बेलायती अन्तर्राष्ट्रिय विकास मन्त्री डेसमन्ड स्वायन बुधबारदेखि नेपालको तीन दिने भ्रमणमा छन्। गत वर्ष जुलाईमा मन्त्री नियुक्त भएयता यो उनको पहिलो भ्रमण हो।
नेपालको सबैभन्दा ठूलो वहुर्राष्ट्रिय दाता बेलायतले नेपालमा बेलायती विकास नियोग डिफिडद्वारा संचालित द्विपक्षीय कार्यक्रमको अवलोकनका निम्ति उनी आएका हुन्। भ्रमणका क्रममा मन्त्री स्वायनले अर्थमन्त्रीसँग बेलायतको नेपालका निम्ति विकास सहयोग बारे छलफल गरेका थिए।
बेलायती राजदूताबासले शुक्रबार विज्ञप्ति मार्फत् दिएको जानकारी अनुसार, आर्थिक वर्ष २०१५/१६ का लागि बेलायतले दिने १० करोड बेलायती पाउण्डबाट कस्तो उपलब्धि हासिल गर्ने भन्ने छलफलसमेत उनले गरेका थिए।
सन् २०२२ सम्ममा नेपालले अल्पविकसित मुलुकबाट विकसित मुलुकको पंक्तिमा आफूलाई उभ्याउन हासिल गर्नुपर्ने आर्थिक उपलब्धिका लागि पूर्वाधारमा लगानीका साथै नेपाली मानव संसाधनको विकासमा बेलायतले जोड दिएको छ।
निजी क्षेत्रको लगानीलाई सहयोग पुर्याउन नेपाल लगानी बोर्डसँग बैठक भएको उल्लेख गर्दै दूताबासले नेपालको जलस्रोत सम्भावनाको खोजीका निम्ति यो महत्वपूर्ण भएको उल्लेख गरेको छ। बेलायतले ग्रामीण पहुँच कार्यक्रम अन्तर्गत नेपालका गरिब र संकटग्रस्तहरूमा सहयोग पुर्याउँदै आएको छ।
डिफिडका नेपाल प्रमुख गाली मार्जेतीका अनुसार मन्त्रीले भ्रमणका क्रममा काठमाडौं र जिल्लाहरूमा संचालित केही कार्यक्रम हेर्ने अवसर पाएका थिए। मन्त्री स्वायनले गोर्खा वेलफेयर स्किममार्फत् स्याङ्जामा संचालित ग्रामीण खानेपानी तथा सफाइ कार्यक्रमको समेत अवलोकन गरेका थिए। उनले पुम्दीभुम्दीको हेल्थपोष्टको समेत अवलोकन गरी सेवा स्थानीय तहसम्म पुर्याएको छ भन्ने हेरेका थिए। उनले महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीलाई समेत भेटेका थिए।