मञ्चमा गायक तथा संगीतकार आभास छन्, उनलाई छ जना महिला गायकको समूह, चारजना पुरुष गायकको समूह, चारजना भायोलिनवादक, गिटारिस्ट सबै गरेर २४ जना संगीतकर्मीहरुले सघाइरहेका छन्।
उनी आज (बिहीबार) क्यान्टाटा प्रस्तुत गरिरहेका छन्।
नेपाली क्यान्टाटा।
गहिरो दार्शनिक भाव बोकेको यो गायन विधा नेपालीमा परिचित छैन। आभासले यो विधा नेपालीमा चिनाउँदै छन्।
क्यान्टाटा इटालियन संगीत हो। पलेँटी उत्सवको पहिलो दिन यसको नेपाली संस्करण प्रस्तुत गर्दै छन् आभास।
यसअघि २०४७ सालमा संगीतकार शान्ति ठटाल र त्यसको केही वर्षपछि अम्बर गुरुङले क्यान्टाटाको नेपाली संस्करण प्रस्तुत गरेका थिए। आभासले भने पहिलोपटक ५८ मिनेटको क्यान्टाटा मञ्चमा प्रस्तुत गर्दै छन्।
करिब १ घन्टाको क्यान्टाटाअघि पलेँटीको यो संस्करणमा आभासले आफ्ना सार्वजनिक नभएका केही बालगीत प्रस्तुत गरिसकेका छन्। सुललित भाका र गहिरो भाव भएका उनका बालगीत दर्शकहरुले रुचाइसकेका छन्।
अब क्यान्टाटाको पालो आएको छ। आभासको क्यान्टाटाअघि आफ्नो क्यान्टाटा श्रवण अनुभव केही बेर सुनाए अभि सुवेदीले। 'मैले सयौँ क्यान्टाटा सुनेको छु, जर्मन, इटालियन, कहाँकहाँका,' सुवेदीले सुनाए, 'यो बडो आनन्ददायक दार्शनिक खालको संगीत हो।' नेपाली भाषामा आभासले क्यान्टाटा प्रस्तुत गर्न लागेको भन्दै सुवेदीले खुसी प्रकट गरे।
जावलाखेलस्थित डिएभी स्कुलको हलमा भरिएका संगीतप्रेमी दर्शकहरु कान ठाडा पारेर नयाँ खालको यो संगीत सुन्न पर्खिरहेका छन्।
केही बेरमै आभासले आफूलाई दर्शकमाझ पस्कन सुरु गरेका छन्।
सुरुमा युगल समूह गाउँछ-
भीर-फूलका वासना सुँघ्दै सुँघ्दै
ओर्लन्छन् अविरल छहरा
निर्झर निर्मल
छङछङ छङछङ
गुञ्जन्छन् पाखा, गुञ्जन्छन् पहरा
अजङ्ग पत्थर खोप्दै खोप्दै
ओर्लन्छन् अविरल छहरा
निर्झर निर्मल
छङछङ छङछङ
गुञ्जन्छन् पाखा, गुञ्जन्छन् पहरा
पुरूष समूह बोल्छ-
चरीज्यान उड्छ त्यही दृश्य हेरी
एकजुनी, दुईजुनी प्वाँख फेरि फेरि
चरीको कुहु-कथामा पानी
कुहुमै अट्छ सब जिन्दगानी
पानीको बेगमा चरीको छायाँ
मान्छेको गीतमा मान्छेकै माया
युगल समूह गाउँछ फेरि-
यानीमाया, सुनीमाया सुन्दै सुन्दै
ओर्लन्छन् अविरल छहरा
निर्झर निर्मल
छङछङ छङछङ
गुञ्जन्छन् पाखा, गुञ्जन्छन् पहरा
अब नीर-चरी बोल्न सुरु गर्छ-
ए खोला !
म तेरो किनारै किनार
त्यो माथि माथि आकाश छेउ
उडी हिंड्दै खोज्छु धर्तीको कथा
विरह, वैराग, प्रितिको कथा
ए खोला !
म तेरो किनारै किनार
त्यो तल तल मैदान छेउ
उडी खेल्दै खोज्छु आकाशको कथा
सुनसान, चुपचाप, बतासको कथा
ए खोला !
अब स्त्री समूह बोल्छ-
यो रनबन चरीको बोली, सुनेर बुझ्ने को ?
उर्लँदो जोवन, छाँगाको छङ्छङ्, भनेर बुझ्ने को ?
बरिलै बरिलै
झरनाको पानी, बेसीमा पुगी, रङ्ग फेर्छ किन हो ?
सम्झँदाखेरि, मन रुन्छ फेरि, रङ्ग फेर्छ किन हो ?
पहाडी पाखा, यो मनको भाका, सुनेर बुझ्ने को ?
एक्लिँदो यौवन, त्यो तारेभीर, देखेर बुझ्ने को ?
बरिलै बरिलै
नागीको धुवाँ, आकाश पुग्दा, मेघ झैँ किन हो ?
सम्झँदाखेरि, मन रुन्छ फेरि, मेघ झैँ किन हो ?
किथ्राको किरकिर, न खुसी न पीर, सुनेर बुझ्ने को ?
मन यता वारी, तन डाँडा पारी, छोएर बुझ्ने को ?
बरिलै बरिलै
रहमा घुम्ने, पहेलो पात छ, यो मन झैँ किन हो ?
सम्झँदाखेरि, मन रुन्छ फेरि, मन घुम्छ किन हो ?
त्यो दूर देश, मनको शन्देश, पुगाउने कसले हो ?
न बतास आफ्नो, न सुबास आफ्नो, विरह बुझ्ने को ?
बरिलै बरिलै
आँखामा घुम्ने, छाया छ उही, मन कोमल किन हो ?
सम्झँदाखेरि, मन रुन्छ फेरि, मन कोमल किन हो ?
५८ मिनेटको बीचबीचमा आभासले आफ्नो संगीत सुहाउँदो कविता पनि वाचन गरेका छन्।
महिला, पुरुष, युगल समूह लगातार गाइरहेका छन्। गाइरहेका छन्।
लगातार ५८ मिनेटको क्यान्टाटा पस्केपछि आभासले ढुक्कको सास फेरेका छन्। उनको टिमले पनि ढुक्कको सास फेरेका छन्।
गीत प्रस्तुत गरिसकेपछि हलबाहिर पत्रकार केदार शर्माले आभासलाई भने, 'मीठो गाउनुभयो, यो तपाईँको मात्र परीक्षा होइन, हामी दर्शकहरुको पनि धैर्यताको परीक्षा थियो, पास भयौँ।'
करिब दुई महिना लगाएर आभासले नेपालयको पलेँटी उत्सवका लागि क्यान्टाटा तयार पारेका हुन्। क्यान्टाटाको शीर्षक थियो, नीर-चरीको कोरस।