्र मृत्यु हुन्छ। यहीँ कारण नेपाल आमा बन्न सुरक्षित देशका रुपमा विश्वका एक सय ७८ देशमध्ये एक सय १६ औं देशमा उक्लिएको खबर आजको अन्नपूर्णमा खबर छ।
सेभ द चिल्ड्रृेनले मंगलबार सार्वजनिक गरेको विश्वभरका आमाहरुको अवस्था नाम प्रतिवेदनअनुसार सन् २००१ मा नेपाल आमा बन्न सुरक्षित देशको सूचीमा एक सय ७० औं स्थानमा थियो। अहिले ५४ औं स्थान माथि उक्लेर दक्षिण एसियामा भुटानभन्दा माथि छ।
यस्तो सूचीमा नेपाल गत वर्षभन्दा पाँच स्थान माथि उक्लिएको हो। सरकारले निरन्तर चलाएको आमा सुरक्षा कार्यक्रम, दातृ निकायको सहयोग र दुर्गम क्षेत्रमा स्वास्थ स्वयंसेविकाले पुर्याएको सेवा लगायतका कारण नेपालमा मातृ मृत्युदर घटेको स्वास्थ्य मन्त्रालयका सचिव डाक्टर प्रविण मिश्रले बताए।
विश्वमा हरेक दिन आठ सय आमा र १८ हजारको शिशुको मृत्यु हुने गरेको छ। यस्तो मृत्युदर सबैभन्दा बढी सोमालियामा छ ।