सर्वोच्च अदालतका प्रधानन्यायाधीश कल्याण श्रेष्ठले कर्मचारीहरुले अदालतका कामकारबाही ठप्प पारेर आफूलाई लज्जित तुल्याएको बताएका छन्।
प्रधानन्यायाधीश श्रेष्ठले कर्मचारीहरुले अदालतको संवेदनशीलतालाई बेवास्ता गरेर काम ठप्प पारेको घटनालाई आफूले लज्जाकोरुपमा लिएको बताए।
अदालतमा कार्यरत कर्मचारीहरुले चैत ७ गते आइतबार ५० प्रतिशत प्रोत्साहन भत्ताको माग गर्दै सर्वोच्चसहित देशभरका अदालतको काम केही घण्टा ठप्प पारेका थिए। प्रधानन्यायाधीश श्रेष्ठले बुधबार पुनरावेदन अदालत पाटनको नयाँ भवनको शिलान्यासका क्रममा आफूले माग सम्बोधनका लागि प्रयास गर्दागर्दै पनि कर्मचारीले बेवास्ता गरेर काम ठप्प पारी अदालतको संवेदनशीलतामाथि प्रहार गरेको बताए। उनले अदालतका कर्मचारी बन्द गर्ने जातका नभइ अन्त भएका बन्द समेत खुलाउने जातका भएको भन्दै अदालत बन्द गर्नुको औचित्य पुष्टि गरेर देखाउन कर्मचारीहरुलाई चुनौति दिए।
कार्यक्रममा कानूनमन्त्री अग्नीप्रसाद खरेलले पनि कर्मचारीहरुले अदालतको कामकाज ठप्प पारेर ठूलो गल्ती गरेको बताए। उनले माग सम्बोधनका लागि प्रधानन्यायाधीशले अर्थमन्त्रीलाई बोलाएर छलफल गरिरहेका बेला धैर्यता गुमाएर काम ठप्प पार्नु आपत्तिजनक भएको भन्दै भविष्यमा यस्ता गल्ती नदोहोर्याउन कर्मचारीहरुलाई चेतावनी दिए।
काम नै ठप्प पारेपछि सरकारले अदालतका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता दिने निर्णय गरिसकेको छ।