जापानका परराष्ट्र मामिलासम्बन्धी संसदीय उपमन्त्री सेइजी किहारा छ सदस्यीय उच्चस्तरीय जापानी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बुधबार काठमाडौं आइपुगेका छन ।
राष्ट्रपति डा रामवरण यादव र प्रधानमन्त्री सुशील कोइरालासँग उनले बिहीबार बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग बिहीबार नै भेटवार्ता गर्नेछन् ।
उनको सम्मानमा नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडैलले बुधबार रात्रिभोजको आयोजना गरेका छन् ।
दुईदिने भ्रमणका क्रममा उनले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपालस्थित जापानी दूतावासले जनाएको छ । यद्यपि, दूतावासले भेटवार्ता गर्ने नेताहरूको नाम सार्वजनिक गरेको छैन । रासस