नेपालमा, मुख्यत: काठमाडौँमा, उच्च भूकम्पीय जोखिमका कारणले यहाँ ठूलो भूकम्प जुन सुकै दिन जान सक्ने सम्भावनाको ज्ञान आम मानिसलाई थियो।
तर हामीले यस सम्भावनाको पूर्वानुमान सावधानीको साटो ‘जे पर्छ, त्यो टर्छ’ को मनोवृत्तिमा परिवर्तन गर्यौ। एक वर्षअघि मात्र टेकुको सवारी चाप खप्न परेको आक्रोसमा एकजना मेरो छेउकै मोटरसाइकल चालकले फ्याट्टै, ‘अब यहाँ एउटा भूइँचालो जानुपर्छ, अनि बल्ल यी सब मान्छे आ-आफ्नो घर (गाउँ) फर्किन्छन्।
मान्छेले भीड गरेर जताततै भन्न भ्याएका थिए। तपाई-हामीले पनि एक-आध बखत त्यस्तो भनेका थियौं होला। हो, सहर अस्त-ब्यस्त भएको थियो, पूर्वाधार बलियो नहुँदै अनियन्त्रित घर तथा सवारी साधन बढेका थिए, तर यस परिस्थितिको उत्तर ती व्यक्तिले भनेजस्तो भूकम्प होइन रहेछ भन्ने अहिले हामी प्रत्यक्ष्य भोगाई पछि भनिरहेका छौं।
अहिले आएर थाह भयो, त्यसो भन्नु कत्रो अज्ञानता र अनविज्ञता रहेछ। सिधा कुरा गर्दा, नमारी स्वर्ग नदेखिने रहेछ। भूइँचालो पक्कै पनि नबोलाएको पाहुना थियो, तर अकल्पनित भने थिएन। एकदमै थोरै मात्र पूर्वतयारी गरिएकोले यसपालीको भूइचालोले हाम्रो धेरै कुरा हल्लाएर गएको छ: मन, घर-आँगन, परिस्थिति, भूगोल, अर्थतन्त्र, राजनीति इत्यादि।
तर यसैबीच हामीलाई मानवता, सहिष्णुता लगायत ज्ञान-बिज्ञान, सहरीकरण, पूर्वाधार विकासका धेरै कुरा सिकाएको छ। विज्ञान प्रविधिको उपयोगिता अझ छर्लङ पनि यसैपाली भयो।
सामाजिक संजालको उपयोगिताको कुरा गर्दा धेरैको लागि यो मुख्यतः सहयोग आह्वान र समायोजन गर्ने थलो बन्यो। यसले कतिलाई अस्पताल पुर्यायो, कतिलाई एक बोरा चामल खुवायो, केहीको ज्यान पनि जोगायो। कैयनलाई सूचना पुर्याएको, घर-छर-छिमेकको खबर पुर्याएको, कैयनलाई हौसाएको कथा त बेग्लै छँदैछ।
तर मलाई खड्केको कुरो चाहिँ कतिपय अवस्थामा भएको सामाजिक संजालको दुरुपयोग हो। मनन योग्य के रह्यो भने, यस्ता विश्वब्यापी पहुँच रहेका सञ्जालहरूमा भ्रामक सूचना/समाचार/खबर फैलिन कत्ति पनि बेर लाग्दो रहेनछ र यस्ता खबरले मान्छेलाई क्षणभरमै उत्तेजित र निस्तेजित पार्दोरहेछ।
यस्ता समाचारले आनाहकमा मान्छे त्रसित हुनेदेखि आधारहिन कुराहरुलाई मान्छेले सत्य भन्ने जस्ता गलत परिपाटी बस्यो। यस्तो परिस्थितिमा हामी प्रत्येक सामाजिक सञ्जाल प्रयोग कर्ताको के जिम्मेवारी हुन्छ त्यो बुझ्नु जरूरी हुन्छ। कृपया कुनै पनि कुरा प्रसारित वा सेयर गर्नु पूर्व त्यो कुरा सत्य हो-होइन आफै बुझ्ने प्रयास गर्नुहोला।
त्यो समाचार अन्त प्रसारित भए-नभएको, त्यसको सत्यतामा यहाँ आफूलाई नै विश्वास लागे-नलागेको, र यदी नलागेको भए आफूले प्रसारित वा सेयर गर्नु पूर्व उचित प्रश्न आधिकारिक व्यक्तिलाई सोध्ने बानी बसालौं।
जुन कुरा प्रसारित वा सेयर गर्दै छौ त्यसको प्रयोजनको हेक्का पनि राख्नुहोला। बिबिसीको नाम जोडेर सामाजिक संजालमा जति त्रास फैलाउने काम भयो, त्यसो हुनु हाम्रो लागि एकदम लज्जाको बिषय हो।
फूटबलर रोनाल्डोले करोडौं रुपैयाँ दान गरेको कुरा पनि त्यस्तै निराधार हल्ला मात्र भयो। सलमान खान र अक्षय कुमार पनि वाहियात हल्लामा मुसिन पुगे र हामी यीनै आधारहीन समाचारको आडमा एकदमै असंयमित पारामा यस बिषयमा कुरा अघि बढ्यौ।
त्यस्तै अन्य समय र स्थानका फोटो र भिडियोहरु निर्लज्ज अहिलेको बेलाको नेपालको भनेर प्रसारित भए । यसबाट हाम्रो ज्ञान सतही रहेको कुरा प्रस्टिन गयो।
हामीले यस्ता गहन कुरामा सजिलै विश्वास गर्नुभन्दा खुद आफू पनि अध्ययन र मनन गर्ने गरेमा गलत कुराको खण्डन मात्र होइन, अरूलाई पनि सही सूचना दिन सक्ने थियौं।
त्यस्तै मन खल्लो बनाउने अर्को कुरा पीडित व्यक्तिका दर्दनाक फोटोहरु उनीहरु वा आफन्तको स्वीकृति बिनै यत्र-तत्र आए।
कतिपय राहत बाँड्न गएकाहरुले आफ्नो अनावश्यक मुस्कानसहितका फोटोहरु लिएर आए र सामाजिक संजाल भरि छरपस्ट पारे। अर्को, धेरैलाई चित्त नबुझेको सेल्फीको त प्रसङ्ग नै नउठाऊँ।
हामीले भारतीय संचार माध्यमको आलोचना जुन कारणको लागि गरेका थियौं, हामी आफै सोहि काम गर्दै थियौं र छौं।
यस गल्तिको महसुस गरि अब आफ्नो आत्मालोचना गरेर हामीले भूल कहिले सुधार्ने?
सामाजिक संजाल प्रयोग गर्दा प्रयोगकर्ताको आफ्नो दयित्व हुन्छ जुन उसले संजालको मर्यादा, काईदा र अनुशाषण पालन गर्दै पूरा गर्नुपर्छ। देश शोकमा रहेको बेला तपाईले आफ्ना घुमाई-फिराईका,उल्लासका, मनोरंजनका र अन्य यस्ता फोटोहरु जति सक्नुहुन्छ उति थोरै मात्र सेयर गर्नु भएमा पिडित परिवार र देशको अवस्थाप्रति तपाईको सम्मान र सदभाव देखिने थियो।
स्मरण रहोस्, यस्तै सदभावहरु एकीकृत भएर नै समग्र देशले नै प्रतिकूल परिस्थितिको सामना गर्ने ऊर्जा र सहयोग प्राप्त गर्ने हो। अहिलेको अवस्थामा देशको पीडा आफूले पनि साँचै महसुस् गर्नुदेश प्रतिको मायाको प्रमाण पनि हो। त्यसैले तपाईलाई जुन कुराको आधार र सत्यता माथि विश्वास छ र जुन कुराले अरूहरुको मानहानी हुँदैन वा अधिकारमा खलल पर्दैन, कृपया त्यो कुरा मात्र प्रसारित वा सेयर गरौं।
‘खोइ मैले त देखेर राखिदेको मात्र हो, के हो मलाई थाह छैन’ भन्नुपूर्व आफू पनि निराधार समाचारले पिरोलिएको बखत सम्झिनु भएदेखि अरुहरुलाई ठूलो गुण लगाउनुहुनेछ।