थाइल्याण्डको बैंककमा उपचार गराईरहेका नेकपा एमाले संसदीय दलका नेता केपी ओलीको स्वास्थ्यमा सुधार आएको छ।
उपचारमा सुधार आएपनि ओलीलाई जेठको पहिलो साता मात्र रिफर गरिने अस्पतालका चिकित्सकहरुले बताएका छन् । मेनेन्जाइटिसको भएपछि उनलाई गत १७ गते एयर एम्बुलेन्सबाट बैंकक लगिएको थियो। ओलीको सरकारी खर्चमा उपचार भइरहेको छ।
भारतको नयाँ दिल्लीस्थित म्याक्स अस्पतालमा करिब २ महिना उपचार गराएर स्वदेश फर्काएको दुई हप्तामै उनको स्वास्थ्यमा पुनः समस्या दोहोरिएपछि उनलाई एयर एम्बुलेन्सबाट बैकक लगिएको थियो।
काठमाडौंको धापासीस्थित ग्रान्डी अस्पतालमा एक हप्ता भर्ना भएर थप उपचारका लागि ओली फागुन १८ गते नयाँ दिल्ली गएका थिए।
नेता ओली मिर्गौलाका दीर्घरोगी हुन्। उनका दुवै मिर्गौलाले काम गर्न छाडेपछि भारत गएर छ वर्षअघि, २०६४ साउनमा, उनले मिर्गौला प्रत्यारोपण गरेका थिए। एकपटक मिर्गौला प्रत्यारोपण गरेपछि मानिसको स्वास्थ्यमा गडबडी आइरहन्छ। अर्को शरीरको अंग आफूभित्र प्रत्यारोपण गरेपछि त्यसलाई बाह्य अतिक्रमण ठानी शरीरको प्रतिरोधक प्रणालीले त्यसमाथि आक्रमण गर्छ। शरीरको प्रतिरोध प्रणालीले सम्भव भएसम्म बाह्य अंगलाई निस्तेज पार्ने प्रयास गर्छ।
त्यसैले मिर्गौला प्रत्यारोपण गरेपछि नयाँ मिर्गौलालाई शरीरको प्रतिरोध प्रणालीको आक्रमणबाट गजोगाउन डाक्टरहरुले बिरामीलाई लगातार औषधि खुवाउने गर्छन्। यस्तो औषधिले बाहिरबाट आएको मिर्गौलालाई आक्रमणबाट त जोगाउँछ तर शरीरको प्रतिरोधात्मक प्रणालीलाई कमजोर बनाउँदै लैजान्छ। अन्ततः शरीर भाइरस तथा ब्याक्टेरियाको संक्रमण झेल्न नसक्ने गरी कमजोर हुन्छ।
‘ओलीजीको शरीरको प्रतिरोधात्मक क्षमता निकै कमजोर हुँदै गएको देखिन्छ,’ काठमाडौंमा उनको उपचारमा संलग्न एक डाक्टरले सेतोपाटीलाई भने।
ओली फागुन ९ गते धापासीस्थित ग्रान्डी अस्पतालमा भर्ना भएका थिए। बाथ र युरिक एसिडका कारण अस्पताल भर्ना भएको जानकारी दिइए पनि त्यसबखत पनि उनको शरीरमा व्यापक संक्रमण भएको जानकारी अस्पताल स्रोतले दिएको छ।
अघिल्लो वर्ष पनि उनको शरीरमा गम्भीर संक्रमण देखिएपछि एयर एम्बुलेन्स झिकाएर बेहोस अवस्थामै उनलाई दिल्ली लगिएको थियो। पछिल्ला वर्षहरुमा ओलीमा संक्रमणको समस्या धेरै देखिन थालेको छ।
ओलीमा प्रत्यारोपण गरिएको मिर्गौला उनकी भाइबुहारी अन्जान घिमिरेको हो। ओलीका दुवै मिर्गौलाले काम नगरेपछि घिमिरेले २०६४ सालमा आफ्नो एउटा मिर्गौला ओलीलाई दिएकी थिइन्। आफ्नो परिवार (एकै आमाका सन्तान) भित्रको मिर्गौला प्रत्यारोपण गरेका बिरामी औसत दस वर्ष बाँच्ने गर्छन्। सामाजिक हिसाबले घिमिरे एकै परिवारका भए पनि ‘वायोलोजिकल’ हिसाबले उनी ओली परिवार बाहिरकी सदस्य हुन्।
आफ्नो परिवारको मिर्गौला प्रतिष्थापन गरेको अवस्थामा त्यस्तो मानिसको औसत आयु प्रत्यारोपणपछि पाँच वर्ष हुने गर्छ। अपवादका रुपमा मानिस मिर्गौला प्रत्यारोपणपछि २० वर्षसम्म बाँचेका उदाहरण छन्।