फोटोपत्रकार (पिजे) क्लबले फोटो प्रतियोगिताका लागि फोटो दर्ता आवेदन खुल्ला गरेको छ।
चौथो संस्करणको लागि विभिन्न ७ विधामा हुने फोटो प्रतियोगिता विभिन्न क्षेत्रबाट फोटो जम्मा गर्ने व्यावसायिक फोटो पत्रकार र सौखिन फोटोग्राफरको लागि यो सबभन्दा ठूलो खुल्ला प्रतियोगिता भएको बुधबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको छ।
नेपालको फोटोग्राफी तथा फोटो पत्रकारितालाई राष्ट्रिय र अन्तराष्ट्रिय स्तरसम्म प्रबर्द्धन गर्नुको साथै पर्यटन र वास्तविक नेपाललाई विश्वमाझ चिनाउने उद्देश्यले प्रतियोगिता गर्न लागिएको क्लबले जनाएको छ ।
'अरु प्रतियोगिताभन्दा यो प्रतियोगिता फरक र महत्वको छ व्यवसायिक फोटो पत्रकार, पत्रकार र सौखिन फोटोग्राफरका हजारौं फोटो एउटै स्टेजमा जम्मा हुने नेपालको अहिलेसम्मकै सबभन्दा ठूलो फोटो प्रतियोगिता हो। यस प्रतियोगितामा रहेका विभिन्न ७ विधाले नेपाल र नेपालीको सबै क्षेत्रलाई प्रतिनिधित्व गर्नेछ,' प्रतियोगिताका संयोजक विकास कार्कीले बताए।
फोटो प्रतियोगिता तथा प्रदर्शनी ०६९ ले सबैभन्दा ठूलो पुरस्कारको घोषणा पनि गरेको छ। क्लबले यस वर्षको लागि पाँच लाख बीस हजार रुपैयाँको पुरस्कार घोषणा गरेको छ।
आइएमई र ग्वोबल आइएमई बैंकको मुख्य प्रायोजनमा हुन लागेको प्रतियोगितामा डेली लाईफ, टुरिजम एण्ड कल्चर, वाइल्ड लाइफ एन्ड नेचर, न्यूज फोटो, नेपाल स्माईल, र फोटो स्टोरी गरी सात विधामा प्रतिस्पर्धा हुनेछ।
न्युज फोटो विधामा २०७० सालभरि खिचिएका तस्बिरहरूले मात्रै प्रतिस्पर्धा गर्न पाउनेछन्। अन्य विधामा जहिलेसुकै खिचिएका तस्बिरहरू पठाउन सकिनेछ भने अन्य कुनै प्रतियोगिताका मुख्य विजेता र यसैको पूर्व संस्करणका विजेता फोटोहरुले सहभागिता जनाउन पाउने छैनन्। प्रत्येक विधामा प्रतियोगीले ३ वटा फोटो, फोटो स्टोरीमा बढीमा २ वटा स्टोरी र प्रत्येक स्टोरीमा २ देखि १२ वटासम्म फोटो दर्ता गर्न पाउने संयोजक कार्कीले बताए।
२०६१ सालमा स्थापना भएको क्लबले विभिन्न कार्यक्रम गर्दै आएको छ। क्लबले फोटो पत्रकारिता तालिम पनि सञ्चालन गर्दै आएको छ।
यस आइएमई ग्वोबल आइएमई बैंक नेपाल फोटो प्रतियोगिताको ५ सदस्यीय निर्णायक मण्डल रहेको छ। बेलायतका बरिष्ठ फोटोपत्रकार जर्ज जर्जियोको अध्यक्ष रहेको मण्डलमा, बरिष्ठ फोटोग्राफर मणि लामा, बरिष्ठ पत्रकार जिबेन्द्र सिम्खडा, बरिष्ट आर्ट क्युरेटर सिर्जना थापा र फोटोपत्रकार क्लबका अध्यक्ष प्रकाश माथेमा रहने क्लबले जनाएको छ।
अहिलेसम्मकै सर्बाधिक राशीको पुरस्कार राखिएको प्रतियोगितामा सातै विधामा प्रथम, द्वितीय र तृतीय विजेतालाई पुरस्कारको व्यवस्था गरिएको छ।
प्रतियोगी फोटोबीचको प्रतिस्पर्धाबाट एउटालाई उत्कृष्ट छनोट गरी 'आईएमइ ग्वोबल आईएमइ बैंक फोटो अफ द ईयर ' घोषणा गरिनेछ। 'आईएमइ ग्वोबल आईएमइ बैंक फोटो अफ द ईयर ' विजेताले नगद १ लाख रुपैया“ पुरस्कार पाउनेछन्।
प्रत्येक विधाका प्रथम, द्वितीय र तृतीय हुनेलेे नगद क्रमशः ३०, २० र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्।
कसरी सहभागी हुने
प्रतियोगिता एवंम प्रदर्शनीमा सहभागी हुन चाहनेले क्लबको वेबसाइट डबलुडब्लुडबलुडटपिजेक्लबडटकमडटएनपीमा मा गएर फोटो सबमिट गर्न र आवश्यक जानकारी एवंम नियम हेर्न सक्नेछन्। फोटो २०७१ साल असार २३ गते राति १२ बजेभित्र पठाइसक्नुपर्नेछ। प्रतियोगिता एवंम प्रदर्शनीमा नेपाली नागरिक मात्र सहभागी हुन सक्नेछन् भने तस्बिरहरू नेपालभित्रै खिचिएको हुनुपर्नेछ।
प्रतियोगिताबाट उत्कृष्ट छानिएका १ सय ५० फोटोलाई काठमाडौंमा सात दिन र नेपालका प्रमुख चार शहर विराटनगर, पोखरा, नेपालगञ्ज र धनगढीमा प्रदर्शन गरिने योजना रहेको छ।
कुन कुन छन् विधाहरु
दैनिक जीवन :
दैनिक जीवनसम्बन्धी फोटोले मानिसको दैनिकीलाई क्याप्चर गर्छ र समसामयिक विषयलाई उजागर गर्दछ। यस्ता फोटोले सम्झना र मानवीय जीवनका कथाहरुलाई जिवन्त राख्नुका साथै फोटोग्राफी कलालाई प्रस्तुत गर्दछ।
प्रकृति र वन्यजन्तु :
वन्यजन्तुको सुन्दर पक्षलाई उजागर गर्न यस्तो फोटोग्राफी उपयोगी हुने गर्छ। प्रकृति र वन्यजन्तुको सुन्दरता मात्र नभई त्यसका अन्य सुक्ष्म विषयलाई यस्तो फोटोग्राफीले प्रस्तुत गर्दछ। प्रकृति र वन्यजन्तु विधामा वनस्पति र जनावर, भौगर्भिक प्रकृया, मौसमको अवस्था, पानी, वन्यजन्तु, चट्टान, जंगल वा अन्य प्रकारका प्राकृतिक गतिविधि क्याप्चर हुन सक्छ।
पर्यटन र संस्कृति :
सभ्यता र संस्कृतिको धनी गौरवमय नेपाल उत्सुक पर्यटकहरुको आकर्षणको केन्द्र हो। नेपाललाई संस्कृति, सुन्दर स्थान, प्राकृतिक बिविधता वा अन्य विषयमार्फत पर्यटनको गन्तव्यका रुपमा विकास गर्न सहयोग पुर्याउने खालका फोटोहरु यो विधाका लागि उपयुक्त हुन सक्छन्।
समाचार फोटो :
फोटो, जसले समाचार भनुन। राजनीति, समाज गतिविधि, अर्थ वा खेलकुदका समसामयिक विषयमा आम जनतालाई सुसुचित गर्ने खालका फोटो समाचार फोटोको विधामा समेटिन्छन्। यो विधाका लागि वर्ष २०७० मा क्याप्चर गरिएका फोटो मात्र लायक हुनेछन्। कुनै सञ्चार माध्यममा प्रकासित वा अप्रकासित सबैखाले फोटो स्विकार्य हुनेछन्।
स्पोर्टस खेलकुद :
खेलकुदको कुनै प्रतियोगिता वा घटनाको मुख्य क्षणलाई क्याप्चर गरेको फोटो यो विधाका लागि उपयुक्त हुन सक्छ। यो विधामा फोटोले खेलकुदसँग प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सम्बन्ध राख्ने खेलाडी, प्रशिक्षक, समर्थक, अधिकारीहरु समेट्न सक्नेछ।
नेपाल र्स्माइल :
रमाइलो अनुभुति समेटेका फोटोहरु, जसले खुसी र मानिसका लागि सुखद भविश्यको आशा जगाउन सकोस। यस्ता फोटोहरुलाई लक्षित गरि यो विधा समावेश गरिएको हो। खासगरी जस्तोसुकै परिस्थितिमा भएपनि हसिला वालवालिका यसको आकर्षण हुन सक्छन्। यो विधा खासमा समाजमा संघर्ष गरिरहेकाका लागि उपकारी अभियान चलाउने उदेश्यका साथ समावेश गरिएको हो। विपन्न वर्गका वालवालिकाको सहयोगार्थ राखिएको हो।
फोटो कथा :
फोटोहरु जीवनका खुसी र घटनाक्रमहरुको साक्षी हुनेछन्। 'सभ्य' दुनियाको नजरमा नपरेका विषयलाई उजागर गर्ने फोटोग्राफरको धैर्य र मेहनतलाई यो विधाले मान्यता प्रदान गर्नुका साथै सम्मान गर्नेछ। फोटोग्राफरले कुनैपनि घटनाको निर्दयीपना तथा वियोगका कथा यो विधामा खुलेर प्रस्तुत गर्न सक्छन्। यसले आवस्यकता र अभाव, मानिसको असुरक्षित अवस्था, शिक्षाको अवसर अभाव तथा अन्य विषयको विकासक्रम उजागर गर्नेछ।
कस्ता छन् नियमहरु
-
फोटो सबमिट गर्न दर्ता शुल्क लाग्नेछैन।
-
सहभागी फोटोग्राफर नेपाली नागरिक हुनुपर्नेछ।
-
प्रतिस्पर्धामा सहभागि फोटो नेपालमा खिचिएको हुनुपर्नेछ र आवदेक आफैले खिचेको हुनुपर्नेछ।
-
यस प्रतिस्पर्धामा यसअघि सबमिट गरिसकिएका फोटो पुन : सबमिट गर्न पाइनेछैन।
-
प्रतिस्पर्धीले सबै बिधामा भाग लिन पाउनेछ र हरेक बिधामा बढिमा तीनका दरले सम्म फोटो दर्ता गर्न पाउनेछ। एक प्रतिस्पर्धीले बढिमा १८ सम्म (फोटो स्टोरीबाहेक) फोटो दर्ता गराउन सक्नेछ। हरेक विधामा सुरुमा दर्ता गराइएका तीन फोटोमात्र प्रतिर्स्धामा सामेल हुनेछन्। कसैले कुनै विधामा तीनभन्दा बढि फोटो दर्ता गराए पछिल्ला फोटोहरु स्वत अयोग्य हुनेछन्।
-
फोटो कथा : एक सहभागिले दुईसम्म फोटो कथा दर्ता गराउन पाउनेछ। हरेक फोटो कथामा कम्तिमा दुई र बढिमा १२ सम्म फोटो समावेश गर्न पाइनेछ।
-
समाचार : यो विधामा दर्ता गराइएका फोटोहरु विक्रम सम्बत २०७० सालमा खिचिएको हुनुपर्नेछ। अन्य विधामा भने समयसिमा लागु हुनेछैन।
-
विगतमा यही प्रतिस्पर्धा वा देशभित्रका अन्य प्रतिस्पर्धामा पुरस्कार जितिसकेका फोटोहरु प्रतिस्पर्धाका लागि योग्य हुनेछैनन्।
-
फोटोको कन्टेन्टमा कुनै परिवर्तन गर्न पाइनेछैन। थोरै क्रपिङ भने गर्न पाइनेछ। डडजिङ, बर्निङ, सार्पेनिङ, कन्ट्रास्ट र थोरै कलर एड्जस्टमेन्टजस्ता विषयमा सामान्य एडिटिङ गर्न पाइनेछ। तर, त्यसले फोटोको वास्तविकतामा कुनै परिवर्तन ल्याएमा भने त्यो अयोग्य हुनेछ। फोटोका यस्ता सबै प्राविधिक विषयको निर्क्यौल गर्ने सम्पूर्ण अधिकार जुरीमा नीहित हुनेछ।
-
हाई डाइनामिक रेन्ज तस्विर (एचडिआर) र वाटरमार्क स्विकार गरिनेछैन। पानोरामिक इमेजका लागि धेरै तस्विरको स्टिचिङ मान्य हुनेछ, तर त्यसको विस्त्रित विवरण पेश गर्नुपर्नेछ।
-
सबै फोटो डिजिटल फाइलमा हुनुपर्नेछ। अन्य रुपका फोटो स्क्यान गरेर डिजिटल रुपमा परिवर्तन गरी दर्ता गराउनुपर्नेछ।
-
फोटो २००० पिक्सल (वाइडर साइड), ३ डिपिआईको हुनुपर्नेछ। फोटोको फाइल साइज ३०० केबी – १ एमबी हुनुपर्नेछ। फोटो जेपिजी/जेपेग फाइल फर्म्याटमा हुनुपर्नेछ।
-
विजेता फोटो र प्रदर्शनीमा राखिने फोटो जुरी प्यानलले छनोट गर्नेछ।
-
प्रदर्शनीका लागि योग्य भएका तथा विजेता घोषित फोटोहरुका कपि राइट एक वर्षका लागि फोटोपत्रकार क्लबमा नीहित हुनेछ। तर, फोटोको सम्पूर्ण क्रेडिट फोटोग्राफरलाई नै दिइनेछ।
-
प्रायोजकहरुले आफ्नो विज्ञापन वा अन्य प्रवर्दनात्मक कामका लागि विजयी फोटोहरु फोटोग्राफरलाई क्रेडिट दिएर एक वर्षका लागि उपयोग गर्न पाउनेछन्।
-
फोटोमा सम्पूर्ण अधिकार सहभागीको हुने भएपनि फोटो पत्रकार क्लब र क्लबका मिडिया सहयात्रीलाई प्रदर्शनी, पुनउत्पादन, लेखनलगायतका प्रयोजनका लागि उपलब्ध गराउन सकिनेछ। मिडिया सहयात्रीमा प्रकाशन, वेभ साइट र सामाजिक सञ्जाल पर्न सक्नेछन्। साथमा क्लबले शैक्षिक, प्रवर्दन, प्रचार, प्रदर्शनी र आर्काइबजस्ता प्रयोजनमा पनि फोटोग्राफरलाई क्रेडिट दिएर फोटो प्रयोग गर्न सक्नेछ।
-
सहभागिले आफ्नो फोटो फोटो पत्रकार क्लबले प्रकाशन गर्ने फोटो पुश्तकमा प्रयोग गर्ने अनुमति दिनुपर्नेछ। फोटो पत्रकार क्लबले फोटो पुश्तकमा फोटो प्रयोग गरेवापत फोटोग्राफरलाई क्रेडिट दिनेछ। त्यसबाहेक सर्बाधिकार फोटोपत्रकार क्लबमै रहनेछ।
-
जजिङ राउन्ड सकिएपछि सहभागिले प्रकाशनका लागि हाई रिजोलुसन फोटो उपलब्ध गराउनुपर्नेछ।
-
अनलाइन दर्ताका लागि २०७१ असार २३ गते मध्यरातसम्मको समयसिमा तोकिएको छ।
-
विजेता वा छनौट भएको फोटोमा कुनै किसीमको दावी वा बिरोध भएको वा आयोजक समक्ष उजुरी परेको खण्डमा आयोजकले छानबिन गरी निर्णयदिने अन्तिम अधिकार आयोजक कमिटी र कार्यक्रम संयोजकमा निहित रहने छ। यसको निर्णयनै अन्तिम हुनेछ।
विजेता फोटोको घोषणा काठमाडौंमा प्रदर्शनी उदघाटनमा दिइनेछ। साथमा फोटो पत्रकार क्लबको वेभ साइट डबलुडब्लुडबलुडटपिजेक्लबडटकमडटएनपीमा सार्वजनिक गरिनेछ।