आगामी जुन–जुुलाई महिनामा ब्राजिलमा हुन लागेको विश्वकप फुटबल प्रतियोगिताको कैलाली, कास्की र मकवानपुर जिल्लाका ६ जना किशोरकिशोरीले स्थलगत रुपमा अवलोकन गर्न पाउने भएका छन् ।
मर्सि क्रोप्स नामक अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले काठमाडौंमा गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार खेलका माध्यमबाट युवा विकास, सामाजिक एकता र विकास भन्ने संस्थाको सिद्धान्तमा आधारित भई अखिल नेपाल फुटबल सङ्घको साझेदारीमा नेपालका यी तीन जिल्लाका ६ जना किशोरकिशोरीलाई विश्वकप फुटबलको स्थलगत अवलोकन गराउन लागिएको हो ।
सन् २०२२ मा कतारमा विश्वकप फुटबलको आयोजनाको जिम्मा पाएको सुप्रिम कमिटीको सहयोगमा नेपालका खेलाडीलाई विश्वकप फुटबल हेर्ने अवसर प्राप्त हुन लागेको बताइएको छ ।
युवा पिढीलाई सशक्त बनाउन र फुटबलमार्फत आफ्नो समुदायमा सकारात्मक परिवर्तन ल्याउने सोचका साथ सञ्चालित जेनेरेसन अमेजिङ युथ एम्बेस्डर परियोजनाअन्तर्गत किशोरकिशोरीलाई विश्वकप फुटबलको स्थलगत अवलोकन गराउन लागिएको कार्यक्रममा मर्सि क्रोप्स नेपालका नवीन लामिछानेले बताए ।
यसअघि सन् २०१० मा दक्षिण अफ्रिकामा भएको विश्वकप फुटबल प्रतियोगिताको कैलालीका बाढी पीडित क्षेत्रका आठ जना किशोरकिशोरीले स्थलगत अवलोकन गर्ने अवसर पाएका थिए । रासस