संविधानसभामा चौथो शक्तिका रूपमा स्थापित राप्रपा, नेपालले संवैधानिक राजतन्त्रको लाइन र पार्टीकै नाम फेर्ने तयारी गरेको छ । आउँदो जेठ १० गते हुने महाधिवेशनमा यससम्बन्धी विशेष राजनीतिक प्रस्ताव ल्याउने गृहकार्यमा पार्टी जुटेको छ। आजको कान्तिपुरमा खबर छापिएको छ।
राष्ट्रिय प्रजातन्त्र पार्टीसँग नाम जुध्दा सर्वसाधारणमा भ्रम पैदा भएको, संवैधानिक राजसंस्था बोकिरहँदा बौद्धिक तप्का पार्टीमा खुल्न अनिच्छुक भएको पार्टीले संशोधन गर्न लागेको हो । 'प्रतिवेदन लेख्ने काम भइरहेको छ । हामी छिट्टै त्यसलाई अन्तिम रूप दिई महाधिवेशनमा लैजान्छौं,' पार्टी महामन्त्री चन्द्रबहादुर गुरुङले भने ।
महाधिवेशनमा पार्टीले लिने कार्यदिशा तय गर्न अध्यक्ष कमल थापाको नेतृत्वमा ३८ सदस्यीय राजनीतिक प्रतिवेदन लेखन समिति गठन भएको छ । त्यसको सदस्यसमेत रहेका गुरुङले परिवर्तित सन्दर्भमा कसैले पनि संवैधानिक राजतन्त्र लिएर अघि बढ्न नसक्ने औंल्याए । तर, राष्ट्रियता र दिगो विकासका लागि त्यसको मोडलमा छलफल गरी आलंकारिक (सेरेमोरियल) मा जान सकिने तर्क उनले गरे । 'हामी आलंकारिक राजसंस्थामा जानुपर्छ भन्नेमा छौं,' उनले भने ।
पार्टीका केही नेताले भने सांस्कृतिक राजाको प्रस्ताव गरेका छन् । तर, स्रोतका अनुसार नाम परिवर्तनमा सहमति जनाए पनि पार्टीका केही नेताले संवैधानिक राजतन्त्र चलाउन नहुने अडान राखेका छन् । पार्टी सहअध्यक्ष पद्मसुन्दर लावतीको नेतृत्वमा केही सदस्यले संवैधानिक राजतन्त्रलाई पार्टीले छाड्न नहुने प्रस्ताव राखे पनि बहुमतले त्यसलाई अस्वीकार गरेको स्रोतको दाबी छ । अध्यक्ष थापा पनि संशोधनका पक्षमा रहेको र पार्टीभित्र उनकै प्रभाव भएकाले महाधिवेशनबाट प्रस्ताव पारित हुने पार्टीका नेताहरूको भनाइ छ ।
स्थापनादेखि नै संवैधानिक राजतन्त्र र सनातन हिन्दु राष्ट्रको नारा बोकेको राप्रपा, नेपालले गत मंसिर ४ गते सम्पन्न संविधानसभा चुनावी परिणामपछि एजेन्डामा संशोधन गर्न लागेको हो । त्यतिबेला हिन्दु राष्ट्रको नाराका कारण बढी मत आएको, संवैधानिक राजतन्त्रलाई भने सर्वसाधारणले रुचि नदेखाएको उसको निष्कर्ष छ । 'हामीले हिन्दु राज्यलाई नै प्रमुख नारा बनाउँछौं । एक्काइसौं शताब्दीमा सक्रिय वा संवैधानिक राजतन्त्रले काम गर्न सक्छ भन्नु नै मूर्खता हो,' यही लाइनमा रहेर कार्यपत्र लेखन तयारी भइरहेको जानकारी दिँदै महामन्त्री गुरुङले भने ।
पार्टीको नाम भने के राख्ने भन्ने यकिन भइसकेको छैन । कांग्रेस, एमाले, एमाओवादीसहितका कार्यकर्ता आकषिर्त गर्ने गरी उपयुक्त नाम खोजी भइरहेको पार्टी केन्द्रीय सदस्य मोहन श्रेष्ठले बताए । 'अहिलेकै नाम कायम राख्दा पूर्वपञ्चहरूको पार्टी मात्र हो कि भन्ने गुनासो छ । तर त्यसो होइन । हाम्रा एजेन्डालाई अन्य पार्टीका बौद्धिक जगतले पनि राम्रो मानेका छन् । उनीहरूलाई समेत अटाउन सक्ने खालको नाम हामी खोज्दैछौं,' उनले भने ।
राजधानीमा हुन लागेको महाधिवेशनमा करिब २ हजार २ सय प्रतिनिधि सहभागी हुँदैछन् ।