खानी तथा भूगर्भ विभाग र जापान अन्तर्राष्ट्रिय सहयोग निकाय (जाइका) बीच ठूला भूकम्प र भूकम्पको प्रभाव न्यूनीकरणका लागि एकीकृत अध्ययन अनुसन्धानसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।
उद्योगमन्त्री सोमप्रसाद पाण्डेयको उपस्थितिमा भूगर्भ विभागका निमित्त महानिर्देशक राजेन्द्रप्रसाद खनाल र जाइका नेपाल कार्यालयका मुख्य प्रतिनिधि जुन सकुमाले सोमबार समझादारीपत्रमा हस्ताक्षर गरेका हुन्।
यही चैत १९गतेदेखि आगामी पाँच वर्षसम्म जापान सरकारको विज्ञान तथा प्रविधिसम्बन्धी विकासको सहयोगमा कार्यक्रम सञ्चालन हुने गरी सम्झौता भएको उद्योग मन्त्रालयका सहसचिव दिनेशकुमार घिमिरेले जानकारी दिए।
समझदारीपत्रमा भूकम्प उत्पन्न गर्न सक्ने स्रोतको पहिचान र मूल्याङ्कन, भूकम्प जाँदा जमिनको तीव्रताको प्रक्षेपणसम्बन्धी र भूकम्पीय प्रकोप मूल्याङ्कन गर्ने उल्लेख गरिएको छ। त्यस्तै, विद्यमान भूकम्प मापन प्रणालीको अध्यावधिक गर्नुका साथै भूकम्प मापन सञ्जाललाई थप विस्तार गर्ने र उक्त अध्ययन अनुसन्धानबाट प्राप्त नतिजालाई शैक्षिक संस्था र विश्वविद्यालयको पाठ्यक्रममा समावेश गर्ने विषय समझदारीपत्रमा उल्लेख छ।
सोही अवसरमा मन्त्री पाण्डेयले नेपाल भूकम्प धेरै जाने सम्भावित देश भएकाले पूर्वदेखि पश्चिमसम्म कहाँ कहाँको अवस्था कस्तो कस्तो छ त्यसको अध्ययनका लागि जाइकासँग सम्झौता भएको बताए। रासस