दुई वर्षभन्दा लामो अवधि लगाएर ल्याइएको प्रहरी नियमावली दुई सातामै संशोधन गरी सरकारले पुरानै प्रावधान अनुसार प्रहरी बढुवा गर्ने तयारी गरेको छ।
१६ दिनअघि मात्र पारित भएको प्रहरी नियमावली,२०७१ लाई बुधबार बसेको मन्त्रिपरिषद्को विधेयक समितिले संशोधन गरेको हो।
विधेयक समितिको बैठकले पुरानै प्रावधान अनुसार प्रहरीको बढुवा गर्नेगरी नियमावली संशोधन गरेको छ। आजको नयाँ पत्रिकामा खबर छापिएको छ।
नेपाल प्रहरीका सात एआइजी पदमा आफ्ना व्यक्तिलाई बढुवा गर्न नियमावली संशोधन गरिएको स्रोत बताउँछ। सात एआइजी पद ६ महिनादेखि चलखेलकै रिक्त रहँदै आएको छ।
विधेयक समितिको बैठकले कार्यक्षमतामा आधारित हुने एआइजी बढुवा प्रणालीबाट खारेज गरी मन्त्रीको ठाडो सिफारिसमा बढुवा गर्नेगरी नियमावली संशोधन गरेको छ। यस अघि एआइजी बढुवाका लागि गृहसचिवको अध्यक्षतामा प्रहरी महानिरीक्षक तथा प्रधानमन्त्री कार्यलय सचिव सदस्य हुने गरी बोर्डको ब्यवस्था गरिएको थियो।
सात एआइजीको लागि १३ जना डिआइजी प्रतिष्प्रर्धामा छन्।
वरिष्ठताको सूची अनुसार राजेन्द्रसिंह भण्डारी, नारायण बस्ताकोटी, सुरेन्द्रबहादुर शाह, केदारप्रकाश साउद, रमेशशेखर बज्राचार्य, विज्ञानराज शर्मा, गणेशराज राई, विरेन्द्रबहादुर श्रेष्ठ,यादव अधिकारी, पुर्शराम खत्री, प्रतापसिंह थापा, बिश्वराजसिह शाही र सुशीलबरसिंह थापा रहेका छन्।