चन्दु हिउँदे बिदा सुरु भएपछि पहिलोपटक 'देश' जाने भनेर सपरिवार बाटो लाग्यो। तर मलाई चन्दुको 'देश' कहाँ हो र कुन हो भन्ने कुरा थाहा थिएन। खोला तरेर रेल चडेपछी उसको 'देश' पुगिन्छ भनेर चन्दुले सुनाएको आधारमा पक्कै पनि चन्दुको देश कतै टाढा होला भनेर म अनुमान लगाउथे।
त्यो भन्दा दुई वर्ष अगाडिको हिउँदमा पहिलो पटक चन्दुलाई मैले देखेको थिएँ। उ, उसकी आमा र उसकी बैनी अलग्गै बाटैमा जाडोले लगलग काप्दै उभिई रहेका थिए। तराईतिर जाडोमा घुर ताप्ने चलन हुन्छ। हामी पनि गोठमा पराल बालेर घुर ताप्दै थियौं। तर आफ्नो जाडो मेटाउन उ घुरसम्म आउने हिम्मत गरिरहेको थिएन। मसँग पनि निम्ता गर्न पुग्ने विवेक थिएन। त्यसैले आँखा जुधाजुध भएपनि उ बाटोमै लगलग काम्दै उभिरह्यो। म उसलाई अनौठो मानेर हेर्दै घुर तापी रहे।
'देशमा दंगा भैगेल्वा हुजुर।' भन्दै चन्दुका बा हाम्रो आगनको कुनामा हाम्रा बासँग रोइरहेका थिए। चन्दुका बा र मेरा बाको साइनो भकारीले गाँसेको हो भनेर पछि बाले सुनाउनु भएको थियो। हिउँदमा खलाभरि धान भएपछि किसानलाई साइज साइजका भकारीको आवश्यकता पर्छ। चन्दुका बा भकारी बुन्न सिपालु रहेछ्न । प्रत्येक हिउँदमा देशबाट भकारी बुनेर बेच्न खोला तरेर यता आउँदा उनको र मेरा बाको चिनजान भएको रहेछ । तर त्यो हिउँदमा उनी उनको देशमा ठुलो दंगा भएपछि सपरिवार शरणार्थी भएर आफ्नो देश छोडेर आएका रहेछन्।
'सुबाह सुबह मस्जिदके पासमा जाके भाषण करिहाले, बोलेकी यहाँ पहिला श्रीरामजीका मन्दिर था। उके वाद धडाधड मान्छेहरुले मस्जिद तोडीहाले। और दंगा सुरु भैइगवा। गाउँका गाउँ तबह भैइल। यहाँ वहां आगबबुला इन्सान हात हातमा त्रिशुल और तरवार लेके दंगा कर्न लागेछ। जाने र छिप्ने जगा कतै नहि छि। बम्बैमे उनके एकठो भाइ त रहल लेकिन बोलेकी मराठी बिहारी और युपीवालोकी टिक्ने नहि देङे। और फिर झटक्से चन्दुका बापुने बोलेकी नेपाल चलेङे हमार दोस्त है उधर। अनि रातमे छुप्के छिप्के यता आईहाले छौ। बालबच्चेकि जान बचानेके खातिर इधर आईगेल 'पछि पछि चन्दुकी माईले अलि अलि नेपाली बुझ्न र बोल्न जानेपछी हाम्री आमासँग आफ' नेपाल आउनको कारण यसरी बताउने कोसिस गरेकी थिइन। तर त्यो कुन विषय र प्रसंगमा के भनेको मैले केही बुझ्न सकेको थिइन्। खै आमाले बुझ्नुभयो कि यसै टाउको हल्लाउनु भयो त्यो पनि यसै भनेर अहिलेसम्म म भन्न सक्दिनँ। किनकि जात, धर्म र क्षेत्रका आधारमा मान्छेले मान्छेलाई जिउँदै जलाउँछ र काट्न सक्छ भन्ने कुरा मेरी आमाको परिकल्पना पनि थिएन होला।
चन्दु र चन्दुको परिवारको रामकहानी जेजे भएपनि त्यो हिउँदभरि चन्दुको परिवार हाम्रो गोठको एउटा कुना बारेर बसे। चन्दुका बा कनिकुथी अफ्ठ्यरो गरी नेपाली बोल्थे। तर सुरुका दिनहरूमा चन्दु र चन्दुकी माईले बोलेको म बुझ्दिनथें। तर चन्दु र मेरो मित्रता हुन भाषा, भेष र राष्ट्रियताले रोक्न सकेन। हामी 'दोस्त'भएरै छोड्यौ। चन्दुले के बोल्थ्यो म बुझ्दिनथें। म के बोल्थें चन्दु बुझ्दैन थियो। तर सूर्य उदाएदेखि अस्ताएसम्म चन्दु र मेरो जोडी छुट्दैन्थ्यो। कयौं पटक चन्दुकै भान्सामा उसिना चामलको भात मछिसँग खाएर चन्दुकै ओछ्यानमा मलाई निदाएको भेट्टाएर आमा हैरान हुनुहुन्थ्यो। चन्दु पनि आफू स्कुल जान नपाए पनि मलाई स्कुलको गेटसम्म छोड्न आउथ्यो भने स्कुल छुट्दा उ गेटमै पर्खिरहेको हुन्थ्यो। अनि हामीसँगै घर आउथ्यौं। चन्दुलाई कसैले 'धोती' भनेर जिस्क्याए म जोसुकैसँग पनि झगडा गर्थें। यसरी बडो अनौठो परिवेशमा चन्दु र म एकाअर्काका सबैभन्दा मिल्ने साथी भएका थियौं।
जाडो सकिएर फागुन लागेपछि सोमबारे बजारको पिपलको बोटमुनी चन्दुका माई बापुले प्याजी र जेलबी पकाएर बेच्ने धन्दा सुरु गरे। त्यसपछि तिनीहरूको जिन्दगी धेरै सरल र ब्यबस्थित हुँदै गयो। हाम्रो गोठबाट बजारमा कोठा भाँडामा लिएर बस्न थाले। तर राज्यले चन्दुलाई चिनेको थिएन। त्यसैले चन्दुले कहिले पनि पढ्ने अवसर पाएन। उ साप्ताहिक लाग्ने हाटरुमा माईसँगै दोकान लगाउन जान्थ्यो। समयले घाउमा खाटा परेपछि दुई वर्षपछि चन्दुको परिवार एकपटक देश पुगेर आउने निर्णयमा पुगेको थियो।
यसरी चन्दुको परिवार देश हिडेपछि पिपलको ठुलो रुखमुनिबाट प्याजी पकाएको सुगन्ध आउन केही लागि समय बन्द भयो। प्याजी, सिंगाडा र जेलबी कागजमा पोको पारेर म स्कुलबाट फर्कदा आगनमा पर्खिरहने मेरो चन्दुको उपस्थिति पनि केही समय लागि बन्द भयो। ए गे सन्तोषवा! हमार बेटीके साथ सादी बनाके तोहार जमाई बनाएङे रे! भन्दै जिस्क्याउने जुँघामुठे तेली काकाले खैनी माड्दै र पान चपाउदै अफ्ट्यारो गरि नेपाली बेलेको पनि चौकमा सुनिन छोड्यो। चन्दुकी माईले हातमा राख्दिने तात्तातो प्याजीले हत्केला र जिब्रो पोल्न पनि अब केही दिनदेखि बन्द नै थियो। त्यो सिंगो हिउँद चन्दु आउने दिनहरू गन्दागन्दै बल्ल बल्ल बितेको थियो। अनि अलि दुब्लो र अलि कालो भएर चन्दु आइपुगेको थियो।
समय बित्यो र वर्तमान इतिहास भयो। यो बिचमा मेची नदीबाट पनि धेरै पानी बगेर गइसक्यो। त्यसरी नै चन्दुसँग भेट नभएको पनि वर्षौं भयो। तर यो हिउँदमा पनि त मेची नदी घटेर तर्न सक्ने भयो होला। अनि चन्दुलाई पनि 'देश'जान मन लाग्यो होला। तर खै यसपालि चन्दुले देश जान पायो कि पाएन होला? नाकाहरू बन्द छ्न र चन्दुहरू आंतकित र असुरक्षित। मानवताको छातीमाथि जबजब इतिहासमा राजनीतिको ताण्डव सुरू हुन्छ तब सबैभन्दा ठूलो संकट चन्दुहरूलाई नै आईपर्ने गर्छ।
बाबरी मस्जिद भत्काइदाको राजनीतिक र साम्प्रदायिक कम्पनले चन्दुको राष्ट्रियता भग्नावशेष भएको थियो। उसको ज्यान जोगाउन लुकाउदै छिपाउदै उसको बापुले उसलाई नेपाल तारेका थिए। दैनिकजसो आसाम, कस्मिर, भुटान, बर्मा, सिरिया, इराक र संसारैभरि चन्दुहरूबाट आफ्नै जमिनले राष्ट्रियता खोसेर लखेट्छ। त्यसैले रैथानेलाई जस्तो चन्दुहरूलाई राष्ट्रियताको गर्वले छाती फुलाउने सुबिधा हुँदैन। किनकि चन्दुहरूको आफ्नो कुनै देश यो पृथ्वीमा बाँकी छैन। जहाँ जान्छन् र जहाँ बस्छ्न र जहाँ आइपुग्छ्न त्यही चन्दुको देश हुन जान्छ।
उन्मादी बखतमा मानिसहरूको आँखामा चन्दुको राष्ट्रियतालाई लिएर प्रश्नहरु बल्झिरहन्छ्न। अहिले त्यही मौसम आएको छ। राष्ट्रियताको मौसम! बजारमा, गल्लीमा, बाटोमा कहाँसम्म भने बसको सिटमा संगै बसेको सहयात्रीले पनि चन्दुलाई प्रश्न गर्छ। तर चन्दुसँग कुनै जवाफ छैन। हिजो हरिभक्त कटुवालसँग पनि थिएन र आज चन्दु तेलीसँग पनि छैन। हिजो भुटानबाट लखेटिएको रामबहादुर लिम्बुसँग पनि थिएन र आज कश्मिरबाट लखेटिएको जाकिर हुसेनसँग पनि छैन।
वास्तवमा यी सबै चन्दुहरूलाई राष्ट्रियता एउटा सामर्थ्य बाहिरको विलासिता मात्रै हो। तर प्रश्नकर्ताका चर्मचक्षुले उनीहरुको यो गहिरो सत्य देख्न सक्दैनन्। चन्दुहरू बारम्बार मौनतापूर्वक पुकारा गर्छन। पहिला मलाई मेरो देश त देखाई देउ अनि सोध्नु राष्ट्रियता। जसको शिर छैन उसँग टोपीको रंग किन सोध्छौ? तर उन्मादी समयका शंकालु आंखाहरू प्रश्न गरी हाल्छ्न्- चन्दु तेरो राष्ट्रियता के हो?