राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही वर्ष भित्रै राजतन्त्र पुर्नस्थापित हुने बताएका छन्।
राप्रपा नेपाल कैलालीको दोस्रो जिल्ला अधिवेशनको आज धनगढीमा उद्घाटन गर्दै थापाले सबैको सहयोगमा आफ्नो पार्टी सबै भन्दा ठूलो बन्ने र त्यसैले हिन्दु राष्ट्रसँगै राजतन्त्र पुर्नस्थापित गर्ने बताए।
'सबैको सहयोग यसरी बढ्दै जाने हो भने हिन्दु राष्ट्र सहितको राजतन्त्र पुर्नस्थापित हुन्छ' उनले भने–'यो काम राप्रपा नेपालले गर्छ।'
उनले ठूला दलको सिण्डिकेट अन्त्य हुनुपर्ने भन्दै आफ्नो पार्टीलाई समेत समेट्नुपर्ने बताए।
छोटो समय भित्रै आफ्नो सम्बोधन टुङ्ग्याएका थापाले ठूला दलहरुले आफ्नो पार्टीलाई हरेक कुरामा उपेक्षा गरेको गुनासो गरेका छन्।
'हामीलाई हरेक कुरामा उपेक्षा गरिदैछ' उनले भने–'यो कार्य राम्रो हैन।'
उनले अब हुने संविधान सभाको उप निर्वाचनमा राप्रपा नेपालले कैलालीको क्षेत्र नम्बर ६ र काठमाण्डौंको क्षेत्र नम्बर २ बाट जित्ने दावी गरेका छन्।
अधिवेशनको उद्घाटन अघि राप्रपा नेपालका कार्यकर्ताहरुले हिन्दु धर्म र गौरक्षाको माग गर्दै र्याली प्रदर्शन गरेका थिए। क्याम्पस रोडबाट सुरु भएको र्याली शहीद गेट पुगेर समापन भएको थियो। र्यालीमा आठ वटा गाई समेत प्रर्दशन गरिएका थिए।