‘ट्वान्टी फोर अवारस ओपेन’ लेखेको डिजिटल बोर्डमा मेरो आँखा छ। जसको ठीकमुनि ढोकामा मुल्यसूचीको फाइल छ।
बियरको मूल्य याद गरेँ। छिरेँ बियर बारको टप फ्लोरमा। जहाँबाट सहरको रंगिन प्रकाश कामुक देखिन्छ। भूँईका मानिसहरु उचाइ घटेर केही पुड्का भएका छन्। सडकमा मोटरको गतिले हतार टिपेर हिँडेको छ। मे महिना भए पनि सिउलको छाती टेकेर बग्ने हान नदीको चिसो बोकेर हिँड्न बतासले बिर्सिसकेको छैन।
रातको एक बजेको छ। सिंगो फ्लोरमा दुइ जोडी छन्। जसको हर्कतले काउकुतिएको छु।
बार मालिकले पाँचसय मिलिलिटरको बियर मग टक्रयायो। र, एटा चिरकटो बिल। नेपालको वेएटरले जस्तो अरु केही खाने कि भनेर सोधेन। नसोधेकोमा गुनासो गरिनँ।
मग निथ्राएँ। बेल थिचेँ। हातको इसाराले फेरि मग भर्न भनेँ।
बारमालिक सुपर हतारमा कुद्यो। मानौँ ढिलो गर्नु अपराध हो।
अगाडिका दुई जोडी आ–आफ्नो मुखको चुच्चो एक अर्कासँग जोड्दैछन्। अब उनीहरु मान्छेबाट चरा जस्ता देखिए। दुइ कुमबाट लत्रेको हात, पखेटा जस्तो देखियो। मानौँ एउटा सुन्दर स्वतन्त्रताको अन्तिम उपभोक्ता हुन।
सासले आफ्नो रिदम गुमायो।
एकछिनमा ती जोडी उठेर हिँडे। हल्ला सुनसान भयो। सडकको हल्ला सिँडी उक्लेर हयँसम्म आउने हिम्मत गरेन।
छ्या! एक्लै नि के पिउनु?
‘म कुनै सुपर जँडिया हूँ?’ आफैंलाई सोधेँ।
‘जँडिया होइन। पिउने साथी नखोजेको मात्र हूँ।’ आफैंले उत्तर थाहा पाएँ।
बेल थिचेँ। बार मालिक उस्तै हतारमा आयो।
मग भर्याे। आफ्नै गतिमा फर्कियो।
बिस मिनेटपछि बिना बेल बारमालिक देखियो।
माफी माग्दै आफ्नो मोबाइलको स्किन देखाउँदै केहि पढ्न भन्यो। जस्मा एकातिर कोरियन र अर्काे तिर गुगलले अनुबाद गरिदिइएको पुरै कटमेरो अंग्रेजी थियो।
मेरो लागि अंग्रेजी जरुरी थिएन। कोरियन बुज्थेँ। जसको नेपाली अर्थ यस्तो हुन्थ्यो –’प्रिय पाहुना! अब बन्द हुने समय भयो। कृपया यहाँबाट निस्किदिनु होला।’
अलिक कडा स्वरमा कोरियन भाषमा कराएँ, ’चौबिस घण्टा खुल्ने भनेर किन लेख्यौ? बिहान छ बजेसम्म बियर पिउँछु।’
अलिक टाउको निहुराएर कोरियन भाषामा माफी माग्दै भन्यो, ’आज चौबिस घण्टा खुल्दैन। त्यसैले तपाईंले निस्कनु पर्छ।’
अघि अंग्रेजीमा माफी माग्दा किन टाउको निहुराएन? मलाइ यस्ता कुरामा अल्झिँदा बडो मज्जा लाग्छ। एकछिन यसैमा अल्झेर आनन्द लिएँ।
बिल तिरेँ।
आफ्नो संस्कार अनुसार राम्ररी जानुहोस भन्यो।
आजको यो दोस्रो लोदर हो।
यो भन्दा अघि चाइनिज रेस्टुरामा वियर पिउने ध्येयले छिरेको थिएँ।
चाइनिज मालिकले बियर मात्र बेच्दिनँ भन्यो।
अक्टुपसको खुट्टासँग एक क्यान पिएँ। हिमाली देशमा उत्पती भएको मनुवालाइ अक्टुपसको भर्जिन स्वाद पचेन। जिब्रोले बहिष्कार हान्दियो।
खासमा म खसीको सेकुवा खान आएको हूँ। झन्डै चार सय किलोमिटर टाढाबाट। यो सिउलको तुंदेमुन हो। जहाँ मेट्रोको गहिरो स्टेशनमा नेपाली छाडा शब्द बक्दै हिँडेका तन्नेरी झुन्ड भेटिन्छन्। कान पवित्र/अपवित्र हुन्छ। म बसेको ठाउँमा नेपाली भेटेको छैन। यसरी नेपालीमा छाडा शब्द सुन्दा न्यास्रो मेटिन्छ। तर कसैसँग बोल्न उचित ठानिनँ।
अचानक मलाइ जिन्जुबाट सेउल आउन मन लागेपछि राती दश बजे सेउल आइपुगेको हूँ।
बसपार्कबाट एक घण्टा मेट्रो चढँे। तुंदेमुन उत्रन मनलाग्यो। हिँड्न त म सुहान हिँडेको थिएँ।
तुंदेमुनमा केही नेपाली मार्ट र होटलहरु छन्। तर, कता छन् ! थहा छैन। एक घण्टा टाउको उचालेर हिँडें। कतै नेपाली नाम भेटिनँ। कुनै नेपाली टाउकालाई सोधेको भए पनि हुने थियो। सोधिनँ। सोधेर पत्तालाउन मन लागेन। भेटे खाने नभेटे अरु कुनै रेस्टुराँ छँदै छ। यही सोचमा चाइनिज रेस्टुराँ छिरेको हूँ। जहाँ अक्टुपसको नमिठो स्वाद खान जुरेको रहेछ।
***
चौबिस घण्टे बार मालिकले निकालिदिए पछि छङ्गेछन किनारामा पुगेँ। यो नदीले बाग्मतीको अनुहार बोकेको छ। उस्तै रुप र आकारमा ओरालो बगेको छ। उत्पतिको काथा उही छ। बग्ने शैली र हिँड्ने बाटो उस्तै छ।
सहरको बीचबाट बगेको यो नदी सहरको सभ्यता हो। सहरको ऐना हो। बाग्मती जस्तो फोहर छैन। बग्रेल्ति मानिस पानीमा पैतला चोवलेर बसेका छन्। सङ्लो पानीमा माछाहरु सल्बलाएका छन्। माछाहरु मान्छेका पैतलामा हिर्काउँदै हिँड्छन्। रंगिन बत्ति पानीमा खसेको छ। एकरती धमिलो र फोहोर छैन।
अञ्जुलीमा पानी उठाएँ। मनमा बाग्मती सम्झेँ। मनको बाग्मतीले सिकसिको लगायो। यसरी हातमा बाग्मती उठाउने दिन कहिले अउला? रातभरी नदी किनारामा बसेर रमाउने दिन कहिले आउला?
नदीको किनारामा पानीको विचित्र फोहोरा छ जसको आकार हेर्न उज्यालो पर्खनु पर्ने छ। अहिले फोहोराको सुत्ने पालोे ।
यो नदीको पुख्र्यौली अनुहार वर्तमान बाग्मतीसँग मिल्छ। सन् १९५० देखी ५३ सम्मको देश टुक्रिने युद्धबाट ज्यान जोगाउन सिउल बसाईं सर्नेहरुको ओइरो लाग्यो। त्यसबेला मान्छेहरुको सभ्यता सोच र शैली अहिलेको वर्तमान काठमाडौंको जस्तै थियो। बिस्टा बिर्सजनकोे पाइप नदीमा मिसाइन्थ्यो। ’म एकजनाले फोहोर मिसाएर के हुन्छ र? अरुले नमिसाए त सफा भइहाल्छ नि!’ भन्ने सोच सबैको थियो। जस्तो अहिले काठमाडौंमा हाम्रो छ।
सरकार एक पाइला अघि सोच्थ्यो। नदीलाइ जमिनमुनि गाडेर माथिबाट मोटर कुदाइदियो। हेर्दाहेर्दै छङ्गेछन सिउलको छातीबाट गायब भयो। एउटा आदिम अनुहारको अवसान भयो।
२००३ मा यसलाई उत्खनन् गरियो। पार्क बनाइयो। बस्ती हटाइयो। अहिले मध्यराती मलाई कुतकुत्यउँदै बगेको छ। खुट्टा चोवलेर बसेको छु। कानले पानीको कुलकुल संगीत टिपेको छ। मष्तिस्कले काठमाडौं बस्ने प्रेमिका सम्झेको छ।
कल्पेँ –एकदिन बाग्मती पनि यति नै सफा हुने छ। म रातभर यसरी नै बस्ने छु। पैतलामा माछाको स्पर्श लिनेछु। त्यसदिन सारा डर र असुरक्षाको अन्त्य हुनेछ। चोरहरु इलम गरी खानेछन्। धनी हुनेछन। चोर्न छाड्नेछन। अपराधीहरु साधु बन्नेछन्। म यसैगरी बिना डरत्रास ढुक्क भएर नदी किनारमा बस्ने छु। पानीको संगीत सुन्ने छु। प्रेमिकालाई सँगै बोलाउन बिर्सने छैन।
बिहानको तीन बजेको छ।
छेउमा एउटा कोरियन अधवैँसे काखमा कुकुर च्यापरे बसेको छ। पैताला पानीमा छ। मुन्टो आकासतिर फर्काएको छ।
यो मान्छे अहिले के सोच्दै छ? काम के गर्दाे हो? के खाँदो हो? यसले कुकुरलाई कति प्रेम गर्छ? यो कुकुरको सोखिन माथि अल्झन मनलाग्यो। अल्झेँ।
हातमा क्यामेरा खेलाउँदै छु।
कोरियनले मुन्टो मतिर बटार्याे।
–’कहाँबाट आएका हौ ?’ अचानक उसको बोली फुट्यो।
–’नेपाल !’
लामो सास तान्यो।
–’नेपाल ! जिजिन ! ( भूँइचालो )’
–’एस ! एस !’ मैले हतार हतार हो हो भनेँ।
–’म नेपाल घुम्न गएको थिएँ। मलाइ नेपाल मनपर्छ। भूँइचालो आउने दिनै फर्केको हुँ। आकासमा उडेपछि जमिन हल्लियो।’ बाचेँ भन्ने भाबमा बोल्यो।
’ए होर ! भाग्यमानी रहेछौ।’
’म त्यहाँ भएको भए मर्थेँ’।
’तिमी जिवित हुनसक्थ्यौ। कसरी मर्न सक्थ्यौ ? नेपालमा भएका सबै मान्छे मरेका छन् र?’
’हैन म मर्न सक्थेँ। भूँईचालोले नमरे पनि डरले मर्थें। मेरो मुटु कम्जोर छ।’
’अभागी !’ नेपालीमा भनेँ। उसले बुझेन।
’तिमीलाई नेपाल कस्तो लाग्यो?’
’हिमाल मनपराउँछु। काठमाडौं पनि मनपर्छ। पशुपति धैरै मनपर्छ।’
’तिमी हिन्दु हौ ?’
’हैन। बुद्धिस्ट हूँ।’
’त्यसो भए तिमीलाइ लुम्बिनी मनपर्नु पर्ने। किन पशुपति मनपर्यो?’
पशुपतिमा लाइभ मृत्यु देख्न पाइन्छ।’
कृतिम हाँसो निर्माण गर्दै भनेँ –’त्यहाँ त रेकर्डेड मृत्यु ल्याइन्छ। लाइभ हैन।’
’लाइभ मृत्यु त तिम्रो देशमा देखिन्छ।’ मैले उसलाई उसकै देशको मृत्यु सम्झाएँ।
थोरै हास्योँ। लगतै नबुझेको भावमा भन्यो –’कहाँ?’
’अस्पतालमा !’ मैले भनेँ
’तिम्रो देशमा अस्पतालमा मान्छै मर्दैनन्?’ उसले सोध्यो।
’अस्पतालामा मर्ने इच्छा गर्दैनन्। त्यसैले अस्पताल, घरभन्दा अलिक टाडाटाडा राखिन्छ। धेरैले अस्पतालमा मर्ने भाग्य पाउँदैनन्।’
’कुरो बुझेन क्यार !’
काखे कुकुरको थुतुनो मेरो मुखतिर फर्काउँदै भन्यो –’पशुपतिमा लास पोलेको मनपर्छ। रमाइलो हुन्छ। खुब इन्जोइ गर्छुु।’
’गन्ध पनि मन पर्छ ?’ मैले सोधेँ।
केही सम्झन खोज्दै भन्यो। ’मासुको गन्ध आउँछ !’
’साङगेपसालको ?’ (सुँघुरको सेकुवा) मैले सोधेँ।
बोलेन। तर हो भन्ने भावमा अनुहारको रंग बदल्यो।
मैले पनि एकैपल्ट सेकुवा र लास पोल्दा निस्कने गन्ध सम्झेँ।
चाँडै भेजिटेरियन हुने योजनामा उठेर हिडेँ।
पन्ध्र मिनेट पैदल हिँडे पछि बिहानको साढे चार बज्यो।
पेटले बिर्सिको भात सम्झियो।
चौबिस घण्टे जाप्निज रेस्टुराँ छिरेँ। मधुरो पप बजेको छ।
कस्तो नसुहाएको पपलाई मधुरो कमजोर अवाज!
भित्तामा मार्लिन मुनरोको हावामा कावा खाइरहेको सेतो स्कट फुरफुर गरिरहेको छ। कोरियाको जापानीज रेस्टुराँमा कसरी आइ मार्लिन? वा मिल्छ मार्लिन र मेरो भाते स्वाद।
खिम फाप मगाएँ। जापानीज साहुनी मेरो माग सम्झँदै भान्सामा छिरी।
जवानमा मार्लिनको फ्यान थेँ। बिग फ्यान ! यो स्कुले बैँसको समय हो। नयाँ वर्षको बेला साथीहरुलाई पोस्टकार्डमा शुभकामना लेखेर दिने चलन थियो। त्यही चलनको लागि पोस्टकार्ड किन्दा मार्लिनसँग भेट भएको हो।
मार्लिनको पोस्टकार्ड किनेँ। अक्षर लेख्न माया लाग्यो। फोटोमा यस्तो अदभुत सुन्दरी मैले देखेको थिइनँ। सिरानेमुनि राखेँ। सपनामा कयौं दिन मार्लिन मेरो सिराने मुनीको फोटो माग्न आएकी छे। मैले स–सम्मान कुर्सीमा राखेर उसको तारिफ गरेको छु।
मार्लिन डार्लिङ् त म जन्मनु भन्दा धेरै वर्ष पहिले स्वर्ग हिँडि सकिछिन्। कलेज पढ्दाताका उनको मृत्युबारे चाल पाएँ। एक तमासको दुःख लाग्यो। कलेजका आदिउँदी दिनसम्म मर्लिको फोटो सिरानेबाट हटाइनँ।
मृत्यु गलत ठाउँमा प्रयोग भए जस्तो लाग्यो। मलाई लाग्दैन थियो सुन्दर मान्छेहरु मर्छन् भनेर।
सबै भन्दा धेरै गुगलमा मार्लिन सर्च गरेको छु।
‘मार्लिन! तिम्रो युगमा म जन्मन भ्याएको भए। मेरा सारा सपनालाइ डिलिट गरेर तिमीसँग बसेर एक प्याग पिउने सपना मात्र सेभ गर्ने थिएँ।’
म अभागी। तिम्रो युगमा जन्मन भ्याइनँ।
बार माल्किनीले टेबलमा खिम फापका डल्ला राखेर गई। मार्लिनलाई सम्झँदै खाइसकेँ।
होटलबाट बाहिर निस्केँ। बाहिर मान्छेहरु कम भएका छन्। उज्यालो भए पछि एकाएक मानिसहरु हराएँ। आँखाले भ्याए जति सहर सुनसान देखियो।
थाहा पाएँ सहरको रात्रिकालिन् सुन्दरतामा रमाउने म मात्र एक्लो रहेनछु।
आइतबारको दिन हो। मलाई काममा जाने हतार छैन। एउटा बन्द फुड स्टलको बाहिर उभिएको चियरमा बसेँ। अर्को चयिरमा मेरै जस्तो अनुहार बोकेर एउटा अर्धबैंसे रक्सीले मातेको टाउको थामेर बसेको छ।
मसँग लाइटर माग्यो।
छैन भन्ने संकेतमा दुवै हात क्रस गरेँ।
सामुन्नेको मार्टबाट लाइटर किनेर ल्यायो। म तिर चुरोट लम्कायो। खादिनँ भन्ने संकेत गरेँ।
फिस्स हाँस्यो। उल्टो फर्कियो।
नेपालमा खैनी मागेर खाने साथीहरु सम्झेँ। लाइटर नभेटेपछि छिमेकीको मुखमा पुतपुताइ रहेको चुरोट मागेर आफ्नो चुरोट सल्काउने लतिहरु सम्झेँ।
बिहान छ बजे मेरा आँखा गोल्भेडा भए। आँखामा कसैले सियो रोपेर भागेको जस्तो भएको छ।
टाउको आफ्नो गति भन्दा बाहिर हिँडेको छ। रातभर हिँडेँ। अहिले सहिनसक्नु गरी शून्य भएको छु। सडक बत्तिहरुले आफ्नो डिउटी सकुसल पुरा गरेर निभेकाछन् र घामलाई आफ्नो उज्यालो छाडिदिएका छन्।
मैले पनि आजको दिन बिसाउनु पर्छ।
‘म बिरामी हूँ कि ठीक हूँ?’
‘हैन म ठीक छु। ठिक नभएको मान्छे यसरी रातभर हिँड्दैन।’ आफूलाई ठीक भएको प्रमाणित गरेँ।
फ्रेस हुने बाहानामा पानीमा चोवलिन मनलाग्यो। सावना छिरेँ
जहाँ चालिस पैंतालिस जना एउटा नाङ्को संसार सृजना गरेर तातो पानीको पोखरीमा डुबुल्की मारिरहेका छन्। कोही बाफमा नुहाइरहेका छन्।
एउटा छेउमा चिसो पानीको फोहोरायुक्त पोखरी छ।
म हुत्तिँदै चिसो पानीको फोहोरामा पसेँ। सवाना बाफमा चिसो पानीको फोहोरामा चोबलिनु कुनै आनन्द होइन। यो स्वादको लागि मानिस यहाँसम्म आउने दुःख गर्दैनन्।
एउटा नांगो सुन्दर स्वतन्त्रता। सभ्यता भनेको के हो? मान्छेले किन कपडाको उत्पादन गर्याे। किन नांगो हिडेन?
कुनै व्यापारीले कपडाको उत्पादन गर्नु अघि केहि अंगलाई लाजको सूचीमा राख्यो। र, आफ्नो रणनीति बनायो। त्यसपछि कपडाको बलियो मार्केटिंग गर्यो। उसले कपडालाई सभ्यताको विम्ब बनायो। यसरी कपडाको बिस्तार भयो।
बाह्र वर्ष पहिले खूब माक्र्सवाद पढ्थेँ। माओको फ्यान थेँ। मार्लिनसँगै माओको फोटो पनि सिरानेमा हुन्थ्यो।
माओले कयौँपल्ट मेरो आँखा छलेर मर्लिनलाई अँगालो हाल्यो होला ! अहिले म सोच्दै छु।
व्यापरीले यसरी बनाउने रणनीतिलाई मलै पुँजीवाद हो भन्ने बुझेको थेँ।
‘द जोइ ट्रिप’ डकुमेन्ट्रि हेरेको अस्तिको साँझ हो। त्यहाँ आजसम्म कपडाको व्यापर भर्जिन छ। कुनै व्यापारीले त्यो बजार पत्ता लगाउन सकेका छैनन्।
महिला, पुरुष, केटाकेटी सबै एकै ठाउमा नांगै बस्छन्। कपडा बहिस्कार छ। त्यहाँ लाज छैन। इष्र्या छैन। डाहा छैन। महिलाहरु पुरुषबाट असुरक्षित छैनन्। त्यहाँ बलत्कार हुँदैन। पुरुषले महिला माथि कुदृष्टी लाउँदैन।
यौनिक अंग सन्तान उत्पादनका लागि मात्र उपभोग गरिन्छ।
***
दश बजे बिहान सावानाबाट बाहिर निस्केँ।
अब आफ्नै दैनिकीमा फर्कनु छ। पर्सि खान भोलि काम गर्नु पर्छ। हिजो रातभरी हिँड्न र खान दिनभरी काम गरेको छु। जिन्दगी आउट अफ ट्र्याक भएर कति घण्टा बाँच्न सकिन्छ र? मलाई अहिले हतार छ जिन्दगीतिर फर्कन। म जिन्दगी तिर फर्कँदै छु।