Star Nath (स्टार नाथ) सेन्ट यू फ्रेण्ड रिकोइस्ट । Star Nath? फ्रेण्ड दुई जना चितवन समाज र राजेश हमाल toit! यसो प्रोफाइल फोटो हेरेको मान्छेको त कुनै फोटो भेटिएन। तर, एउटा मुखसुख कुच्चाएर डिच्च दाँत देखाउँदै गरेको एउटा बालकको फोटो चाहिँ देखेँ। त्यही फोटोमा लेखिएको थियो, ‘रूपियाँ र उपियाँ उस्तै उस्तै हो, उपियाँ समाउँनै गाह्रो, रूपियाँ कमाउनै गाह्रो, फुत्की हाल्छ गाँठे।
हरे शिव! कस्ता कस्ताले साथी बन्न अनुरोध गर्छ भन्दै मैले वास्तै गरिनँ, तर स्टारनाथले त दिनदिनै म्यासेज गर्न पो थाल्छ बा। कहिले don’t think of yourself as an ugly person, think of yourself as a beautiful monkeni re...
कहिले तिम्रो फिगरररररररररररर.....मायालु जम्बो कोकाकोला रे। यति मात्रै हो र अरू कति हो कति, के के लेखेको हो के के। विस्तारै म्यूचल फ्रेण्डहरु पनि बढ्दै थियो। यसको मतलब कोही मान्छेले पुरानो एकाउन्ट बन्द गरेर भर्खरै नयाँ एकाउन्ट खोलेको हुनसक्थ्यो, एउटा अनुमान नि।
एकदिन त अति भयो फेरि दुई सुईखुट्टेहरू गोलि सिसाको ए...., गोलि सिसाको भूकम्प तिमी आउनै छोड्यौ किन रिसाको भन्दै नाँचेको फोटो पो पठाउँछ। हाउ फन्नि,गो टु हेल भनेर मैले पनि एउटा म्यासेज पठाए।
+186................. सिधैँ नम्बर दिएर नर्कबाट तिमीसँग भाइबरमा कुरा गर्छु नि है, बरू तिम्रो पनि नम्बर पठाउन है रे।
चिन्नु नि जान्नु खै के के... भने झैँ म पनि आफ्नो कामतिर नै व्यस्त भएँ। एक हप्ता जति भइसकेको थियो म्यासेज नआएको। जे होस् बेला बेलामा जोक्स्हरु चाहिँ पठाइरहेको हुन्थ्यो। जति रिसाएको देखाए पनि म्यासेजले मूड चाहिँ बडो फ्रेस्र बनाउँथ्यो।
नराम्रो र अश्लील त्यस्तो कुरा पनि केही लेखेको थिएन। साथीत्वको अनुरोध र म्यासेजको रिप्लाइ नगरेर कडा स्वभावको जानकारी दिएको नै थिएँ। तर, सिधैँ ब्लक् गर्न पनि मन लागेन आखिर कोकोनट मन नै त पर्यो।
धेरै दिनपछि अस्तिको हप्ता एउटा म्यासेज आयो। स्टार नाथ सेण्ड यू म्यासेज रे। हेर्न चाहिँ मन लागिसकेको थियो तर ह्या उत्तिन्नैखेर्र सिन’ भएको देखाएर के भाउ दिने जस्तो लाग्यो।
मनमा खुलदुली हुँदा हुदैँ पनि म्यासेज आएको पाँच घण्टा पछि हेरिदिएँ। ‘अहिलेसम्म मेरो फेण्ड रिकोइस्ट एसेप्ट नगरेर, म्यासेज रिप्लाइ नगरेर के भाउ खोज्छौ सूर्यमुखी तिमीलाई मैले एसएलसीमा पोइन्ट पाँचले भए पनि जितेकै हो क्या रे।’
ओहो! बडो इन्टरेस्टिङ पो म्यासेज आएको रहेछ। के भाउ खोज्छौ सूर्यमुखी तिमीलाई मैले एसएलसीमा पोइन्ट पाँचले भए पनि जितेकै हो क्या रे..... पो भन्छ त स्टार मोरोले। मेरो पुरानो नाम सूर्यमुखी भनेर स्कूलको साथीहरू अथवा गाँउलेहरुलाई मात्रै थाहा थियो। पक्कै पनि चिनेको हुनुपर्छ भनेर हत्तनपत्त म्यूचल फेण्ड खोतलेको त म्यूचल फ्रेण्ड त ८० भइसकेछ र पचास जना भन्दामाथि त चिनेकै मेरो दश कक्षाका सथीहरु सीता, सरिता, उमा, शर्मिला, सौरभ, कमल,रमेश, चित्रनाथ, रोज कुमार इत्यादि।
बल्ल मेरो दिमागमा क्लिक भयो कि मलाई एसएलसीमा पोइन्ट पाँचले जित्ने त मेरो स्कूल पढ्दाको साथी तारानाथ पो हो भनेर ।अहिले तारानाथ त अमेरिका पुगेर स्टारनाथ भएछ।
कति हाँस्नु मैले ओहो तारा तिमी त स्टार पो भएछौ भनेर म्यासेज गर्दा नौँ कक्षामै तारा टु स्टार हुन्थे नि तैँले गर्नु गरिस्। सौतानी साथी भने बेइज्जत गरिस् भनेर सदाझैँ एउटा झटारो हानिहाल्यो। धेरै वर्षपछि पनि हामी कुकुर विरालो जस्तै पुरानो कुरा सम्झदैँ झगडा गर्न छोडेनौँ।
स्टारः तेरो थोपडा हेर्दा त ब्वाइफ्रेण्ड बनाउँला जस्तो थिइनस्। कसरी फसाइस् हो?
मः तँ दनुवारको भन्दा त राम्रै थियो है। अनि कसरी थाहा पाइस् त मेरो ब्वाइफ्रेण्ड छ भनेर?
स्टारः खुब टाँसिएर मुख चुच्चो बनाएर फोटो राखेको छस् नि, माइ लभ भन्दै। नौटङ्की।
मः ओइ बढी नबोल है। कसलाई नौटङ्की भन्छस्। अहिले फेरि नउम्रेको जुघाँ पनि ओखलिदिन्छु। अनि खुचुम्म। हाहाहाहाहा
स्टारः तँ फ्याउरी, तेरो खरायोको जस्तो दाँत ओखलिदिन्छु। विचरा तेरो पीडित ब्वाइफ्रेण्ड।
मः तँलाई रिस लाग्यो। स्कूल पढ्दा त मनमनै खुब मलाई मन पराउँथिइस् रे नि। पछि गोप्य स्रोतबाट थाहा पाएको।
स्टारः एस्क्युज मि। के रे के भनिस् रे। संसारमा अरु राम्रा केटी मरेका थिए र तँलाई मन पराउन। बरु तैले चाहिँ मलाई मन पराउँथिस् रे मैले थाहा पाएको। मैले भाउ दिइन अनि बल्ल अहिले ब्वाइफ्रेण्ड बनाइछस्।
मः तँलाई व्यार्थै फोन गरेको। जेपिटि नबोल है म त घरमा भनिदिन्छु। जा तँसँग अब बोल्दिनँ। अब तेरो नम्बर बल्क् गरिदिन्छु । टु...टु....टु
***
तारानाथ र ममा सानैदेखि पढाइमा मात्रै होइन कि स्कूलको अतिरिक्त कुराहरुमा पनि धेरै नै कम्पिटिसन हुन्थ्यो। जाँचमा कहिले मैले उसलाई एक नम्बरले जित्थे त कहिले उसले मलाई एक नम्बरले जित्थ्यो। ताराले एक नम्बरले जित्यो भने म दुई दिनसम्म रोइरहन्थे र मैले जिते भने पनि तारा रोएको रोएै गर्थ्यो। हामी पढ्नमा राम्रो विद्यार्थी भएर नै होला स्कूलका हरेक कार्यक्रम र प्रतियोगितामा हामी दुईलाई सधैँ सँगै नै पठाउँथ्यो। हामी मिल्नु त कता हो कता झगडा गर्दैमा फूर्सद हुँदैनथ्यो।
म उसको अगाडि झुकेर किन आफूलाई सानो बनाउने भन्ने सोच्थेँ र उ पनि मसँग पहिला राम्ररी बोल्दा जात नै जान्छ कि जस्तो गर्थ्यो।
सानोमा स्कूलको कार्यक्रमहरुको धेरै गीतहरुमा हामी राजेश हमाल र करिश्मा मानन्धर भएर नाँच्यौ। तर, स्टेजमा जानुभन्दा अगाडि पनि हामी झगडा गर्दै रूर्दै नाँच्न जान्थ्यौँ र नाँचेर बाहिर निस्कदाँ पनि भुतालभुताल गरेर रुन्थ्यौ। हामीलाई छुटाउन शिक्षकहरू अरु काम छोडेर भएपनि आउनुपर्थ्यो।
हामी एकअर्कासँग बोल्दैनौ, नाँच्दैनौ भन्दा पनि शिक्षकहरु र हाम्रा आमा बुबाहरू नानी बाबुको जोडी कस्तो राम्रो देखेको छ। कस्तो राम्रो सुहाएको नाँचेको भन्दै हामीलाई फकाउन आउनुहुन्थ्यो।
***
यस्तै यस्तै कुराहरू, पहिलाको कुरा सम्झँदै, गफिँदै, झगडा गर्दै हामी भाइबरमा झन् झन् कुरा गर्न थाल्यौ। कुरा गर्दै गयो अन्तमा फेरि झगडा भयो नम्बर ब्लक् गर्छु भनेर एकअर्कालाई धम्की दियो तर फेरिअर्को दिन म्यासेजको चाहिँ हामी दुवै पर्खिन थाल्यौ। म्यासेज चाहिँ उसैले पठाउन्थ्यो र अस्ति भन्दै थियो धेरै केटीहरुले पछ्याएको भएर एकाउन्ट बदलेको रे। उफ् स्टारनाथको कुरा!
कक्षा नौ मा थियौ हामी। त्यतीखेर हामीले एउटा फर्म भर्नुपर्ने हुन्थ्यो। मलाई आज पनि याद छ त्यो फर्ममा जे जे कुरा लेख्यौ त्यो नै सधैको लागि हाम्रो बारेमा रेकर्ड हुन्थ्यो। त्यही फर्म अनुसारले नै हामीले एसएलसी दिन पाउँथ्यौ र त्यही रेकर्ड अनुसारको नागरिकता पनि पछि बन्थ्यो। त्यतीखेर हामीहरू साथीहरूमा नाम परिवर्तन गर्ने होडबाजी चल्यो। आमा बुबाले राखेको नाम मन परेन भने आमा बुबालाई नभनी नाम परिवर्तन गर्न लाग्यौ हामी।
त्यतिखेर कति म भन्दा जेठासाथीहरु पनि उमेर घटाएर मभन्दा कान्छा भए। मलाई पनि मेरो सूर्यमुखी नाम मन परिरहेको थिएन त्यसैले आफूलाई मन पर्ने हिरोइन करिष्मा त्यसैले आफ्नो नाम पनि करिष्मा लेखेँ तर लाजले यो कुरा चाँहि कसैलाई भनिनँ।
तारानाथले पनि नाम माइकल राखेछ। मैले थाहा पाइहाले अनि त उसको आमा ब्रेकमा खाजा खुवाउन आएको मौका पारेर त्यही दिन मैले काकी ताराले त आफ्नो नाम परिवर्तन गरेको छ भनिदिए। अब त उसको नाम माइकल। काकी माइकल त अङ्ग्रेजी कुकुरको नाम हुन्छ भनेर आगोमा घ्यू हाल्ने काम गरे। काकी त ताराको कान समात्दै तँलाई हजुरबुबाले मर्ने बेलामा यती राम्रो नाम राखिदिएको तँलाई अहिले माइकल हुनुपर्यो भन्दै स्कूलको अफिसमा गएर पहिलाको फर्म च्यात्न लागेर अर्कै फर्म भर्न लगाउनु भएछ।
ताराको कुरा लगाउँदा मलाई त्यतिखेर खुब आनन्द आएको थियो। तर, अहिले सम्झँदा हाँसो लाग्छ। हुन त मेरो पनि नाम परिवर्तन भएको थियो। घरबाट नै नाम परिवर्तन गर्नु भन्नु भएको छ भनेर ढाँटेर भरेको थिए फर्म। अब घरमा कसरी भन्ने भनेर मलाई तनाव हुन थालेको थियो। तर, भन्न चाँहि कसैलाई भनिनँ।
कक्षा नौको फाइनल रिजल्ट लिन जाँदा बुबाले सूर्यमुखीको प्रमाणपत्र खोज्दा नभेटेपछि मेरो रोल नम्बर भएको करिष्मा नाम गरेको रिजल्ट भेट्नुभएछ। त्यसपछि त कति गाली खाइयो कति। हामीले यी कुराहरु सम्झेर पनि हाँस्दै, झगडा गर्दै थियौं।
कहिले ताराले मेरो स्कूलको ब्यागमा इट्टा राखिदिने कहिले म ऊ बस्ने बेन्चमा कम्पास ठाडो बनाएर राखिदिने । कहिले म उसको होमवर्क कपि लुकाइदिने, कहिले ऊ मेरो कपाल पछाडि बेन्चबाट काटिदिने। हातभरी निलो मसीनै मसी हुन्थ्यो अनि नाकभरी सिँगान पनि छिः कति फोहोरी थियो तारा।
निट एण्ड क्लिन ड्रेसमा ऊ कहिल्यै नोमिनेशनमा पनि परेन। अहिले यो कुरा गर्दा मैले त यो कुरा चाहिँ बिर्सिएछु भन्छ कति बाठो।
हामी कक्षा दशमा पुगिसकेका थियौ। हाम्रो गणित पढाउने शिक्षक एकदमै कडा। हामी केटीहरु पढ्न लाग्दा तारा र उसका साथीहरु सधैँ हल्ला गरेर बस्ने। तारा घरमा चाँहि रातभरी पढ्ने अनि ब्रेकमा हामी पढ्न बस्यो भने हल्ला गरेर पढ्न नदिने। एकदिन त गणित शिक्षकलाई भनिदिएको विचरालाई भदौको गर्मीमा फुटबल चउँरमा दुई हातमा इँट्टा बोकेर राखिदिनुभयो। त्यही रिसले ताराले भोलिपल्ट मेरो सेतो सर्टभरी निलोमसी छर्किदियो, अनि कैचिले मेरो दुई चुल्ठो बाँटेको कपाल एकतर्फ चिरिप्पै पनि पारिदियो।
म रूँदै कराउँर्दै प्रिन्सिपलको अफिस गए अनि घरमा गएर पनि भनिदिए। हाम्रो दुई परिवारबीच यही हाम्रै कारणले भीषण युद्व पनि भयो र पछि हामी ठूलो भएसँगै परिवारहरुको सम्बन्ध पनि सामान्य भयो।
सबैले हामीलाई कुकुर बिरालो भन्थेँ। तर, हाम्रो चरम झगडा र कम्पिटिसन स्कूलमा मात्रै सिमित भयो। अचम्म लाग्छ ती दिनहरु सम्झदाँ। आज हामी आ आफ्नो दुनियाँमा मस्त छौँ। आ आफ्नो फिल्डमा राम्रो गर्दैछौ। म डाक्टर बन्छु भनेको रे ताराले पनि तिमी भन्दा पनि राम्रो डाक्टर म बन्छु भन्दै डाक्टर बन्ने लक्ष्य लिएको थियो त्यतिखेर।
तरपछि उसलाई महसुस भयो आफ्नो क्षमता र चाहनाले आफ्नो लक्ष्य निर्धारित गर्ने हो भनेर। डाक्टरमा भन्दा पनि एकाउन्टिङमा उनको भविष्य छ जस्तो लाग्यो र अहिले अमेरिकामा मास्टस् इन एकाउन्टिङ सकेर बसेको छ।
उसले राम्रो जागिरपनि पाउँछु होला भन्दैथियो। फोनमा कुरा गर्दै गर्दा हाम्रो छिनछिनमा झगडा त हुन्छ तर अहिले केही रिस, इर्षा भने चाहिँ केही पनि छैन। म ताराको अगाडियो कुरा त भन्दिनँ तर मलाई मैले किन त्यसरी झगडा र इगो लिएँ हुँला। भित्रको कोमलतालाई किन बाहिर आउन दिइनँ होला। कतै उसँग मिल्यो भने अरूले गिज्जाउँछ कि भन्ने किन डर लाग्यो होला जस्तो महसुस हुन्छ।
तारासँग जति नै झगडा गरेपनि आखिर मलाई सधैँ उसको राम्रो होस् भन्ने चाहिँ थियो र अहिले पनि छ जुन कुरा कहिल्यै मैले देखाउन चाहिन। सायद यही नै हो कि तारा र सूर्यमुखीको कोकोनट लभ।