एमाले नेता माधव कुमार नेपालले कसैले चाहँदैमा इतिहासको पाङ्ग्रा पछाडि नजाने बताएका छन्। प्रेस चौतारी नेपाल दाङले मंगलबार तुलसीपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले इतिहासको पाङ्ग्रा पछाडि जान सम्भव नरहेको बताएका हुन्।
उनले भने, 'कसैले त्यो चाहेको होला त्यसको लागि प्रयास पनि होला तर अब कसैले पनि प्रतिगमन होला भनि नचिताए हुन्छ।'
उनले थपे, 'बढो समस्यावाट देशलाई जोगायौं, समयमै संविधान जारी गर्न नदिने दबाब झेल्न सफल भयौं। अब यो उपलब्धि कसैले खोस्न सक्ने छैन।'
पूर्वप्रधानमन्त्री समेत रहेका नेपालले कुनै लोभ लालच नराखी दलहरुले ऐतिहासिक जिम्मेवारी पुरा गरेको बताए। दलहरुको एकताबाटै मुलुकले पहिलो संक्रमण पार गरेको चर्चा गरेका उनले अब नेपाल अन्तिम संक्रमणकालमा प्रवेश गरेको बताए। अन्तिम संक्रमणकालको सामना गर्न सबै प्रमुख दलबीच सहकार्य हुनुपर्ने उनको धारणा थियो।
उनले काँग्रेसलाई पनि सरकारमा आउन आग्रह गरे। काँग्रेस सरकारमा आउँछ भने परेमा लिखित रुपमै आह्वान गर्न एमाले तयार रहेको नेपालले बताए। उनले भने, 'लिखित रुपमै काँग्रेसलाई गरिने आह्वान उधारो हैन त्यो नगद हुने छ।' नेता नेपालले भने, 'शेरबहादुरजी कुनै कच्चा खेलाडी हैन, उहाँ निकै परिपक्व र चतुर खेलाडी हुनुहुन्छ, उहाँले सत्ताको फोहरी खेल खेल्नु हुने छैन।'
त्यसैले उनले पत्रकारहरुलाई सरकारको दिनगन्ती सुरु भयो भन्ने खबर कतै नलेख्न आग्रह गरेका थिए। उनले आफूले सरकारको दिनगन्ती सुरु भन्ने कुरा कतै नसुनेको बताए।
उनले भने, 'प्रचण्डजीले निर्णय गरिसक्नु भएको छ अब यो सरकार दुई वर्ष चल्छ।' स्थानीय निकायको निर्वाचनदेखि संघीय संरचनाको निर्माण गरी अर्को संसदीय निर्वाचन यही सरकारले बनाउने उनको विश्वास थियो।
चीनसँग भएको पारवहन सम्झौताले व्यापार सम्झौताका साथै इन्धन सम्झौताको बाटो खुलेको बताए।