उत्तरी गोलार्धको सुदूर उत्तरमा रहेको एउटा सानो देश नर्वेले संविधानसभा मार्फत संविधानप्राप्त गरेको यही महिना २०० वर्ष पूरा भएको छ। यो अवसरलाई नर्वेलीहरुले वर्षैभरि विभिन्न कार्यक्रमसाथ मनाउँदै छन्। डेनमार्कको झन्डै ४१७ वर्षसम्मको उपनिवेशकत्वबाटस्वतन्त्र भएपछि सन् १८१४ को मे १७ तारिखका दिन संविधान जारी गरिएको यो देशको अहिले विश्वमा छुट्टै पहिचान छ- ‘सबैभन्दा उच्च जीवनस्तर भएको नागरिकहरुको देश।’नर्वेले विगत एक दशकदेखि संयुक्त राष्ट्रसंघीय मानव विकास सूचकांकको पहिलो तीन राष्ट्रमा आफ्नो स्थान सुरक्षित राख्दै आएको छ। सन् २००८ देखि त ऊ लगातार पहिलो स्थानमै छ। सन् २०१३ को प्रतिवेदन अनुसार यो देशको जिडिपी २८०.१७४ बिलियन अमेरिकीडलर र वार्षिक प्रतिव्यक्ति आय ५५,३९८ अमेरिकी डलर छ।
अहिले सबैको चासो छ, आफूलाई विश्वको सबैभन्दा सम्पन्न राष्ट्र बनाउन यहाँका राजनेताहरु कसरी सफल भए? के छ यो देशको विकासको इतिहास?
आधुनिक नर्वेको इतिहास सन् १३९७ मा गठित काल्मर युनियनको एक सदस्यको रुपमा सुरु हुन्छ, जसमा डेनमार्क र स्विडेन अरु दुई सारथी थिए। अहिले यी देशहरुको समूहलाई स्क्यान्डेनेभिया भनिन्छ। यो समूहमा अहिले फिनल्याण्ड र आइस्ल्यान्डलाई पनि जोड्ने गरिएको छ। सन् १३९७ मै स्वतन्त्र देशको अस्तित्व प्राप्त भए पनि १८४३ सम्म झन्डै ३ दशक नर्वेको आर्थिक विकासको पाइला खासै अघि बढेन। सन् १८४० मा औद्योगीकरण सुरु भयो, तर सन् १८७० को दशकमा सुरु भएको ठूलो आर्थिक संकटका कारण १८८० को दशकमा अत्यधिक संख्यामा नागरिकहरु देश छोडेर उत्तर अमेरिका हिँडे। सन् १८७९ देखि १८९३ को बीचमा नर्वे छोडेर हिँड्नेको संख्या २,५०,००० पुग्यो, जुन कुल जनसंख्याको ६०% मानिन्छ। सन् १९३० सम्म त ८,६०,००० जनसंख्याले देश छोडे। सन् १८७० देखि सुरु भएको यो आर्थिक मन्दी १८९० को दशकमा केही सुधार भए पनि सन् १९०५ सम्म कायम रह्यो।
सन् १९०५ मा विद्युत कम्पनी नोर्स्क हाइड्रो को स्थापना पछि उद्योगहरु बिजुलीबाट संचालन गर्न थालियो। यसप्रकार १९०५ देखि १९२० को बीचमा औद्योगिक विकासको आधारशीला खडा गरियो।
नर्वेको योजनाबद्ध विकासको इतिहास दोश्रो बिश्वयुद्धपछि मात्र सुरु भएको मान्दा हुन्छ। युद्धमा सक्रिय सहभागिता नभए पनि युद्धको चपेटामा यो देश परेकै थियो र विश्व युद्धपछि नर्वेसँग आर्थिक पुनर्संरचना, राजनीतिक र आर्थिक स्थीरता कायम राख्नुपर्ने चुनौती थियो। यसबीच सन् १९३५ मा अहिलको शक्तिशाली लेबोर पार्टीको स्थापना भयो। यसले दृढ समाजवादी लोकतान्त्रिक राज्यव्यवस्था अनुसरण गर्दै तीव्र रुपमा वृद्धि भैरहेको निजीक्षेत्रलाई समेट्दै बृहततर केन्द्रिकृत आर्थिक योजनाको तर्जुमा गर्यो। विदेशी सहयोग नलिने मनशाय भए पनि अर्थ अभावको कारण नर्वेले अमेरिकासँग मार्शल सहयोग अन्तर्गत सन् १९४८-१९५२ मा ४०० मिलियन डलर सहयोग लियो, जसको कारण त्यति बेला यो देशको प्रतिव्यक्ति ऋण अत्यन्त धेरै थियो। सन् १९५८ मा नर्वेले युरोपेली फ्री ट्रेड युनियनको सदस्यता लिनुको साथै आफ्नो मुद्रा क्रोनरलाई डलरसँग सटही हुने बनायो।
सन् १९६९ मा अमेरिकी पेट्रोलियम कम्पनी (फिलिप) ले तेलको खानी पत्ता लगायो। यही तेल भण्डारको कारण सन् ७० को दशकमा पुरै युरोपमा आर्थिक मन्दी चलिराख्दा पनि नर्वेमा आर्थिक वृद्धि सुरु भयो र बेरोजगारहरुको संख्या घट्न थाल्यो। बीसौँ शताब्दीको बाँकीतीन दशक नै लगातार आर्थिक प्रगति कायम राख्न सफल भई वार्षिक आयको दृष्टिले नर्वेविश्वको सबैभन्दा सम्पन्न राष्ट्रमा स्थापित भयो। नर्वेले आज भारी मात्रामा पेट्रोलियम पदार्थ निर्यात गर्छ। कुल ३,८५,१७८ वर्ग किमि क्षेत्रफल रहेको नर्वेको जनसंख्या ५१,३६,७०० मात्र छ। नर्वे अहिले विश्वको सातौं ठूलो तेल निर्यातकर्ता हो। खनिज तेलबाट संचिती रकम मात्र ८४० बिलियन अमेरिकी डलर पुगेको छ। जसको मतलब हुन्छ, हरेक नर्वेली लखपति। यो कोषलाईविश्वको सबैभन्दा ठूलो कोष मानिन्छ। तर अहिले जलवायु परिवर्तनको मुद्दा पेचिलो बन्दै आएको र यही दरमा उत्पादन गर्दै जाने हो भने आगामी ४० वर्षमा भण्डार रित्तिने अनुमानका कारण उत्पादन बन्द गर्ने बहस चलिरहेको छ।
नर्वे विश्वको छैटौँ ठूलो र युरोपको सबैभन्दा ठूलो विद्युत उत्पादक राष्ट्र हो। यसले३०,००० मेगावाट बिजुली उत्पादन गर्छ। देशको ६०% ऊर्जाको माग बिद्युतबाट नै पूरा हुन्छ। यो देशलाई तेलबाहेक माछापालनबाट पनि ठूलो पैसा आर्जन हुने गरेको छ। यसरी हेर्दानर्वेको मुख्य आर्थिक आधार प्राकृतिक श्रोतको उचित सदुपयोग नै हो। यस्तो श्रोतको उचित परिचालन गरी देशलाई आर्थिक रुपमा सम्पन्न बनाउन यहाँको मेहनती जनशक्ति,समयानुकूल उच्च प्रविधिको प्रयोग, स्थायी एवम् भरपर्दो संस्थाहरु र उदार एवम् खुल्ला अर्थतन्त्र र खुल्ला समाजको ठूलो भूमिका छ।
प्राकृतिक श्रोतबाहेक यहाँको विकासको मुख्य आधार भनेको सुदृढ कर प्रणाली हो। यस देशका नागरिकहरु आम्दानीको आधारमा ५० % सम्म कर तिर्छन्। कुल जिडिपीमा यस्तो करबाट मात्र ४२.५ % योगदान छ। सन् २०१० मा प्रत्यक्ष एवम् अप्रत्यक्ष करबाट १०५७ बिलियन क्रोनर उठेको थियो। यसरी उठ्ने करमध्ये झन्डै १२% स्थानीय निकायमा जान्छ। यस्तो रकमको महत्वपूर्ण हिस्सा यातायात, अस्पताल, शिक्षामा खर्च हुन्छ। यस प्रकार राज्यकोषमा जम्मा भएको ४०% रकम सामाजिक सुरक्षामा खर्च हुन्छ। यहाँ नागरिकको लागि उच्च माविसम्मको शिक्षा र स्वास्थ निशुल्क छ। विश्वविद्यालयको शिक्षाको लागि सरकारले ऋणउपलब्ध गराउँछ। यहाँ बेरोजगार जनसंख्याको प्रतिशत ३.३ मात्र छ। जबकि पुरै यूरोपमा यो दर ११% को हाराहारी छ। बेरोजगार रहँदा सरकारले भत्ताको ब्यबस्था गर्छ। आफूलाई मन नपरेको पेशा कुनै पनि बेला छोड्न पाइन्छ र अर्को अर्को ब्यबस्था नभइन्जेल पहिलेको तलबको ६०% रकम सरकारले उपलब्ध गराउँछ। नागरिकहरु कर तिर्ने कुरामा गर्व गर्छन्। बेरोजगार रहेर कर तिर्न असक्षम हुँदा राज्यले पूरा जिम्मा लिए पनि कर तिर्न असक्षम भएकोमा लज्जित हुन्छन्। बालक र बृद्धहरुको यहाँ जति सम्मान अरु देशमा हुदैन। हरेक बृद्धले सुरक्षा रकमको साथै आवास सुविधा पाउँछ। बृद्धबृद्धाहरु छोरा छोरीहरुको बोझ बनेर बस्न चाहँदैनन्। उनीहरु सरकारले उपलब्ध गराएको घरमा स्वाभिमानी जीवन बिताउछन, जहाँ सबै खालको सेवा र परिचर सुबिधाहरु उपलब्ध हुन्छन्। बालकको आमाको गर्भमा रहेको दिनदेखि पूर्ण हेरविचार हुन्छ। आजको बालक स्वस्थ जन्मिएमा नै भोलि राष्ट्रले असल नागरिक पाउँछ भन्ने मान्यतालाई आधार मानेर नीतिहरु निर्माण गरिएको छ। त्यसकारण उनीहरुको मनोविज्ञानको उच्च स्तरमा सम्मान गरिन्छ र उसको हेरविचार कुन तरिकाले भैरहेको छ,सरकारले निगरानी गरिरहेको हुन्छ। मापदण्ड पूरा नभएको अवस्थामा आफ्नै आमाबुबाले पनि आफ्नो बच्चा आफैँ राख्न पाउँदैन। त्यसको जिम्मा सरकारले नै लिन्छ।
नर्वेली समाज बास्तबमै समतामूलक समाजको नमूना हो। उमेरको विभेदसमेत इन्कार गर्दै एकले अर्कोलाई नामले बोलाउने परम्परा बसाइएको छ। सरसर्ती हेर्दा हामीलाई झट्ट पाच्य नलागे पनि समाजको अग्रगतिको लागि यस्तो परम्परा आवश्यक रहेछ। यहाँको समाज पूर्णतया: अनौपचारिक पनि छ। व्यक्तिगत स्वतन्त्रताको विशेष ख्याल गरिन्छ। स्कुलहरुमा पोशाकको व्यवस्था छैन, जुन विश्वका धेरै देशका लागि अनौठो लाग्न सक्छ। औपचारिक पोशाकको प्रयोग बिबाह र रास्ट्रिय दिवस लगायत ज्यादै थोरै अवसरमा मात्र गरिन्छ। हाइस्कुल भन्दा तलको शिक्षामा ग्रेडको ब्यबस्था छैन। कुनै एक बिद्यार्थीलाई बिशेष बनाउदा अरुको उन्नतिमा असर पर्छ भन्ने मान्यताले त्यस्तो गरिएको हुन सक्छ। सवारी चलाउने अनुमतिका लागि तोकिए बमोजिमको पर्याप्त तालिमका साथै कडा परीक्षा उत्रीर्ण गर्नु पर्छ। १८ वर्ष नपुगी यो अनुमति पाइँदैन। हरेक व्यक्तिमा पर्याप्त आत्मअनुशासन पाइन्छ। नागरिकहरुले राज्यका नियमहरुलाई जीबनशैलीमा ढालेका छन्।
राष्ट्र पूर्ण रुपमा सम्पन्न नभई जनताको हितमा अपेक्षा गरिए जस्तो धेरै गर्न नसकिएला। तर नागरिकको सुरक्षित जीबनका लागि नर्वेले अबलम्बन गरेका नीतिहरु संसारका हरेक देशका लागि उदाहरण बन्न सक्छ। उसलाई आजको सफलता एक दिनको मिहेनेतले प्राप्त भएको हैन। निरन्तर रुपमा दुरदर्शी नेताहरुको प्रतिनिधित्व बिना यस्तो सफलता प्राप्त हुने थिएन । असल शासकहरु स्थापित गर्न आखिर जनतानै परिपक्व हुनुपर्ने कुरा उक्त देशको उदाहरणले पुस्टिगर्दछ। व्यक्तिको रुपमा मानिसले समस्या यहाँ पनि भोगिरहेका छन्। तर राज्यको कर्तब्य पुरा गर्ने बिषयमा नर्वेले आजको बिश्वमा आफूलाई अब्बल साबित गरेको छ।