तिमीसँग टाढा भएको पाँच बर्ष भएछ
अर्को बर्ष पक्का आउँछु भन्दा
तिम्रो अनुहारको हाँसो होलीजस्तै रंगीन थियो
तर तिम्रो त्यो अनुहारको रंग हेर्न
हामीसँग स्मार्ट फोन थिएन
के गर्छ्यौ तिमीले स्मार्ट मान्छेको हात समाइनौ
मैले प्रतीक्षा गरेको सपनाको कार्ड तिम्रै लागि हो भन्दा
मलाई ढाँटेझैँ लाग्छ आजकल
तिमीलाई लाग्दो हो
हिँड्दैहिँड्दै टुंगिएर
बाटोले यात्रुलाई झुक्याए झैँ
मैले पनि झुक्याएँ कि तिमीलाई
तिमीलाई त थाहा भइसक्यो होला
मात्र सिन्दूरको रंगले जिन्दगी रंगीन हुँदो रहेन छ
अब आउँदा बितेका सबै बर्षहरूमा
पोत्न तपाइएका रंगहरू
पोतौँला भनूँ पनि कसरी?
हाम्रा रंगहरूले हामीलाई पर्खन सकेनछन्
पोखिएछ है हाम्रो बैंसको रंग त
पोखिएको रंग त कसरी पोत्नु र है?
तिमीसँग भिज्न नपाएको बर्षौं भएछ
तिमीसँग रंगीन नपाएको बर्षौं भएछ
अर्को बर्षसम्मका लागि तिमीलाई बिन्ती बिसाएँ
बैंस कतै नबिसाउनू
भेटिएपछि थिग्रिएका रंगहरूलाई मिलेर घोलौँला