उज्जैनकुमार श्रेष्ठ हत्यामा ओखलढुंगा जिल्ला अदालतबाट सजाँय पाएका माओवादीका पूर्व कार्यकर्ता पुष्कर गौतमलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको छ।
जिल्ला अदालत काठमाडौंले मंगलवार साँझ ५.३० बजे कैदी पूर्जी बनाएर गौतमलाई कारागार चलान गरेको हो।
२०५५ सालमा भएको उज्जैनकुमार श्रेष्ठ हत्या प्रकरणमा दुई वर्षअघि ओखलढुंगा जिल्ला अदालतले गौतमलाई जन्म कैद सुनाएको थियो।
माओवादी पूर्व सभासद् बालकृष्ण ढुंगेललाई पनि यहीँ काण्डमा सर्वस्वसहित जन्मकैद भएको छ। सर्वोच्च अदालतको गरेको उक्त फैसला भने कार्यान्वयन भएको छैन ।
पुष्कर गौतमलाई पक्राउ गरी मंगलबार नै काठमाडौं जिल्ला अदालत लगिएको थियो।
अपराध अनुसन्धान विभागका एसपी सुरेशबिक्रम शाहले गौतमलाई बागबजारबाट ३ बजेर ३२ मिनेटमा पक्राउ गरिएको बताए। उनले सेतोपाटीसँग भने, 'उनलाई पक्राउ गरी आजै जिल्ला अदालत लगिएको छ।'
यसअघि पुष्कर गौतमलाई पक्राउ नगरेको प्रहरीले बताएको थियो। उनलाई बागबजारबाट मंगलबार पक्राउ गरिएको भनिए पनि प्रहरीका अधिकारीहरुले अस्वीकार गरेका थिए।
अाेखलढुंगाका जिल्ला न्यायाधीश कोषकुमार नेम्वाङले श्रेष्ठ हत्याबारे संकलित प्रमाणका आधारमा ढुंगेल र गौतमबिरुद्ध अभियोग पुष्टि गरेको भन्दै जन्मकैद फैसला सुनाएको थियो। गौतम हत्या अभियोग लागेदेखि नै फरार भएका थिए।
सोही हत्याका मुख्य अभियुक्त भनिएका ढुंगेललाई यसअघि नै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद फैसला गरिसकेको छ। २०५५ मा भएको हत्याकाण्डमा नौ जना मुछिएका थिए। तत्कालीन समयमा माओवादीका जिल्ला सदस्य भनिएका गौतमले टर्च देखाउने र बालकृष्ण ढुंगेलले गोली हानेको अभियोग थियो।
को हुन पुष्कर ?
पोकली २, लेतीकै पुष्कर गौतम बालकृष्णका राजनीतिक सहयात्री थिए । ०२९ सालमा जन्मिएका पुष्कर शेषराज गौतमका तीन भाइमध्येका कान्छा हुन् । पुष्करले बालकृष्णसँगै जनमोर्चा नेपालबाट राजनीति प्रवेश गरेका थिए । खासगरी बालकृष्णसँगै पार्टीमा आन्तरिक द्वन्द्व भए पनि टारकेराबारीका तत्कालीन प्रधानपञ्च दीर्घराज पौडेलसँग उज्जनको सम्बन्ध राम्रो भएको कारण र यौनको विषयले गर्दा ढुंगेल र गौतम मिलेर हत्या गरेको स्थानीयवासीको भनाइ छ । उनले ०५४ सालमै माओवादीबाट आत्मसमर्पण गरी सक्रिय राजनीति त्यागेका थिए । माओवादी द्वन्द्वमै हिँडेकी एक युवतीसँग बिहे भए पनि सम्बन्धविच्छेद भइसकेको छ । ११ वर्षकी छोरी अहिले कक्षा ६ मा पढ्छिन्। उनी केही समयअघि द्वन्द्व विज्ञानमा विद्यावारिधि गर्न बेलायत गएको भनिएको थियो।