बहुविवाहको मुद्दामा सजाय पाएर काखे छोरीसहित जेल जीवन बिताइरहेकी तनहुँकी शान्ति आचार्यकी ठूली छोरीलाई लमजुङ कारागारले घर पठाइदिएको छ।
जेलमा दुई छोरीसहित बसेकी शान्तिसँग अब एक छोरी मात्र छिन्। ठूली छोरीलाई शान्तिकी आमाले घर लगेको जेलर काजीमान सुनारले सेतोपाटीलाई जानकारी दिए। ‘दुई साताअघि शान्तिकी आमा आउनुभएको थियो, लिएर जानुभयो,’ उनले भने।
शान्तिले नै साढे दुई वर्षे ठूली छोरी प्रश्नालाई आफ्नी आमासँग पठाउन कारागारमा निवेदन दिएकी थिइन्। कारागारले उनकी आमालाई ‘बच्चा कसरी राख्नुहुन्छ’ भनेर सोधेको थियो। ‘दलित’सँग विवाह गरेर आएकी शान्तिका छोराछोरीलाई माइतीमा अप्ठेरो पर्छ कि भन्ने शंका लागेर त्यस्तो सोधेको सुनारले बताए।
‘आमा र बच्ची यहाँ जेलमा भएकाले उसलाई बाहिर पठाउँदा हाम्रो चासो हुन्छ, बच्चाको सुरक्षा र संरक्षणको जिम्मेवारी हाम्रो पनि त हो, त्यसैले उहाँकी आमालाई हामीले सोधेका थियौं,’ उनले भने। ‘म आफन्तसँग लडेर भए पनि आफ्नी नातिनीलाई राख्छु, यसलाई स्कुल पठाउने बेला पनि भयो,’ शान्तिकी आमाले जेलबाट बच्ची लानुअघि यस्तो प्रतिबद्धता गरेपछि बच्चा पठाएको उनले बताए।
शान्तिले बहुविवाह मुद्दामा दुई वर्षअघि तनहुँ जिल्ला अदालतले सुनाएको जेल सजाय भोग्नुपरेपछि चार महिनादेखि दुई छोरीहरू उनीसँगै थिए।
२०६८ सालमा तनहुँकै प्रमोद सुनारसँग शान्तिले विवाह गरेकी थिइन्। महिना दिनपछि उनीहरूविरुद्ध प्रमोदकी पहिली श्रीमतीले बहुविवाह मुद्दा दिएकी थिइन्। अदालतमा मुद्दा चलिरहेकै बेला पहिली श्रीमतीले पनि अर्को विवाह गरेकी थिइन्।
त्यसको चार वर्षपछि गएको कात्तिकमा प्रहरीले पक्राउ गरेपछि मात्र यो मुद्दाबारे आफहरूलाई याद भएको शान्तिले बताएकी छन्। ‘उजुरी दिएपछि उनले अन्तै बिहे गरेकाले मुद्दामा पनि अब केही हुन्न भन्ने लागेको थियो, अदालतले हामीलाई आफ्नो कुरा राख्ने मौकै दिएन,’ उनले सेतोपाटीसँग भनेकी थिइन्, ‘मौका पाएको भए आफूलाई सजाय हुन नपर्ने प्रमाण दिने थियौं। हामीमाथि अन्याय भएको छ।’
अनाहक खेप्नुपरेको सजायका कारण आफू र छोरीहरूले समेत जेल बस्नुपरेको उनले बताएकी छन्।
अदालतले २०७० सालमा शान्ति र प्रमोदलाई एक वर्ष कैद र पाँच–पाँच हजार जरिवाना फैसला गरेको थियो। फैसला कार्यान्वयन क्रममा उनीहरूलाई पक्राउ गरेको हो। तनहुँ कारागारमा ठाउँ नपुगेपछि शान्तिलाई बेसीसहरको कारागार पठाइएको थियो। कारागारले उनको कैद सजाय पनि ६ महिना मिनाहा गर्नेबारे तयारी गरिरहेको छ।
‘बिहे भएको यत्रो वर्षपछि सजाय भोग्नु परेछ, दुई छोरीसहित आएकी छन्, हामीले सजाय कसैगरी कम गर्न सकिन्छ कि भनेर सोचिरहेका छौं,’ जेलर सुनारले भने, ‘जेलमा राम्रो व्यवहार गर्नेलाई आधा कैद मिनाहा गर्ने सिफारिस जेलरले गर्न सक्ने अधिकार छ।’
शान्तिका पति भने तनहुँ कारागारमै छन्।