सन् २०१४ नोभेम्बर १४ । समय बेलुका ९: ४५ बजे नयाँदिल्ली।
मरिना चौधरी रिक्सामा घर फर्कदैछिन्। उनको मोवाइल फोनबाट एकपटक धेरैलाई ‘टेक्स्ट म्यासेज’ गयो। लेखिएको थियो– ‘आइ एम इन डेन्सर, आइ नीड हेल्प!’ पाउनेले तुरुन्तै प्रहरीलाई खबर गरे। प्रहरी तीन मिनेटमा त्यहाँ पुग्यो। उनले भनिन्– म ठीक छु।
त्यो दूर्घटना थिएन एउटा सुखद् घटनामात्र थियो । भारतमा मूलतः नारी सुरक्षालाई लिएर विकास गरिएको मोवाइल ‘सेफ्टी एप्स’को परीक्षण थियो, त्यो । आफूले गरेको परीक्षण प्रयोग सफल भएकोमा उनी खुसी भइन्। उनलाई विश्वास भयो यो एप्सले काम गर्दोरहेछ।
नेपालमा नारी सुरक्षा सम्बन्धी यस्तो केही छ कि छैन? प्रहरीको सक्रियता कस्तो छ? प्रश्न आफ्नै ठाउँमा छ।
फागुन ११ गते झिसमिसै काठमाडौंमा तीन किशोरीमाथि एसिड आक्रमण भयो। बिजुली चम्केजस्तो एकैछिन्को त्यो घटनाले सीमा बस्नेत, संगीता मगर र खेमु मुखर्जीको भविष्य अन्धकार जस्तै बनायो।
सनसनी फैलाउँदै घटना सामाजिक सञ्जाल र समाचारमा फैलियो । समाचारसँगै अपराधीको खोजी र कारबाही माग गर्दे पीडित किशोरीहरुप्रति सहानुभूतिका शब्दले भरिएका व्यक्तव्य पनि फैलिन थाल । भएभरका विद्यार्थी संगठनदेखि लिएर नारीवादी र मावन अधिकार आयोगसम्मले वक्तव्य निकाले। नारा–जुलुस अझै चलिरहेछ।
प्रश्न गर्न मन लाग्यो– के यस्तो जघन्य अपराध हुदाँ पनि अपराधीको खोजी गर, कारबाही गर भनेर प्रहरीलाई सम्झाइरहनु पर्छ? नारा–जुलुस नै निकाल्नु पर्छ? अपराधीलाई कानुनको कठघरामा उभ्याउनु पर्छ भन्ने कुरा प्रहरीलाई थाह छैन? के शान्ति–सुरक्षा र अपराध उन्मुलन तथा नियन्त्रणको जिम्मेवार निकाय त्यति किंकर्तव्यविमूढ, नालायक र बेकम्मा छ? छ भने घटनैपिच्छे व्यक्तव्य र जुलुस निकालेर समाधन खोज्ने कि सम्पूर्ण प्रहरी संगठनलाई पुनर्गठन गरेर कर्तव्यनिष्ठ बनाउने?
होइन, भने प्रहरीलाई मात्रै दोष र दवाव दिएर मात्र हुँदैन । घटना कसरी घट्यो? त्यति सजिलै अपराधीको पहुँच त्यहाँ कसरी भयो? त्यति सजिलै अपराधी कसरी उम्कियो? के थियो कमजोरी? के हुनु पर्थ्यो? के नभएर यस्तो भयो? के भएको भए यस्तो हुन नसक्ने सम्भावना हुन्थ्यो?
प्रहरीले एउटा अपराधी पक्रिनु भनेको त्यो अपराधीले सजाय पाउनु हो । कानुनको पालना हुनु हो, तर अपराध रोकिनु होइन। भोलि अर्को अपराधी जन्मिन सक्छ। त्यसलाई कसरी रोक्ने? निर्मूल गर्न नसके पनि नियन्त्रण कसरी गर्ने? प्रहरीले जिम्मेवारी पूरा गर्ला तर, त्यसभन्दा महत्वपूर्ण राज्य, राज्यका निकाय र समाजको जिम्मेवारी कसले पूरा गर्ने? खै यो पक्षको उत्खनन्? यसमा दोषी कसलाई मान्ने?
वसन्तपुरमा एकबिहानै त्यो दुःखद् घटना घट्यो । तर, त्यो एकाबिहानै भनेको कति बजे हो? त्यो समय मूलतः नारी सुरक्षाका दृष्टिले एक्लैदुक्लै हिड्नु कति उपयुक्त हुन्छ? त्यो समयमा, जहाँ संवेदनशील उमेरका किशोरीहरु पढ्न जान्छन् त्यस्ता कोचिङ् सेन्टर खोल्न दिनु सुरक्षाका हिसाबले कति ठीक कति बेठीक हो? यस्ता ठाउँहरु एउटा निश्चित समयमा खोल्ने र बन्द गर्ने नियम (विजनेश आवर) अनुसार चल्नु पर्ने हो कि होइन? सुरक्षालाई ध्यानमा राखेर उपयुक्त ‘विजनेश आवर’ तोकिनु पर्ने हो कि हैन? मनपरी समयमा खोल्दा सुरक्षा निकायको रेखदेख र पहुँच हुन सक्छ कि सक्दैन? हुन सक्ने भए किन गरेन?
कुन उमेरका बालवालिका वा युवायुवतीका लागि खोलिएका कोचिङ सेन्टर हुन् ती? उमेर अनुसारको आवश्यक भौतिक, स्वास्थ्य र सुरक्षा सम्बन्धि व्यवस्था के छ? उमेर अनुसार हुन सक्ने घटना, दूर्घटना वा अपराध के के हुन सक्छन्? हुन नदिन वा न्यूनीकरण गर्न सकिने उपायहरु के के हुन सक्छन्? तिनका लागि आवश्यक पूर्वाधारहरु के के हुन पर्छ? दूर्घटना भएको खण्डमा अत्याश्यक इमरजेन्सी सेवा र सुरक्षा प्राप्त गर्न उपनाउनु पर्ने उपाय र उपकरणको उपलब्धता छ कि छैन? खै यी कुराको खोजी?
कानुनी राज्यमा कुनै पनि व्यवसाय सञ्चालन गर्नु भन्दा अगाडि सम्बन्धित निकायबाट अनुमति लिनु आवश्यक हुन्छ। काठमाडौंका अँध्यारा गल्लीका ओढार जस्ता ध्वाँसे कोठामा खोलिएका धेरै ‘भेडीगोठे’ कोचिङ् सेन्टरले पक्कै अनुमति लिएका छैनन्। नियमन नगरी मनपरी गर्ने ब्यापारको छुट दिन मिल्दैन। कोचिङ् सेन्टरका लागि आवश्यक न्यूनतम पूर्वाधार, सुरक्षा र भौतिक सुविधाबिना संचलन अनुमति दिन मिल्दैन। राज्यका नियमकहरुको कर्तव्य हो यो, आफ्नो कर्तब्य पूरा नगरेपछि सोच्दै नसोचेका समस्या आईपर्छन।
अपराधको गढ बन्न थालेको काडमाडौंको भोलि त्यही ठाउँमा अर्की सीमा, संगीता र खेमुले त्यही नियति भोग्नु पर्दैन भन्ने ‘ग्यारेन्टी’ छैन। सामान्य जिम्मेवारी राज्यका नियमक निकायले पूरा नगर्दा भोलि फेरि घटना दोहरिन सक्छन्।
बुझ्नै पर्ने हुन्छ– यी ‘किन’हरू अनुत्तरित रहेसम्म ‘कसरी’ (उपाय)ले कहिल्यै बाटो पहिल्याउँदैन्। सहानुभूतिका सस्ता पर्चाले मात्र सीमा, संगीता र खेमुहरुको स्वाभिमान माथि फेरि आक्रमण हुन्न भन्न सकिँदैन।
असुरक्षित र अव्यवस्थित यस्ता कोचिङ् सेन्टरमा अपराधीले सजिलै पहुँच बनाउन सक्ने कारणले भोलिका दिनमा अपराधीको मनोबल झन् बढ्दै जान सक्छ। बिना पूर्वाधार र न्युनतम सुरक्षाका शर्त पूरा नगरी कोचिङ भनेर व्यापार गर्न दिनु सुरक्षाका दृष्टिले कति उपयुक्त हुन्छ?
यही घटनालाई केलाउँदा के पाइन्छ भने, यदि त्यो कोचिङ् सेन्टरलाई त्यसरी मनलागि झिसमिसै खोल्न नदिएको भए सायद ती नानीहरुले त्यो दूर्भाग्य भोग्नु पर्ने थिएन। निश्चित ‘विजनेश आवर’मा सञ्चालन गर्ने हो भने दिनदहाडको उज्यालो र सुरक्षा निकायको चहलपलमा अपराधीको साहस नहुन सक्थ्यो।
यदि त्यो ठाउँमा पाले वा सुरक्षा गार्ड र सर्भिलिएन्स क्यामेराको व्यवस्था भए अपराधीको त्यो हदको जबरजस्ती सादय हुँदैनथ्यो। भए पनि अपराधीको पहिचान गर्न सजिलो हुन्थ्यो। तर त्यहाँ यी केही थिएनन्। शिक्षक समेत समयमा नआउँदाको त्यो झिसमिसे उज्यालो ती नानीहरुको जीवन डडाउने आगो भयो।
यस्ता कोचिङ सेन्टर लगायत वालवालिका तथा नारीको सहभागित हुने हरेक स्थानमा सुरक्षाका न्यूनतम उपाय र उपकरण हुनु पर्ने एक निश्चित मापदण्ड हुन जरुरी छ। विज्ञान र प्रविधिले धेरै कुरा सहज र सुलभ पनि बनाइदिएको छ। अपराध प्रतिरोधका ‘जी फ्याक्टर्स’हरु के के हुन सक्छन्? खोजी र प्रयोग गर्न ढिलो भै सकेको छ।
समस्याका जरा नखोतल्ने समाधानका लागि हाँगा छिमल्ने काम मात्र भएको छ। छिमलेको हाँगो भोलि फेरि पलाउँछ।
सुरक्षाका संवेदनशीलतालाई पटक्कै ध्यान नदिइ मनलाग्दी ठाउँ र मनपरी समयमा संचानल हुने यस्ता कोचिङ सेन्टरको कुनै मापदण्ड नहुनु, राज्यको कुनै निकायले वास्ता नगर्नुले अपराधलाई सघाइरहेको छ।
एउटा भ्रष्ट तथा अति अनुचित महात्वाकांक्षी मान्छे भन्दा पनि धरै अवसर, उपयुक्त समय र ठाउँको खोजीमा हुन्छ अपराधी । आइतबारको त्यही झिसमिसे उज्यालो अपराधीका लागि सुनौलो बिहानी भयो। यस्ता कोचिङ् सेन्टरका नाउँमा मान्छेको जिन्दगीको व्यापार गर्ने छुट किन दिएको छ राज्यले? आँखा कहिले खुल्ने?
नारीको व्यक्तिगत सुरक्षाको प्रश्न अहिले अहम् बनेको छ । अपराधीबाट बच्नका लागि व्यक्तिगत सचेतनाको पनि त्यतिकै खाँचो छ। जुनसुकै बेला जे पनि हुन सक्छ भन्ने ज्ञान परिवारले पनि दिनुपर्छ। उदाहरणका लागि यदि त्यही कोचिङ सेन्टरमा ती नानीहरु भित्रबाट ढोकाको आग्लो लगाएर बसेको भए अपराधी भित्र छिर्नै सक्दैनथ्यो होला। हवाइजहाजमा सिकाइए जस्तो सुरक्षा र सावधानीका सामान्य कुराहरुलाई यस्ता ठाउँमा अनिवार्य गर्न जरुरी छ।
नारीमाथि अपराध किन बढ्दै छ? अब पनि किन नदिने हरेक किशोरीलाई हरेक स्कुल–कलेजमा ‘सेल्फ डिफेन्स कोर्स’? कम्तिमा दुई वर्षको आत्मसुरक्षा सम्बिन्धी तालिम दिन सके छोरीले पनि आफ्नो सुरक्षा गर्न सक्छन् भन्ने कुराको सावित केही महिना अघि भारतको हरियाणामा बसभित्र घटेको घटनाले पनि गरेको छ। यात्रा गरिरहदाँ आफूलाई दूव्र्यवहार गर्ने तीन पुरुषलाई दुई दिदीबहिनी आरती र पूजाले साहसका साथ सामना गरे। ती तीन लुच्चालाई दुई दिदीबहिनीले भकुरेको अन्य यात्रुले रमाइलो मानेर हेरिरहे। उनै बहिनीले अन्तमा प्रहरीलाई जिम्मा लगाए। यो घटनाले विश्वव्यापी रुपमै चर्चा बटुल्यो । आफू स्वंय, घरपरिवार, समाज र सरकारले किन शिक्षा नलिने यस्ता उदाहरणबाट?
सेल्फ डिफेन्सले आत्मबल बढाउँछ। आफूमा कति शक्ति छ भन्ने कुरामा विश्वास गर्न सक्ने शक्ति आजका नारीमा जगाउन जरुरी छ। ‘सेल्फ डिफेन्स’ले ‘गट इन्सटिङ्ट’ (सहज ज्ञान) पनि बढाउँछ। जसले भाग्न, छेल्न, छेक्न र प्रतिरोध गर्न सिकाउँछ।
भारत लगायत कतिपय मुलुकमा नारी सुरक्षाका लागि ‘सेफ्टी एप्स’ लगायत ‘प्यापर स्प्रे’ पनि अपनाइएको पाइन्छ। स्कुल, कलेज र त्यस्ता कोचिङ सेन्टरमा मास्क, ह्याट, सनग्लास लगाएर प्रवेश गर्न निषेध पनि गरिएको छ। जसले अनुहारको भाग छेक्ने सम्भावना हुन्छ।
एसिड आक्रमण जस्ता अपराधका कारण प्रेम वा भेलेन्टाइन अथवा अरु जे देखाएर पन्छिन खोजे पनि सुरक्षाका उचित पूर्वाधार, प्रविधि र प्रवन्ध नहुनु नै मुख्य हो।
किशोरकिशोरीहरु अर्थात ‘टीन एजर’ले पनि बुझ्न जरुरी छ– प्रेमलाई नारीपुरुषको सम्बन्धसँग मात्र जोडेर हेर्नु हुदैन। यो पङ्तिकारलाई लाग्छ– जहाँ घृणा हुदैन, त्यहाँ सधैं प्रेम नै प्रेम हुन्छ । जहाँ प्रेम हुन्छ त्यहाँ मान्छे सधै सुरक्षित हुन्छ।